Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखस्किँदै व्यापार व्यवसाय

खस्किँदै व्यापार व्यवसाय


दोलखा । हिमाली जिल्ला दोलखाको व्यापार व्यवसाय सुस्त बन्दै गएको छ । आर्थिक मन्दी, कोभिड–१९लगायतका कारण यहाँको व्यावसायिक कारोबार बिस्तारै खस्किँदै गएको हो । जिल्लामा सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा समस्या आएपछि व्यवसायी मर्कामा परेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थालाई पनि ऋण लगानी उठाउन मुस्किल परेको छ । जिल्लामा पछिल्लो समय ६० प्रतिशत व्यापार घटेको स्थानीय व्यापारीहरू बताउँछन् । पाँच/छ वर्षअघिसम्म दैनिक लाखौँ कारोबार गर्ने व्यापारीलाई हिजोआज एक हजारको कारोबार गर्न मुस्किल परेको उद्योग वाणिज्य संघ मैनापोखरीका अध्यक्ष राजनकुमार दाहालले बताए । भूकम्पपछिको पुनर्निर्माणले केही सल्बलाएको बजार त्यसपछिको कोरोना महामारीले भने ठप्प भएको उनको भनाइ छ ।

कोरोनापछि दोलखामा पर्यटकको आगमनमा पनि कमी आएको छ । पर्यटकलाई लक्षित करोडौँ लगानीमा खोलिएका होटल तथा रेस्टुरेन्ट हिजोआज सुनसान छन् । यस्तै, घरजग्गा कारोबार पनि ठप्प छ । बजार सुस्त बनेर कारोबार नहुँदा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाको कारोबार पनि घटेको छ । वित्तीय संस्थाहरू हिजोआज नयाँ ऋण लगानी गर्नेभन्दा पनि पुरानो कर्जा उठाउन केन्द्रित बनेका छन् । आम्दानी ठप्प बन्दै जाँदा यहाँका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्ने भएपछि ऋण तिर्ने म्याद थप गर्न र ब्याज छुट दिने व्यवस्था गर्न माग गरेका छन् । बजार चलायमान नहुँदा ४० प्रतिशतभन्दा बढी सटर बन्द भइसकेका छन् भने व्यवसायीहरू पलायन भएका छन् ।

आर्थिक मन्दीले विश्वभर नै प्रभाव पारिरहेको यो समयमा धमाधम सटर खाली हुन थालेपछि बैंक तथा सहकारीमार्फत ऋण लिएर घर बनाएका कतिपय घरधनीहरूको घर लिलामीको प्रक्रियामा पुगेको छ । घरको कोठा र सटर भाडामा लगाएर ऋणको किस्ता भर्दै आएकाहरू व्यवसायीले सटर छोड्दै हिँड्न थालेपछि घर नै लिलाम हुने अवस्थामा पुगेको एक घरधनीले बताए ।

कृषि उत्पादनले पनि बजार पाउन सकेको छैन । आर्थिक मन्दीका कारण जिल्लाका बजारहरू सुनसान छन् । नेपाल राष्ट्र बैकले बजारलाई चलायमान बनाउन नयाँ नीति ल्याउन नसकेको यहाँका सरोकारवालाहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया