Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिटी पार्टी प्यालेस सार्वजनिक बाटो मिचेर बनाएको महानगरको निष्कर्ष

सिटी पार्टी प्यालेस सार्वजनिक बाटो मिचेर बनाएको महानगरको निष्कर्ष


विराटनगर । बाबा ग्रुपले विराटनगर महानगरपालिकामा नक्सा पास नगरी बनाएको सिटी प्यालेस सार्वजानिक जग्गामा बनेको पाइएको छ । सो ग्रुपले सार्वजनिक बाटो मिचेर सो प्यालेस बनाएको विराटनगर महानगरले ठहर गरेको हो ।

पालिकाको ऐन कानुुनविपरीत एक वर्षदेखि नक्सा समेत पास नै नगरी अन्तर्राष्ट्रियस्तरको भन्दै पार्टी प्यालेस सञ्चालनमा आएपछि महानगरले सो प्यालेसको अनुगमन गरेको थियो । पार्टी प्यालेस अन्तर्राष्ट्रियस्तरको पनि नभएको र महानगरको सामान्य मापदण्ड समेत लत्याएर बाबा ग्रुपका सञ्चालक भगवान् राठी र उनका छोरा पवन राठीले सो प्यालेस बनाएको महानगर पालिकाले बताएको छ । महानगरबाट घरनक्सा समेत पास नगरी सो प्यालेस सञ्चालनमा ल्याएको बारे केही दिन अगाडि आर्थिक दैनिकले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विराटनगर महानगरपालिकाले प्यालेसको अनुुगमन गरेको हो । अनुुगमनका क्रममा उक्त पार्टी प्यालेसले आफ्नो भवनको पश्चिममा रहेको सार्वजनिक बाटो समेत मिचेर पार्टी प्यालेस भवन बनाएको पाइएको हो ।

महानगरले एक हप्ताभित्र बाटोमा परेको भवनको संरचना भत्काउन निर्देशन समेत दिएको छ । पार्टी प्यालेका सञ्चालकले लामो समयदेखि महानगरलाई बुझाउनुपर्ने राजस्व समेत बुझाएका छैनन् । अहिलेसम्म के कति राजस्व छलि भएको हो भन्ने तथ्य यकिन गर्न बाँकी रहेको महानगरपालिका स्रोतले जनाएको छ । सुनसरी मोरंग औद्योगिक करिडोरमा लामो समयसम्म विभिन्न उद्योगको स्थापना गरी सञ्चालन गर्दै आएको विराटनगरको राठी ग्रुपले आफ्नै असक्षताका कारण उद्योग बन्द गर्ने गरेको छ । पछिल्लो समय उक्त ग्रुपलाई बैकबाट पनि कुुनै लगानी नगर्ने संकेत पाएपछि सञ्चालक पवन राठी र भगवान् राठीले अरबौँ लगानी गरेर सिटी पार्टी प्यालेस कसरी निर्माण गरे भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

उक्त पार्टी प्यालेसमा ४१ वटा कोठा रहेका छन् । सुइट रुम र सुपर डिलक्स रुम भनेर सञ्चालकले अलग्गै थप चार्ज समेत लिने गरेको स्थानीयको भनाइ छ । सो पार्टी प्यालेका सम्बन्धमा जानकारी दिन खोज्दा सञ्चालक राठी सम्पर्कमा आउन चाहेनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया