Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविज्ञापन नियमावली तत्काल कार्यान्वयन गर्न माग

विज्ञापन नियमावली तत्काल कार्यान्वयन गर्न माग


काठमाडौं । नेपाल विज्ञापन संघ आनले विज्ञापन नियमावली २०८० तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ । आनको एक विज्ञप्ति जारी गरी आफूहरूको संघर्षका कारणले नै विज्ञापन नियमावली परिवर्तन भएको उल्लेख गरेको छ ।

आनले विज्ञापन बोर्डलाई सो नियमावली अविलम्ब कार्यान्वयनमा ल्याउन पहल गर्न समेत अनुरोध गरेको छ । सरकारले गत साउन ३२ गते विज्ञापन एजेन्सी, सञ्चारमाध्यम र विज्ञापदातालाई मान्य हुने गरी संशोधित विज्ञापन नियमावली २०८० जारी गरेको आनले जनाएको छ । सो नियमावली जारी भएसँंगै विज्ञापन एजेन्सीका बारेमा अनेकन अफवाह फैलाउने खालका अभिव्यक्तिहरू आएको भन्दै आनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘एकपक्षीयरूपमा विज्ञापन व्यवसायीलाई बदनाम बनाउँदै सम्पूर्ण समस्याको जड नै विज्ञापन व्यवसायी नै हो भन्ने धारणाको हामी घोर निन्दा गर्दछौँ’ आनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले समयानुकूल सरोकारवालाको सहकार्यमा ऐन, नियम र कानुनमा सुधार, संशोधन र परिमार्जन गर्नु स्वाभाविक कदम रहे पनि कुनै नियमावली जारी गरेलगत्तै कुनै सरोकारवालालाई लक्षित गरी एकोहोरोरूपमा मानमर्दन हुने गरी सार्वजनिकरूपमा बेइज्जती गर्ने, बदनाम बनाउन खोज्ने र सरकारी कर्मचारीलाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न सामग्री पोस्ट गर्ने कार्य आपत्तिजनक रहेको आनले उल्लेख गरेको छ । विज्ञापन बोर्डका अध्यक्षले नै विज्ञापन व्यवसायी, सरकारी कर्मचारी र विज्ञापनदाताप्रति लक्षित गर्दै विभिन्न अफवाह फैलाएको आनको आरोप छ ।

विज्ञापन क्षेत्र बढाउन गर्नुपर्नेयावत कुरालाई बेवास्ता गर्दै कसैलाई काखा र कसैलाई पाखाको व्यवहार बोर्डबाट भइरहेकाले यसलाई पुनर्विचार गर्न आनले आग्रह गरेको छ । साथै, विदेशी ब्राण्डको पाँच प्रतिशत र स्वदेशी ब्राण्डको पाँच प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गर्न, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा सूचना राख्दा पत्रपत्रिकामा प्रकाशन गर्नुनपर्ने, वैदेशिक रोजगारी र मदिराको विज्ञापन प्रकाशन रोकिँदा कुनै पनि पहल नगरिनु, अन्य क्षेत्रका विज्ञापनमा अंकुश लगाएकोमा यसलाई खुलाउनेतर्फ बोर्डले कुनै पहल नगर्नु दुःख लाग्दो अवस्था रहेको आनको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन बोर्डले आफ्नो काम, कर्तव्य र अधिकार नै बिर्सेको हो कि भन्ने भान आफूलाई परेको आनले जनाएको छ । साथै, आनले विज्ञापन बोर्डलाई आरोप÷प्रत्यारोपमा उत्रन उक्साउने कार्य तुरुन्त बन्द गर्न पनि आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया