Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा अवैध भारुको कारोबार मौलाउँदै

विराटनगरमा अवैध भारुको कारोबार मौलाउँदै


विराटनगर । विराटनगरमा अवैध भारतीय रुपैयाँको कारोबार मौलाउँदै गएको छ । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ दुई सय, पाँच सय, एक हजार र दुुई हजार दरका नोटको कारोबारमा कडाइ गरेपछि विराटनगरमा भारुको कारोबारमा कमी आएको छ । यही कारण अवैध कारोबारीहरूले फाइदा उठाउने गरेको पाइएको हो ।

विराटनगर बजारमा च्याउजस्तै खुलेका भारु–मोरु सटही काउन्टरलाई राष्ट्र बैकले नोट सटहीमा कडाइ गर्ने निर्देशन दिए पनि उनीहरूले सो निर्देशनको पालना गरेका छैनन् । राष्ट्र बैंकको अध्यावधिक तथ्याङ््कअनुसार विराटनगर बजारलगायत सुनसरी, झापा र मोरङमा तीन दर्जनभन्दा बढी भारु–मोरु सटही काउन्टरले इजाजत पाएका छन् । इजाजत प्राप्त काउन्टरले नै अवैध भनिएको दुई सय, पाँच सय, एक हजार र दुई हजार दरका भारतीय रुपैयाँको कारोबार बढाएको पाइएको छ ।

विराटनगर बजार र भारतीय बजारको दूरी छ किलोमिटरभित्रमा पर्ने हँुदा विराटनगरको रानी र मिल्स एरियामा सञ्चालन भएका मनिचेन्जरहरू भारतीय बजारमा रहेको भारतीय रुपैयाँ बोकेर विराटनगर बजारका मनिचेन्जरहरूमा खुलेआम भारु र मोरुको कारोबार गरिरहेका छन् ।

विराटनगर क्षेत्रमा भारुको अवैध कारोबार बढेको अवस्थामा यसको नियन्त्रणका लागि सरकारले नेपाली र भारतीय मुुद्राबीचको बिक्री दरको मूल्यलाई अध्यावधिक गर्नुपर्ने कारोबारीहरू बताउँछन् । राष्ट्र बैंकले एक सय रुपैयाँ भारु बराबर एक सय ६० रुपैयाँ १५ पैसा बिक्रिदर तोकेको भए पनि अहिले बजारमा एक सय भारु बराबर एक सय ४० देखि एक सय ५० रुपैयाँ खर्चिएर अवैध किनबेच भइरहेको देखिन्छ । मनि चेन्जर सञ्चालन अनुमति पाएकाहरू पनि कारोबार गर्न नपाउने बाहना देखाएर बट्टा लिएर कमाउन पल्केको स्थानीय बताउँछन् ।

विराटनगरमा मनी चेन्जर सञ्चालन गर्दै आएका एक व्यवसायीले केन्द्रीय बैंकले मनिचेन्जरलाई कारोबार गर्ने इजाजत दिए पनि भारु उपलव्ध गराउन नसकेको बताए । भारतीय बजारबाट भारु किनेर भए पनि कारोबार चलाउनुपरेको उनले बताए । राष्ट्र बैंकले व्यापक कडाइ गरे मात्र भारु–मोरुको अवैध कारोबार हराउने उनको दाबी छ । राष्ट्र बैंकको टोली मनी चेन्जरको अनुगमन निरीक्षणमा बाहिर निस्कना साथ सोही बैंकमा रहेको एउटा सञ्जालले मनीचेन्जरलाई अग्रीम जानकारी गराउने गरेका कारण यहाँ सञ्चालित मनी चेन्जरको मनोबल बढ्दै गएको उनले बताए । सोही कारणले अवैद्य कारोबार गर्ने मनी चेन्जरदेखि व्यावसायिक प्रतिष्ठानहरू सर्तक भएर आफ्नो कारोबार शून्यमा रहेको रेकर्ड अध्यावधिकका साथ राष्ट्र बैंकको अनुगमन टोलीलाई देखाउने मौका पाउने गरेका छन् । केही कारोबारीहरूले पछिल्लो समय अवैध हुण्डीको कारोबार समेत सञ्चालनमा ल्याएको पाइएको छ ।

स्रोतका अनुसार पछिल्लो समय राष्ट्र बैंकले मनी चेन्जरलाई भारु उपलब्ध नगराएको भन्दै आफ्नो कारोबार बन्द गरेको घोषणा गरेका मनी चेन्जर व्यवसायीहरू नै सोही मनी चेन्जरबाट अवैध हुण्डी कारोबार खुलेआम गरिरहेका छन् । यस्तै, अवस्था रहेमा अहिले विराटनगरमा बद्दै गएको अवैध भारु–मोरुको कारोबारले अझ विशाल रूप लिन सक्ने व्यवसायीहरूको चिन्ता छ । दिन प्रतिदिन वैध वा अवैधरूपमा फष्टाउन थालेको भारुमोरुको अवैध कारोबारलाई समयमै प्रशासनले नियन्त्रण गर्न पहल गर्नुपर्ने व्यवसायीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया