Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिममा अपाङ्गता भएकाहरूले राहत नपाएको गुनासो

सुदूरपश्चिममा अपाङ्गता भएकाहरूले राहत नपाएको गुनासो


धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख २१
कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन आह्वान गरिएको लामो समय भइसकेको छ । सर्वसाधारणलाई घरबाहिर निस्किन नदिएपछि उनीहको दैनिकी फेरिनुका साथै दैनिकी झन्झन् कष्टकर हुँदै गइरहेको छ । विशेष गरेर मजदुर वर्ग, विद्यार्थी, अपाङ्गता भएका व्यक्तिलगायतका व्यक्तिहरूको दैनिकी झन् कष्टकर भएको छ ।

विपन्न वर्ग, मजदुर वर्ग, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई खाद्यान्नको अभावले भोकमरी सिर्जना हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूलाई कुनै पनि प्रकारको राहत अहिलेसम्म उपलब्ध नभएको र आफूहरू साह्रै समस्यामा परेको गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चि प्रदेशका अध्यक्ष उपेन्द्रबहादुर खडायतले लकडाउनको समयमा अपाङ्गहरू सबैभन्दा बढी प्रभावित भएको बताए ।

उनले अपाङ्गहरूले आफैँले सबै काम गर्न सम्भव नहुने र अरुको साहारामा काम गर्नुपर्ने । फेरि उनीहरूले दैनिकरूपमा विभिन्न सहयोगबाटै सहयोग वाफत गुजारा चलाउने, दैनिक ज्याला मजदुरी गरिखाने परिवारमा निकै समस्या परेको बताए । यसका साथै विभिन्न अपाङ्गहरूले विभिन्न प्रकारको औषधि सेवन गरिरहेकाहरूले औषधि नै नपाएको बताए । औषधि नपाउँदै लकडाउनले अकालमै ज्यान जाने अवस्था समेत सिर्जना हुनसक्ने अवस्था रहेको उनले बताए । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ घर भै वडा नम्बर ६ मा डेरा गरेर बस्ने श्रीमान् श्रीमती दुवै जना अपाङ्गता भएका प्रमानन्द भट्टले बेलौरी वडा नम्बर ६ को कार्यालयले निवेदन दिएको भए पनि राहत नदिएको बताए । उल्टै वडा अध्यक्षले तपाइँ जुन वडाको मतदाता हो सोही वडाबाट राहत दिन बताएको बताए ।

यस्तै बैतडीको सिगास गाउँपालिकाको राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष पठान सिंह बोहराले पनि गाउँपालिकाले वास्तविक पीडितहरूलाई भन्दा पनि आफ्ना आसेपासे र पहँचवालालाई मात्र राहत दिएको गुनासो गरे । गाउँपालिकामा रहेका सबै अपाङ्गहरूलाई अवस्था हेरेर राहत दिनुको सट्टामा आफ्ना पहुँचवालालाई मात्र राहत दिएको उनको भनाइ छ । यस्तै कैलालीको मोहुन्याल गाउँपालिकाका अपाङ्ग महासंघका प्रतिनिधि जितजंग शाही र घोडाघोडी नगरपालिकाका प्रतिनिधि ज्ञानेन्द्र बाँस्तोलाले पनि आफ्नो क्षेत्रका अपाङ्गहरूले राहत नपाएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न प्रकारका अभाव तथा समस्याहरू भोगिरहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x