Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठगीबाट उपभोक्ता आफैं सजग हुनुपर्ने

ठगीबाट उपभोक्ता आफैं सजग हुनुपर्ने


काठमाडौं । चाडपर्वको समयमा हुने मूल्यवृद्धि, कृत्रिम अभावलगायत विषयमा उपभोक्ता स्वयम् सजग बन्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक छलफल कार्यक्रका वक्ताहरूले नियामक निकायबाट नियमित अनुगमन हुनुपर्ने बताए ।

मुख्यसचिव वैकुण्ठ अर्यालले उपभोग्य वस्तुमा उपभोक्ता स्वयम् सजग हुनुपर्ने बताउँदै उपभोक्ता आफैँ जागरुक नभएसम्म गुणस्तरीय उत्पादन पाउन गाह्रो हुने विचार व्यक्त गरेका छन् । उनले प्रयोग गरिने वस्तुको मूल्य, गुणस्तर र उपभोगको म्यादको ख्याल गर्न सुझाए ।

मुख्यसचिव अर्यालले बजार अनुगमन नियमित एवम् एकद्वार प्रणालीबाट सञ्चालन गर्न सुरू भएको र स्थानीय प्रशासनलाई बजार अनुगमनमा लाग्न निर्देशन दिइएको बताए । उपभोक्ता जागरण मञ्च नेपालका अध्यक्ष कृष्ण भण्डारीले स्वच्छ बजार विकासमा सबै पक्ष इमान्दार हुनुपर्नेमा जोड दिए । समग्रमा उत्पादक, वितरक, उपभोक्ता र सम्बद्ध सबै इमान्दार हुनुपर्ने उनले बताए ।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन संवेदनशील रहेको बताए । चाडपर्वको समयमा सुरक्षा संवेदनशीलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराए । चाडपर्वको बेला घर जाने यात्रुहरू ठगिने गरेको भन्दै उनले यात्रुका लागि हेल्प डेस्क राख्ने बताए ।

वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको बताए । नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा विभागप्रति आम उपभोक्ताको जुन अपेक्षा रहेको छ, त्यो अपेक्षालाई पूरा गर्न लागि परेको उनको भनाइ छ ।

उनले भने, ‘चाडपर्वको बेला उपभोग्य वस्तुको माग बढिरहँदा जुन किसिमको अभाव र मूल्यवृद्धि छ, त्यसलाई लक्षित गरेर व्यावसायिक लक्षित कार्ययोजन तयार गरेको छौँ । जसमा १० वटा अनुगमन टोली खटिएका छन् ।’

अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अधिकार प्रत्यायोजन गरिएको र अनुगमन कार्य गर्न कुनै कानुनी उल्झन नरहेको बताए ।

हाल मुलुकभर नौ सयभन्दा बढी सरकारी संयन्त्रहरू बजार अनुगमनमा सक्रिय रहेको भए पनि अपेक्षितरूपमा बजार अनुगमन हुन नसकेको बताए । महानिर्देशक चिलुवालले बजार मूल्यलाई एकरूपता कायम गर्नका लागि विभागले छिट्टै उपभोग्य वस्तुको मूल्य समेत सार्वजनिक गर्ने बताए ।

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले उपभोक्ताको सुविधाका लागि सरकारको निर्देशनबमोजिम विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरिएकाले त्यहाँबाट लाभ लिन आम उपभोक्तालाई आग्रह गरेका छन्  । पछिल्लो समय बजारमा चिनीको अभाव भएको र त्यसबारे सरकारलाई जानकारी गराइएको बताउँदै शीघ्र चिनी आयात गरेर उपभोक्तालाई आभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले प्रचलित कानुनअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन भइरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया