Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’ शर्तसहित खुकुलो, विकास आयोजनासहित ४४ किसिमका उद्योग खुल्ला

‘लकडाउन’ शर्तसहित खुकुलो, विकास आयोजनासहित ४४ किसिमका उद्योग खुल्ला


काठमाडौं, वैशाख २५
सरकारले ‘लकडाउन’को म्याद आगामी जेठ ५ गतेसम्मका लागि थप गरे पनि विकास आयोजना र ४४ किसिमका उद्योग शर्तसहित खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारको उक्त निर्णयले देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रत्यक्ष सहयोग गर्नेछ । लकडाउनको कारण अर्थतन्त्र चौपट भएको भन्दै निकास खोल्नुपर्ने आवाज उठिरहेको बेला सरकारले विकास र उत्पादनको क्षेत्र खोल्ने निर्णयले अर्थतन्त्रमा थप सहयोग गर्ने देखिन्छ ।

विकास आयोजना र उद्योग खोल्नेहरुले स्वास्थ्यसम्बन्धी शर्त भने पालना गर्नुपर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यसको सबै निगरानी स्थानीय प्रशासनले गर्नुपर्नेछ । तर, शैक्षिक संस्था, यात्रुवाहक बस, होटल, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा हुने भेला, रंगशाला, फुटसल, जिमखाना, सैलुन सञ्चालनमा लगाइएको रोक भने सरकारले खुलाएको छैन । यसले बसमा ओहोरदोहोर हुने कार्य पूर्णतः बन्द नै रहनेछ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले त्यस्तो निर्णय लिएको हो । कुन–कुन उद्योग खोल्ने भन्ने प्रस्ताव समितिमा उद्योग मन्त्रालयले पठाएको थियो । उद्योग खोलिने जानकारी उद्योगमन्त्री लेखराज भट्टले मंगलबार नै उद्योगी तथा व्यवसायीलाई दिएका थिए ।

एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतलाई पूर्णतः बन्द गरेर आन्तरिक श्रमिकबाटै सरकारले विकास निर्माण तथा उद्योग चलाउन लागेको हो । भारतमा लकडाउन खुकुलो बनाउँदा कोरोनाको संक्रमितको संख्या बढ्नुको साथै मृत्यु हुनेको संख्या पनि बढेपछि नेपालमा भने आवतजावतलाई कडाइ गरेको हो । खोल्न पाउने उद्योगहरुले पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वयन गरेर खोल्नुपर्ने हुन्छ । केन्द्र सरकारले निर्णय ग-यो भन्दैमा धमाधम खोल्न पाइनेछैन ।

खोल्न नपाईने क्षेत्र :
शैक्षिक संस्था
यात्रुबाहक बस
होटल
तालिम तथा प्रशिक्षण केन्द्र
गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल
धार्मिक स्थलहरुमा हुने भेला
रंगशाला
फुटसल
जिमखाना
शैलुन

खोल्न पाईने उद्योगहरु :
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

एकै परिवारका १७ जनामा कोरोना :वीरगञ्जका एकै परिवारका १७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । सात जना महिला र दश जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । वीरगञ्जमा भेटिएक १७ जना मध्ये दुईजना शिशु पनि छन् । सो परिवारका एक पुरुषमा वैशाख १९ गते कोरोना भएको पुष्टि भएको थियो । उक्त परिवारले आफूहरु कतै नगए पनि किन कोरोना लाग्यो भनेर स्वाथ्यकर्मीसँग नै प्रश्न गरेका छन् ।

अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द : सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी जेठ १८ गतेसम्मका लागि बन्द गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले लकडाउन भने जेठ ५ गतेसम्मका लागि मात्र गरेको छ । सरकारको उक्त निर्णयका कारण नेपालबाट कुनै पनि देशमा र अन्य देशबाट नेपाल आउने विमानसेवा पूर्णत हुनेछ । यद्यपि कार्गो र चार्टर उडान भने हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x