Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआजदेखि संसद्को बजेट अधिवेशन सुरु, कस्तो आउँदै छ बजेट ?

आजदेखि संसद्को बजेट अधिवेशन सुरु, कस्तो आउँदै छ बजेट ?


काठमाडौं, वैशाख २६
आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने सङ्घीय संसद्को छैठौँ अधिवेशन आज शुक्रबारदेखि सुुरु हुँदै छ । बजेट ल्याउने भएको कारण यसलाई बजेट अधिवेशन भनिएको हो । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । नेपालको संविधानअनुसार प्रत्येक जेठ १५ गते संघीय सरकारले बजेट ल्याउनैपर्छ । संवैधानिक बाध्यताको कारण कोरोनाको संक्रमण र लकडाउन जारी रहँदा पनि संसद्को अविधेशन सुरु हुनलागेको हो । संसद्को बैठक शुक्रबार अपराह्न ४ः०० बजे बोलाइएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैठौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन् ।

शुक्रबारको बैठकमा छैठौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणका नयाँ कार्यक्रम समावेश हुने छैन भने कतिपय मन्त्रालयलाई चालू आर्थिक वर्ष २०७६/०७७ को बजेट सिलिङ्गमै रहेर बजेट बनाउन निर्देशन दिइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । दातृनिकायहरुले पनि कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सहयोग दिने प्रतिबद्धता जनाएका छन् । कतिपय विषयमा दातृनिकायसँग अर्थ मन्त्रालयले सम्झौता पनि गरिसकेको छ । केही रकम भने हस्ताक्षरको क्रममा रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्को अर्थ समितिको बैठकमा मंगलबार जानकारी दिएका थिए ।

संसद् तथा संसद् बाहिरबाट पनि सरकारमा माथि विकास निर्माणमा नयाँ योजना समावेश गर्नभन्दा पनि सञ्चालनमा रहेका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेट विनियोजन गर्न दबाब परेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि बढी बजेट व्यवस्था गर्न दबाब छ । कोरोनाको त्रासको कारण लकडाउन बढेको कारण सरकारले राजस्व गुमाउँदै लगेको छ । स्रोत नै नभएपछि सरकारले पनि नयाँ योनजा समावेश नगर्ने सम्भावना छ । ‘एक/दुईवटा योजनाहरु नयाँ समावेश पनि हुन सक्छन्’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘नयाँ योजना समावेश नगर्न सबै मन्त्रालयहरुलाई भनिसकेका छौं । समावेश गर्नैैपर्ने भएमा एक/दुई वटा नयाँ योजना आउन पनि सक्तछ । तर, सकभर अर्थले नयाँ योजनालाई स्वीकृत दिनेछैन । सकभर पुराना योजनालाई सम्पन्न गर्ने गरी बजेट आउनेछ ।’

सरकारले पुराना योजनाहरुलाई सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेमा देशभर रुग्ण आयोजनाहरु रहनेछैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि रुग्ण योजना/आयोजना सम्पन्न गर्ने गरी बजेटको व्यवस्थापन गर्न सरकारलाई पटक–पटक सुझाव दिँदै आएको छ ।

४४१ को स्वाब सङ्कलन : सङ्घीय संसद्को छैठौँ अधिवेशन शुक्रबारदेखि सुरु हुने भएपछि कोभिड–१९ भए/नभएको निक्र्योल गर्न दुवै सदनका सांसद, कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । दुई सय १२ सांसद र २ सय २९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको हो । जसअन्तर्गत प्रतिनिधिसभाका १ सय ७९ राष्ट्रियसभाका ३३ सांसदको स्वाब सङ्कलन गरिएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ः०० देखि १०ः०० बजेसम्म बानेश्वरस्थित संसद् भवन परिसरमै स्वाब सङ्कलन गरिने बताइएको छ । सङ्कलित स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

यस्तो छ सांसदहरुलाई आचारसंहिता : कोरोनाको सक्रमण हुने त्रासलाई मध्यनजर गरेर सङ्घीय संसद् सचिवालयले सोहीअनुसारको व्यवस्था गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तयार पारेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसद एउटै सिटमा बस्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नुपर्नेछ ।

संसद् भवनमा प्रवेश गर्दा र फर्किँदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद् भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, सञ्चारकर्मीलाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको राससले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग सङ्क्रमणको सम्भावित जोखिम रोकथाम गर्ने गरी संसद् भवनको स्थलगत अनुगमनपश्चात् तयार पारेको सुझाव प्रतिवेदनका आधारमा उक्त आचारसंहिता तयार पारेको हो । अनुगमन टोलीमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत पोख्रेल, नर्सिङ अधिकृत यशोदा बराल र वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा छन् ।

अनुगमन टोलीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने, मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ, बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, सकेसम्म समूहगत छलफलन नगर्ने, यदि गर्नैपरेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेलगायतको सुझाव दिएको छ । यस्तै बैठक अवधिभर घरमा गई स्वयं एकान्तवासको नियम सांसदहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x