Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुटु बचाउने अभियानमा पुडासैनीको आर्थिक सहयोगको प्रयास !

मुटु बचाउने अभियानमा पुडासैनीको आर्थिक सहयोगको प्रयास !


समृद्धि कसरी ?

 मुटु जीवित प्राणीको मुख्य अंग, शरीरका अन्य अंगले आराम खोज्दा निरन्तर सञ्चालन नै यसको विशेषता । त्यही भएर हुनुपर्छ यो अन्य अंगभन्दा फरक । भनिन्छ, जीवित प्राणी निरन्तरताका लागि एक मिलिसेकेन्ड समय पनि मुटुको गतिमा अवरोध आउँदा शरीरमा कुनै न कुनै झड्का आउँछ । कतै न कतै प्रहार गर्छ, सानो वा ठूलो क्षति गराउँछ, त्यही भएर जोसुकै मानवले आफ्नो मुटु बचाउन हरसम्भव प्रयास गरिरहेको हुन्छ ।

कसैले मुटुमा आउन लागेको खराबी थाहा पाउँछन् त कसैले कुनै पत्तो पाउँदैनन् । पत्तो पाउनेहरू पनि कोही जीवनलाई निरन्तरता दिन सफल हुन्छन् त कोही समयको कारण असफल हुन्छन् । डाक्टरबाहेकबाट पनि मुटु बचाउनका लागि यो गर्ने वा त्यो नगर्ने, यो खाने वा त्यो नखाने जस्ता अर्ती उपदेश सुन्न पाइन्छ । तर, मुटुमा समस्या आउँदा एकाध व्यक्तिबाहेक अधिकांशले के गर्ने वा के नगर्ने भन्ने बिर्सन्छन् र बिसर्नेहरूले यो धर्ती नै सदाका लागि बिर्सिन्छन् । तर, एकाध व्यक्तिले भने होसमा काम गर्दा आफूलाई मात्र होइन, परिवारलाई नै पुनर्जीवन दिन्छन् र केहीले त समाजका लागि नयाँ आधार खडा नै गरिदिन्छन् ।

होसमा काम गर्दा एक मुटु रोगी, आश्विनकुमार पुडासैनीले आफू र परिवारलाई नै पुनर्जीवन मात्र दिएनन्, मुटु बचाउने अभियानमा रकम संकलनको जग खडा गर्ने घोषणा गरेर समाजलाई नै पुनर्जीवन दिने प्रयासको थालनी गरेका छन् । समाजमा धनी वर्गमा आफूलाई राख्नेहरू कोहीलाई मुटुमा समान्य समस्या आयो भने पनि ‘आफू त मुटुरोगी कसलाई सहयोग गर्नु, आफैं सहयोगको अपेक्षामा’ भनेको सुनिरहेको बेला एक ग्रामीण मध्यमवर्गीय किसान परिवारको सन्तानले आफ्नो परिवारको उज्वल भविष्यका लागि प्रयास गर्दै अरूलाई सहयोग गर्न आफ्नो बौद्धिक उत्पादन खर्च गर्ने आँट गर्नु सामान्य कुरा हुँदै होइन ।

यद्यपि पुडासैनीले पनि मुटुमा गम्भीर समस्या आएपछि आफूलाई सम्हाल्न सकेनन् । उनी एक किसिमले बेहोसीमै पुगेको उनले आफैंले लेखेको शब्दबाट पुष्टि हुन्छ । अघिल्लो वर्ष अर्थात् २०७९ साल साउन २६ गते नेपाल बैंकको प्रादेशिक कार्यालय सुर्खेतमा रहेको बेला हृदयाघात भएको थाहा पाएपछि उनले आफूले मृत्युवरण नै गरेको, परिवार नै टुहुरा भएको मात्र होइन आफ्नो किरिया भइरहेको देखे । त्यो अवस्थामा आफूलाई पु¥याउनु थप रक्तचाप बढाउनु नै थियो । तर उनले होस् गुमाएरै त्यो सोचेका हुन् । तर उनको होस गुम्नेभन्दा होस बचाउने प्रतिशत बढी भएको कारण उनले जीवनलाई संघर्षको मैदानमा थप समयका लागि उभ्याएका हुन् ।

आफू बाँचेपछि उनले आफ्ना लागि मात्र सोचेनन्, समाज बचाउने प्रयासमा आफूलाई लगत्तै लगाइहाले । त्यही भएर उनले आफूलाई हृदयाघात भएको एक वर्षकै दिन पारेर २०८० साल साउन २६ गते ‘समृद्धिको हुटहुटी’ भन्ने पुस्तक सार्वजनिक गरे । जसले उनको मुटुलाई बचाइदिए, उसैको हातबाट उनले पुस्तक सार्वजनिक गराए । पुस्तकमा सुशासन र समृद्धिका लागि के गर्ने भन्नेमा केन्द्रित गरे ।

‘सुशासन र समृद्धिका १०१ पाइला’
उनले पुस्तक मात्र लेखेनन्, त्यो पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम मुटु बचाउने अभियानमा समर्पित गर्ने लिखित प्रतिबद्धता सार्वजनिक गरेका छन्, पुस्तकमार्फत नै । त्यो रकम कसरी जम्मा गरेर कसलाई दिने त्यो त उनको भावी कार्यक्रमले देखाउने नै छ । तर, ‘समृद्धिको हुटहुटी’ भन्ने पुस्तक लेखेर उनले त्यसको बिक्रीबाट आउने रकम आफ्नो व्यक्तिगत आवश्यकता पूर्तिका लागि खर्च नगर्ने प्रतिबद्धता सार्वजनिक गरे । उनको यो घोषणा पुस्तक लेख्नेहरूलाई आफ्नो आय समाजसेवामा लगाउनुपर्छ है भन्ने दबाबमूलक सन्देश हो । कसैका लागि आफ्नो बौद्धिक सिर्जनाको शतप्रतिशत रकम खर्च गर्छु भन्नु सामान्य विषयचाहिँ होइन ।

कुनै बेलाका सक्रिय पत्रकार पुडासैनी अहिले नेपाल बैंकमा कार्यरत छन् । पत्रकारितामा थिए भने मैनबत्तिजस्तै आफू जलेर अरूलाई उज्यालो दिइरहेका हुने थिए होला । तर बैंकमा काम गरेर पनि बचेको समयको सदुपयोग गर्दै आफ्नो बौद्धिक सम्पत्ति आफैं मुटुरोगी बनेर अरू यस्तै मुटुरोगीका लागि संकलन गर्नु अर्को उज्यालो प्रदान गर्नु हो ।

प्रत्येक मुटुरोगीलाई जस्तै पुडासैनीलाई पनि डाक्टरहरूले समयमै औषधि सेवन गर्नु, धेरै कुरा सोच्ने होइन, चिन्ता लिने होइन, आराम गर्नुहोस्, मोबाइल नचलाउनुहोस्, टिभी नहेर्नुहोस्, कार्यालय गएर काम नगर्नुहोस् त्यसले प्रेसर बढाउँछजस्ता सुझाव दिएका थिए, त्यो पनि परिवारलाई साथमै राखेर । तर डाक्टरका मुख्य सुझाव उनले बिर्सिएनन्, समयमा औषधि खाए, पानी खाए, कुन समयमा कति र के खाने भन्ने डाक्टरहरूले दिएको सल्लाहलाई शतप्रतिशत ‘फलो’ गरे । तर, दिमागलाई थप सिर्जनशीलतामा अग्रसर बनाउने कामलाई भने उनले रोकेनन् । जसरी मुटु एक मिलिसेकेन्ड पनि आराम गर्दैन, त्यसरी नै उनले आफ्नो दिमागलाई पनि सक्रिय बनाए ।

मुटुरोगीका लागि के योगदान दिन सक्छु भन्नेमा उनले चिन्तन गरिरहे । हृदयाघात भएको एक वर्षकै अवधिमा तयार पारेको पुस्तकले संकेत गर्छ, उनको दिमाग मुटुकै गतिमा अरूका लागि पनि चलिरहेको थियो भनेर । उनले पुस्तकमा कथाभन्दा पनि यथार्थ चित्रण कोरे । समृद्धिका लागि उनले उठाएका १०१ पाइला पूर्ण होइनन् तर त्यो अस्वीकार्य कदापी छैन । आर्थिक अवस्था सुधार्ने हो भने उनले उठाएका एक सय एक बुँदालाई एकतिहाइ मात्र कार्यान्वयन गर्ने शासक भए पुग्छ ।

पुडासैनीको ‘समृद्धिको हुटहुटी’ पुस्तक अर्थतन्त्र सुधार्न गर्नैपर्ने काम छन्, जसलाई सबैले महसुसचाहिँ गरेका छन् तर कार्यान्वयनचाहिँ गरेका छैनन् । प्रत्येक नेपालीको बैंक खाता हुने हो भने आर्थिक पारदर्शिता र सुशासन कायम गर्न सकिन्छ । बैंक खाता अनिवार्य गरेर दैनिक कारोबार खाताबाटै सञ्चालन गर्ने बाध्यकारी व्यवस्था राज्यले गर्नुपर्छ । पुस्तकका लेखा पुडासैनीले यसलाई आफ्नो दुई दशकदेखिको सपना भनेका छन् । उनको राजनीतिक तहमा केही न केही पहुँच पनि छ तर पनि उनले त्यसलाई कार्यान्वयन गराउन हो भने सकेका छैनन् । यद्यपि निरन्तर उठाइरहेका भने छन् । आर्थिक विकास पत्रकारिता उनको बैंकको जागिर र प्राध्यापन सुरु गर्नु अगाडिको आधार पनि थियो, त्यही भएर उनले यो विषयमा धेरै पहिलादेखि राम्रैसँग बुझेका छन् कि हरेक नगद कारोबार खल्तीमा बोकेर होइन, बैंकिङ च्यानलमार्फत गर्नुपर्छ । अहिले उनी बैंकमा कार्यरत रहेको कारण बैंक खाता खोल्न प्रत्यक्ष÷अप्रत्यक्षरूपमा सहयोग र प्रेरणामात्र होइन दबाब पनि दिइरहेकै हुन्छन् ।

नेपालमा अहिले पनि जनसंख्याको यकीन तथ्याङ्क निकाल्न राज्यलाई हम्मेहम्मे परेको छ । आफैंले गणना गरेको संख्या मेल नखाएर सरकारी अधिकारीहरू आलोचित मात्र होइन लज्जित भइरहेका छन् । तर पुडासैनीले आफ्नो पुस्तकमार्फत जन्मनासाथ जन्मदर्ता र जन्मदर्तासँगै स्वास्थ्य बीमा सुरु गर्न सुझाव दिएका छन् । जसरी विकसित देशमा बच्चा जन्मिएर घर फर्कँदा दर्तासँगै राहदानी बोकेर आउँछ त्यही अवस्था नेपालमा भयो भने उसको परिचय स्थापित हुन्छ र उसका स्वास्थ्य अवसर कहिल्यै गुम्दैन । वडाले आह्वान नगर्दासम्म आफ्ना बच्चालाई कुन सुई कहिले लगाउने भन्नेमा जतिसुकै पढेलेखेका परिवार पनि पत्तो पाउँदैनन् । यस्तो देशमा जन्मदर्ता जन्मेकै दिन गराउने व्यवस्था गर्न दबाब दिनु एउटा चेतनशील नागरिकको कर्तव्य हो, जुन कर्तव्य पुडासैनीले निर्वाह गरेका छन् ।

उनले प्रविधिलाई सहज बनाउन इन्टरनेटको सर्वसुलभलाई जोड दिएका छन् । यसले राज्यको नागरिक एपको कार्यक्रमलाई सफल बनाउन पूरा साथ दिन्छ । तर नागरिक एप सञ्चालन गर्ने सरकारको इन्टरनेटको सुविधा गएगुज्रेको छ । जब नेटकै सुविधा छैन भने सूचनाको सुरक्षा र कागजी नोटको अन्त्य अर्को समस्या हो ।कर केका लागि भन्ने अझै पनि सरकारी कर्मचारीलाई नै बुझाउन सकिने अवस्था छैन भने कसरी नागरिकलाई कर प्रणालीमा ल्याउन सकिन्छ ? तर पुडासैनीले पुस्तकमार्फत साग बेच्नेलाई पनि करको प्रणालीमा ल्याउन मैले तिरेको कर मेरै लागि भन्ने बारेमा राज्यले ज्ञान दिलाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

नागरिकलाई आवासको सुरक्षा अहिले हाम्रो देशमा उठ्न लागेको गम्भीर विषय हुन लागेको छ । सामान्य नागरिकले शिक्षा, स्वाथ्य, यातायात सुविधा भएको सहरमा आवासको सुरक्षा गुमाउँदै गएका छन् । यो भनेको नागरिकमाथि अन्याय हो । यदि नयाँ सहरको विकास गर्ने हो भने त्यसले नागरिकको आवासको सुरक्षालाई केही हदसम्म सहयोग गर्ने देखिन्छ । उनले आफ्नो पुस्तकमार्फत त्यसमै जोड दिएका छन् ।

No description available.

नागरिकले पैसा अभावमा चाहेको विषय पढ्न पाएका छैनन् । यदि कर्जा सुविधा हुने हो प्राविधिक शिक्षा लिन चाहनले आफ्नो मनलाई मार्न पर्दैन । देश बुझ्न र समाजको मुटु छाम्न उसलाई चाहेको शिक्षा लिन पैसाको अभाव हुन दिनुहुँदैन । त्यो भयो भने उसले देशका लागि एक वर्षे इन्टर्नसिप गर्न सक्तछ । त्यसका लागि राज्यले आफ्नो परम्परागत सोचलाई त्याग्नैपर्छ । पुडासैनीको ‘समृद्धिको हुटहुटी’मा त्यसैलाई जोड दिइएको छ । देश विकासका लागि पर्यटन, कृषि मात्र होइन कूटनीतिकरूपमा पनि कसरी काम गर्ने भनेर पुस्तकमार्फत पुडासैनीले राज्यलाई घच्घच्याउने प्रयास गरेका छन् ।

पुडासैनीले पुस्तकको लेखकस्वबापतको रकम मुटु बचाउने अभियानमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै गर्दा मुटु बचाउने अभियानमा संलग्न डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरू मात्र होइन नेपाल बैंकप्रति पनि समर्पित गरेका छन् । साउन २६ गते शुक्रबार लोकापर्ण गरिएको ‘समृद्धिको हुटहुटी’ पुस्तकका सम्पादक शरच्चन्द्र वस्तीले उक्त कार्यक्रममा पुडासैनीमा ऊर्जा भएकै कारण पुस्तक एक वर्षमै पाठकमा पुगेको बताएका थिए । पुस्ककका समीक्षक डा. धु्रब आचार्य र प्राध्यापक कृष्ण हाछेथूले पुस्कमा उपयुक्त सामग्री भएको बताएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया