Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जातार भूमिगत गर्ने प्राधिकरणको कार्य प्राविधिकरूपमा त्रुटिपूर्ण

तार भूमिगत गर्ने प्राधिकरणको कार्य प्राविधिकरूपमा त्रुटिपूर्ण

सडक, ढल, फोन, खानेपानी मर्मतमा अवरोध


नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा प्राविधिकरूपमा त्रुटिपूर्ण काम गरेको देखिएको छ । प्राधिकरणको लापरबाही र त्रुटिपूर्ण कार्यले सडक, फोनको तार, खानेपानीको पाइप र फोहोर बग्ने ढलको ‘ह्युमपाइप’ मर्मतमै अवरोध आउने देखिएको छ । यदि प्राधिकरणको तार भूमिगत गर्ने काममा तत्काल सुधार नगर्ने हो भने यसले ठूलो दुर्घटना निम्तिने प्राविधिकहरूको चिन्ता छ ।

सडक पूर्वाधारको क्षेत्रमा सबैभन्दा धेरै काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही भदौ १७ गते आइतबार सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा विद्युत् प्राधिकरणलाई बोलाएर यसबारेमा औपचारिकरूपमै सचेत गराइसकेको छ । उक्त उच्चस्तरीय संयन्त्रको बैठक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको उपस्थितिमा हुने गर्छ । त्यस्तो बैठक पहिला १५/१५ दिनमा गरिने गरिएकोमा अहिले दुई/दुई महिनामा हुनेगरेको छ ।

प्राधिकरणले तार भूमिगत गर्दा गरेको लापरबाहीपूर्ण कार्यको सडक विभागले सो दिन फोटोसहित विवरण प्राधिकरणका एमडी कुलमान घिसिङलाई नै देखाएको थियो । त्यसको साक्षी काठमाडौं, ललितपुर महानगरपालिका, खानेपानी, नेपाल टेलिकम, ढल विभागलाई नै राखेको थियो । भौतिक मन्त्रालयले बनेको सडक खन्न अग्रसर हुने सबै निकायलाई बोलाएर ‘पावर प्वाइन्ट’बाट अहिले सडकमा भइरहेको गतिविधिको सबै विवरण देखाएको थियो । उक्त विवरण तयार पार्न भौतिक मन्त्रालयले सडक विभागलाई लगाएको थियो । भौतिकले अहिले प्राधिकरणले बिजुलीको तार हाल्ने पाइप बिच्छ्याउन कति गहिरो खाडल खनेको छ भन्ने तस्बिर पनि उक्त दिन देखाएको थियो । सडक खनेर बिगार्ने निकायले सडक विभाग तथा मातहतका कार्यालयसँग गरेको सम्झौताअनुसार खनेको ठाउँको मर्मत नगरेको विवरण पनि देखाइएको थियो ।

बिजुलीको तार कति गहिराइमा भूमिगत गरिएको छ ?

भौतिक मन्त्रालय स्रोतका अनुसार विद्युत् बहने तार भूमिगत गर्दा प्राधिकरणले कतिपय ठाउँमा १५ देखि २० सेन्टिमिटर गहिरो खाल्डो खनेर पाइप बिच्छ्याइदिएको छ । त्यो कार्य प्राविधिकरूपमा त्रुटिपूर्ण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डविपरीत हो । नेपालको सडकको मापदण्डअनुसार पिचको लेबलदेखि करिब एक मिटर गहिरोसम्म कुनै पनि वस्तु छिराउन (बिच्छ्याउन) मिल्दैन । यदि त्यसरी बिच्छ्याएमा त्यसलाई सडकमा गुड्ने गाडीको भारले क्षति पु¥याउँछ । तर, प्राधिकरणले भने १५/२० सेन्टिमिटर गहिरो खाडलमै विद्युत् प्रसारण लाइनको तार हाल्ने पाइप बिछ्¥याइसकेको छ । जसको कारण भूमिगत तार सडकमा एम्बुसजस्तै बन्ने अवस्था सिर्जना भएको छ ।

‘बिजुलीको तार भूमिगत गर्नु कसैको लहडको विषय बनेको देखियो’, विदेशमा समेत सडक निर्माणको काम गरिसकेका र हाल नेपाल सरकारको सेवामै रहेका एक सिनियर डिभिजनल इन्जिनियरले बुधबार आर्थिक दैनिकसित भने, ‘बिजुलीको तार अति संवेदनशील हुन्छ । यस्तो तार भूमिगत गर्नुअघि खानेपानी, टेलिफोन, ढल र सडकसँग समन्वय गरेर एकीकृत विकास निर्देशिका बनाएर सडकको लेबलबाट खानेपानी, टेलिफोनको तार र ढल कति र बिजुलीको तार कति गहिराइमा राख्ने भन्ने प्राविधिकरूपमा सर्वस्वीकार्य निर्देशिका जारी गर्नुपर्छ । विदेशमा सबैभन्दा तल बिजुलीको तार राखेर माथि ढल, खानेपानी, टेलिकमका तारको पाइप राखिन्छ । तर, अहिले प्राधिकरणले ठूला तथा साँघुरा जुकसुकै सडक पनि जति मन लाग्छ त्यति खनेर तार भूमिगत गर्ने काम गरेको छ । यसले सडक, खानेपानी, टेलिफोन र ढल मर्मत गर्दा समस्या सिर्जना गर्छ ।’

अन्य निकायको पनि प्राधिकरणमाथि प्रश्न
भौतिकले गरेको उक्त छलफलमा सबै निकायले विद्युत् प्राधिकरणको अहिलेको तार भूमिगत गर्दाको गहिराइको बारेमा प्रश्न गर्दै सडक, खानेपानी, फोनको तार, ढल मर्मत गर्दा बिजुलीको तार अवरोध हुने स्पष्ट भनाइ राखेका थिए ।

No description available.

खानेपानी र ढल विभागले त साँघुरा र भित्री सडकमा लापरबाहीपूर्ण तरिकाले प्राधिकरणले तार भूमिगत गर्नेगरेको भन्दै खानेपानी र ढलका पाइप विस्तार मात्र होइन मर्मत गर्नै नसकिने अवस्था आएको भन्दै प्राधिकरणलाई विकसित देशका विभिन्न ठाउँको उदाहरण नै दिएर साँघुरा सडकमा तार भूमिगत नगर्न सुझाव दिएका थिए । तर, उक्त कार्यक्रममा उपस्थित भएका प्राधिकरणका एमडी कुलमान घिसिङले धेरैजस्तो ठाउँमा बिजुलीको तार भूमिगत गर्ने काम नै पूरा भइसकेको जानकारी दिएका थिए । खानेपानीका एक इन्जिनियरका अनुसार विकसित देशहरूमा मुख्य सहर र सडकमा बिजुलीको तार भूमिगत गरिए पनि भित्री सडकमा खानेपानी, फोन र ढलका पाइपलाई स्थान दिनका लागि बिजुलीको लाइन बाहिरबाटै लगिएको हुन्छ । तर, ती तारहरू नाङ्गो नभई बाहिरबाट रबरले छोपिएको हुन्छ ।

No description available.

ती सीडीईका अनुसार सडक, खानेपानी, टेलिफोन र ढल भनेको सधैँजसो मर्मत गरिरहनु पर्छ । ती तीनवटा सेवाको लाइनको आसपास वा त्योभन्दा माथि बिजुलीको तार भूमिगत गरिएको हो भने मर्मत गर्दा तार काटिन्छ अनि ठूलो दुर्घटना हुन्छ । ‘तार भूमिगत गर्दा तार हाल्ने पाइपलाई तल र माथि दुवैतिरबाट ढलान गरेर छोप्नु पर्छ । त्यो भयो भने मात्र दिगो हुन्छ । नत्र यो चाँडोचाँडो बिगार्ने र बनाइरहने काम हुन्छ’, ती सीडीईले आर्थिक दैनिकसित भने, ‘उजुरी नपरेसम्म छानबिन नगर्ने हाम्रो अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ । अरुले भनेको प्राधिकरणले मान्दैन । त्यही भएर अहिले सडकमा विद्युत् प्राधिकरणले गरेको केबुल बिच्छ्याउने काम प्राविधिकरूपमा त्रुटिपूर्ण छ । यसमा तत्काल सुधार गर्र्नैपर्छ । अर्थात् गहिराइ नपुगेको ठाउँमा पुनः काम गर्नुपर्छ ।’

प्राधिकरणको भनाइ

प्राविधिकरूपमा त्रुटिपूर्ण काम गरेको प्राधिकरणले सिद्धान्ततः स्वीकार गरिसकेको भौतिक मन्त्रालय स्रोतले जानकारी दियो । ‘भौतिक मन्त्री प्रकाश ज्वाला नै उपस्थित भएर गत आइतबार गरिएको छलफलमा प्राधिकरणका एमडी घिसिङले सडक वा ढल, खानेपानीको पाइप मर्मत गर्दा बिजुलीको ‘सर्टडाउन चार्ज’ अर्थात् लाइन बन्दबापतको रकम नलिने प्रतिबद्धता जनाएका छन् । उनले त्यसलाई लिखित गर्न पनि तयार रहेको प्रतिबद्धता जनाएका छन् । यसले प्राधिकरणले मुख्य सडकका केही ठाउँमा त्रुटि गरेको स्वीकार गरेको देखाउँछ’, भौतिक मन्त्रालयका एक अधिकारीले भने, ‘बिजुलीको तार बिच्छ्याउन पाइप गाडिएको ठाउँमा समयमै सडक मर्मत नहुनु र मर्मत भए पनि सडकको जस्तो गुणस्तरीय तरिकाले काम नभएको कारण अहिले सडक खन्दा राख्दै आएको २० प्रतिशत धरौटीमा पनि संशोधन गरेर ५० प्रतिशत पु¥याउन घिसिङ सहमत देखिएका छन् । प्राधिकरणको लापरबाहीपूर्ण कार्यले पनि धुलोरहित काठमाडौं बनाउन असहयोग भएको छ ।’

प्राधिकरणले सडकले जस्तै गुणस्तरीय काम समयमै नगरेमा त्यही धरौटीको रकमबाट काम गरेर बचेको पैसा मात्र प्राधिकरणलाई फिर्ता गर्नेछ ।सडक, टेलिकम, ढल, खानेपानीजस्ता निकायसँग समन्वय नगरी प्राधिकरणले आफूखुसी तार भूमिगत गर्दा ती निकायले मर्मतका लागि खन्ने मजदुर र मेसिन नै पाउने अवस्था छैन । ‘बिजुलीको तार भूमिगत गर्दा कतिपय ठाउँमा ढलभन्दा माथि नै राखेको देखिन्छ । यसले भोलिका दिनमा त्यहाँ खोतल्ने कामदार र मेसिन नै पाउने देखिँदैन । प्राधिकरणले अहिले नै प्राविधिक त्रुटिलाई सडक, खानेपानी, टेलिकम र ढल विभागसँग बसेर सल्टाउने काम गरेन भने यसले सबै सेवा अवरुद्ध हुने देखिन्छ’, सडक विभागका एक इन्जिनियरले भने । भौतिक मन्त्रालयले प्राधिकरणलाई मात्र नभई टेलिकम, खानेपानी र ढल विभागलाई पनि आफ्नो सेवा विस्तार गर्दा सडक विभागसँग सम्झौता र समन्वय गरेर मात्र काम गर्न भनेको छ ।

अहिले प्राधिकरणले बिजुलीको तार हाल्नका लागि सडक तथा फुटपाथमुनि पाइप हालेको छ । फुटपाथमुनिको पाइपमा गाडीको ठूलो चाप नपरे पनि सडकमुनि भने ठूलो चाप पर्नेछ । त्यसले ती पाइप केही वर्षमै फुटाइदिनेछ । सडकमुनि बिजुलीको तार लैजाने पाइप राख्दा माटोमा राख्न नमिल्ने विदेशको समेत अनुभव लिइसकेका ती सीडीईको भनाइ छ । उनका अनुसार तार राख्ने पाइप राख्दा अधिकांश ठाउँमा तल पनि ढलान र माथिबाट पनि ढलान गरेर पुर्नुपर्छ । अर्थात् कुनै पनि घर वा भवनको पिल्लरभित्र रहने रडजस्तै गरी बिजुलीको तार लैजाने पाइप चारतिरबाट ढलानले छोप्नुपर्छ । त्यो गरेको खण्डमा माथिको कुनै पनि भारले बिजुलीको तार हाल्ने पाइपलाई असर गर्दैन । ती सीडीईले विदेशमा आफूले गरेको कामको अनुभव आर्थिक दैनिकलाई सुनाए, ‘विदेशमा ढलानभित्रै बिजुलीको तार लैजाने पाइप राखिन्छ । नेपालजस्तो कमसल भू–बनोट भएको देशमा पनि त्यही विधि नअपनाउने हो भने यहाँको बिजुलीको तार भूमिगत गर्ने काम दिगो हुनै सक्तैन ।’

No description available.

अहिले प्राधिकरणले कतिपय ठाउँमा १५/२० सेन्टीमिटर गहिरो खाडल खनेर पाइप बिछ्याइसकेको छ । पाइप बिच्छ्याएको कतिपय ठाउँमा माथि गरेको मर्मत कमजोर भएको कारण गाडीको प्रेसरले दबिइसकेको छ । १५/२० सेन्टिमिटर मात्रै सडक खनेर बिजुलीको तार हाल्ने पाइप बिच्छ्याइएको कारण दुई/चार वर्षमै ‘ड्यामेज’ हुन्छ र त्यसले ठूलो मानवीय दुर्घटना निम्त्याउने देखिन्छ । ती सीडीईका अनुसार काठमाडौं उपत्यकाको सडकको मुनि करिब एक मिटर तलसम्म गाडी गुड्दा चलायमान हुन्छ ।

गाडी गुड्न छाडेपछि फेरि सडकमुनिको भाग पूर्ववत् अवस्थामा फर्कन्छ । त्यही भएर सडकको पिच लेबलदेखि एक मिटरसम्म कुनै पनि वस्तु बिच्छ्याउन वा छिराउँदा सडकको भारले थिच्ने गर्छ । सडकको तोकिएको लेबलमुनि पनि फोन तथा इन्टरनेटको तार, खानेपानी, ढलको पाइप हुनेभएको कारण त्योभन्दा तल मात्र बिजुलीका तार राख्नुपर्छ । तर, प्राधिकरणले केही ठाउँबाहेक अधिकांश ठाउँमा सडक, खानेपानी, ढल र फोनको तार मर्मतलाई असर पार्नेगरी बिजुलीको तार हाल्ने पाइप बिच्छ्याइदिएको छ । प्राधिकरणले ती निकायको पाइप वा तार मर्मत गर्दा लाइन बन्द गरिदिए पनि तार वा पाइप काटिने सम्भावना धेरै छ ।

‘प्राधिकरणको भूमिगत ‘केबलिङ’ (ट्रान्समिसन र वितरण) कार्यको गहिराइ कम देखिएकाले यसले भविष्यमा सडक विस्तार÷मर्मत÷पुनस्र्थापना कार्यमा पार्ने प्रभाव, समस्या र समाधानका उपायहरू सम्बन्धमा छलफल भएको छ’, भौतिक मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘प्राधिकरणले सुधार्ने प्रतिबद्धता जनाएको छ । त्यहीअनुसार काम हुन्छ होला ।’

No description available.

प्राधिकरणले मात्र नभएर खानेपानी, टेलिकम र ढल विभागले पनि सडक लेबललाई बेवास्ता गर्दै आफ्नो सेवा भूमिगत गरेका छन् । कतिपय ठाउँमा खानेपानी र ढलका पाइप नै सडकभन्दा माथि देखिएका छन् भने टेलिकमले पनि १०÷१२ सेमि गहिरो खाल्डोमै तार भूमिगत गरेको प्रमाण सडक विभागले उक्त दिन पावर प्वाइन्टबाट देखाएको थियो । सडक मर्मत गर्दा रोलर लगाउँदा ती तार तथा पाइप फुट्ने भन्दै तत्काल सुधार गर्न भौतिकले ती निकायलाई सचेत गराएको छ ।

सडकको भार कति तलसम्म पर्छ ?

एक हाइवे इन्जिनियरका अनुसार सामान्यतया काठमाडौं उपत्यकालगायत माटो भएको क्षेत्रमा सडक निर्माण गर्दा ‘सबग्रेड’ ५० सेन्टिमिटर रहनुपर्छ । अर्थात् ‘सबबेस’ बिच्छ्याउनेभन्दा ५० सेमिसम्मको भागलाई खोतल्न मिल्दैन । त्यसलाई सबग्रेड भनिन्छ । त्यसको मोटाइ करिब ५० सेमि कायम राख्नुपर्छ । त्यसमाथि राखिने ग्राभेललाई सबबेस भनिन्छ । जुन माटोको नेचर अर्थात् सबग्रेडमा भर पर्छ । सबग्रेड बलियो छ भने सबबेस २० सेमि हुन्छ । सबग्रेडमा शंका लाग्यो र ठूलो लोड बोक्ने गाडी गुड्ने सडक छ भने २५ सेमि मोटो सबबेस हुन्छ र लोड कम र गाडी कम गुड्छ भने २० सेमि मोटाइको मात्र सबबेस राखिन्छ ।

त्यसपछि बेस राखिन्छ । बेसचाहिँ सबबेसको आधारमा राख्ने सडक विभागको प्राविधिक तर्क छ । सबबेस २० सेमि छ भने बेस १५ सेमि र सबबेस २५ सेमि छ भने बेस २० सेमि राख्ने गरिएको छ । त्यसपछि गिट्टीहरूलाई लक गर्नका लागि प्राइम गरिन्छ । प्राइमपछि माथि कालोपत्रे हुन्छ । काठमाडौंको ‘अस्फाल्ड पिच’ सडक गाडीको चापअनुसार ४०, ५० र ६० एमएम अर्थात् चार, पाँच र छ सेन्टिमिटरसम्मको मोटाइ हुन्छ । सडकको पिच लेबलदेखि सबग्रेडको ५० सेमि गहिरो भागसम्म खोतलेर कुनै पनि वस्तु छिराउन मिल्दैन । त्यसरी छिराएमा सडक भासिन्छ र सडकमा गुड्ने गाडीले जुनसुकै बेला भित्र बिच्छ्याइएको वस्तुमा क्षति पु¥याउन सक्छ । त्यही भएर सडकले सडकमुनि ह्युमपाइप बिच्छ्याउँदा पीसीसी गर्छ । कतिपय ठाउँमा ह्युमपाइप राख्ने खाल्डो खन्न समस्या भयो भने पाइपमाथि पनि ढलान गरेर त्यसलाई माथिको भारबाट जोगाउने काम हुन्छ । त्यही भएर माथिको भारबाट सडकमुनि बिच्छ्याइएको बिजुलीको तार र त्यो तार राख्ने पाइपलाई जोगाउने हो भने पाइपलाई चारतिरबाट ढलानले छोप्नुपर्छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया