Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाइरसको परीक्षण दरमाथि किन निरन्तर शंका ? –१

कोरोना भाइरसको परीक्षण दरमाथि किन निरन्तर शंका ? –१


केदार सुवेदी
कोरोनाको भयावह अवस्थाको संसारभरको चित्र डरलाग्दो नै छ । कतिपय अवस्थामा त नेपालमा त्यस्तो भयो भने के होला भन्ने सम्झनाले मात्र पनि मन झस्किन्छ । दिनमा कति मान्छे मरिरहेका छन्, कति संक्रमित भए भन्ने विवरण पढिँदा, लेखिँदा र पाठकसम्म पुग्दाको समयमा आनकातान भइसकेका हुन्छन् । त्यसकारण यो ठाउँमा ताजा भनिएका तथ्यांकको पनि उल्लेख भएन ।

सुखद पक्ष हो, नेपाल यति बेलासम्म त्यस्तो अवस्थामा छैन । यी पंक्ति लेखिँदासम्म संक्रमितको संख्या ११० र विस्तार भएको जिल्ला १५ थियो । संक्रमणलाई यो ठाउँमा राखेकोमा सरकारले आफूलाई बारम्बार धन्यवाद दिँदै आएको छ  । तर उसको व्यवस्थापनलाई हेरेर अरुले अर्थात् विज्ञले चाहिँ त्यस्तो सह्राहना नै गर्नुपर्ने काम गरेको मानेका छैनन् । कारण हो परीक्षणमा नेपालको अवस्था नाजुक रहनु ।

सरकारले पाँचौँ पटक लकडाउनको म्याद थप्दाको दिनलाई आधार मान्ने हो भने यो दिन भरपर्दो परीक्षण पीसीआरको संख्या १५ हजार पनि नाघेको थिएन । यो दिन अमेरिकाको ८० लाख बढी थियो । यसको दुई दिन अघिदेखि भारतले दिनको एक लाखको परीक्षण गर्ने भनी लक्ष्य किटान गरेर काम गरिरहेको छ । त्यस दिनयता नेपालमा ४४ वटा मेसिनमध्ये १८ वटा मात्रै चलेका भन्ने समाचार आयो । ती पनि पूरा क्षमतामा होइन । पूरा क्षमतामा चल्दा १२ घण्टामा ७० वटा परीक्षण गर्नेमा चलेकाले पनि १०–१२ वटा मात्रै परीक्षण गरिरहेको भन्ने रिपोर्ट आइरहेका छन् ।

विज्ञहरुका अनुसार त्यसकारण परीक्षण जति कम भयो संक्रमण पनि त्यति नै कम देखिएको भनी आँकलन गरेको हुनुपर्छ जुन अवस्था यदि सत्य हो भने संसारकै जस्तो भयावह नै हुनसक्छ । इटली सात हप्तासम्म बेखबर हुँदा बेहाल, परीक्षणलाई प्राथमिकता दिँदा दक्षिण कोरिया जोगियो, केही हुँदैन भन्दाभन्दै डुबे युरोप र अमेरिका । नेपालमा अहिले जे छ त्यसभन्दा धेरै बढी नहोस् भन्ने कामना गरौं । तर त्यो स्थितिलाई विश्वस्त बनाउनुपर्छ, त्यो भनेको परीक्षणको पर्याप्त संख्या नै हो ।

एकातिर कोरोना भाइरसको डरलाग्दो चित्र छ भन्ने संक्रमित कति हुन् भन्ने संख्याले लेख्दालेख्दै क्षणभरमै आठ/दश हजारको संख्याले बढिसकेको पाइन्छ भने ज्यान गुमाएकाको संख्या पनि त्यस्तै देखिने गरेको छ, रात बिहान नै हजार/दुई हजारले बढिरहेको अवस्था । सञ्चो भएर घर फर्किएकाहरुको संख्या ठूलो भएर पनि मानिसलाई आश्वस्त गर्नसकेको छैन । यो भनेको एउटा भयावह अवस्था नै हो, जो नेपालमा पनि कुन क्षण आइलाग्छ भन्ने त्रास कायमै छ । अझ भन्ने हो भने बढरिहेको छ ।

बितेको करिब चार महिनादेखि (माघ १०) नेपालमा एउटा मात्रै संक्रमित भेटिएको भनिँदा भनिँदै पछिल्ला दुई दिनमा मात्रै त्यसमा दुई/चार हुँदै यो संख्या सय नाघेकोमा गणना हुनथाल्यो । हुँदै जाँदा यही बेला देशभरका अस्पतालबाट जस्ता शंकाहरु प्रकट भएर धमाधम नमूनाहरु आइरहेका छन्, त्यसले कस्तो रुप देखाउला भन्ने अनुमान पनि गर्न नसकिने अवस्था छ । यति हो, पूर्वपश्चिम उत्तरदक्षिण सबैतिर यस्तो आशंकाको विस्तार धेरै नै तीव्र रुपले भइसकेको छ । जताततैबाट नमूना पठाइएका संख्या थुप्रिँदै छन् । धेरै मान्छे सहर छाडेर गाउँ गइएको अवस्थामा त्यसले पनि यो शंका विस्तार गरेको हुनसक्ने मानिएको छ । धेरैको ठम्याइ छ केही पहिलेसम्म सहरमा रहेको शंका गाउँ प्रवेश गरेको छ ।

मलेसियामा पहिले ८/१० जनामा संक्रमित रहेका बेला एउटा प्रार्थना गृहमा एक जनाबाट मात्रै हजारौँमा सरेको विवरण यतिबेला सबैतिर उदाहरण दिने गरिन्छ यो संक्रमण कसरी विस्तार हुन्छ भन्ने सन्दर्भमा । दक्षिण कोरियामा पनि त्यस्तै भएको थियो । पछि चर्चका ती पादरीले माफी नै मागे– आफ्नो कारणले संक्रमण विस्तार भएको भनेर । छिमेकी देश भारतको राजधानी दिल्लीबाट तबलिकी जमातका कारण पूरै भारतभर फैलिएको अवस्था छ जसको चपेटा नेपालसम्म पनि आइपुगेको छ ।

अध्ययनले नै त्यस्तै देखायो । अर्को त्यस्तै पछिल्लो अध्ययनले इटालीमा यो संक्रमणबारे सात हप्तासम्म (पूरै जनवरी र फेब्रुअरीका तीन हप्ता) कुनै पहिचान नै नगरिएका कारणा यस्तो परिणति आएको भन्ने निष्कर्ष प्रस्तुत गरेको छ, जसको भनाइ हो यति लामो समयसम्म संक्रमण विस्तार भइरहँदा पनि त्यसको परीक्षण हुन नपाएकाले यस्तो दुःखद परिस्थितिको कारण बन्यो । दक्षिण कोरियाले परीक्षणलाई प्राथमिकता दिएका कारण पछिल्लो चरणमा यो सबैभन्दा नियन्त्रणमा सफल भएको देशमा गनियो भने परीक्षणलाई कुनै प्राथमिकता नदिँदा अमेरिका समेत संक्रमणको तीव्र रफ्तार भइरहेको देशमा परिणत भयो । जापान त्यही परिणतिमा छ परीक्षणलाई बेवास्ता गर्दा त्यसको परिणाम डरलाग्दो गरी आउनथालेको कारण ।

यस्तो बेला खासगरी संक्रमणको पहिचान गरी निदानका सन्दर्भमा नेपाल कहाँ पर्दै छ भन्ने पश्न उठ्नु स्वाभाविक होला । विश्वभर अहिलेसम्म कोभिड–१९ पहुँच २ सय १३ वटा देशमा फैलिसकेको छ, यसबाट ज्यान गुमाउनेहरुको संख्या लाखमा गणना भइरहेको छ । यही समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अमेरिकामा संक्रमण दर अति तीव्र गतिमा विस्तार भइरहेको छ । यतिबेलाको विवरणअनुसार मृत्यु र संक्रमितको संख्यामा अमेरिका विश्वमै प्रथम भयो ।

अमेरिकापछि इटली, स्पेन, जर्मनी, इरान, फ्रान्स आदि छन् । युरोपमा इटली थियो तर त्यसलाई धेरै गुणाले अमेरिकाले उछिन्यो । कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या इटलीमा तीव्र रुपमा थपिने क्रम जारी छ । यो ठाउँमा पनि लेख्दालेख्दै संख्या थपिने गरेका छन् जसमा ३५ सयको हाराहारीमा पुगेको अवस्था छ । यही मितिमा अर्थात् विश्वको यस्तो तथ्यांकमा मिनेट/मिनेटका दरले मुत्यु र संक्रमणम वृद्धि भएका विवरण आइरहेका नेपालमा एउटा संख्या थपियो र संक्रमितको कुल संख्या तीन पुगेर लामो समयसम्म त्यो ठाउँमा स्थिर रह्यो । त्यसपछि बढ्न थालेकोमा अब यो सयमा पुगेको छ ।

ध्यान दिऔँ संक्रमितको सख्या तीन हुँदा परीक्षणको कुल सख्या पाँच सय थियो । यतिबेला १५ हजारको हाराहारीमा परीक्षण पुग्दा संक्रमितको संख्याले सय नाघेको छ । एउटा अर्को उल्लेख्य विषय हो– यति बेलासम्म यो संक्रमणले नेपालमा एक जनाको पनि ज्यान लिएको अवस्था छैन ।

माथि उल्लेख भएका यी विवरणहरु नेपालका लागि सुखद हुनुपर्छ । चीनमा यो भाइरस उत्पन्न भएर यस्तो वितण्डा बढाइरहँदा नेपाल बढी जोखिममा थियो एउटा छिमेकी देशका नाताले पनि । विश्वसंस्थाले त्यस्तो घोषणा गरेको पनि हो । तर पनि नेपाल यति बेलासम्म यो अवस्थामा रह्यो । यसका कारणहरु खोजिँदै जालान् । त्यस बेला सही बेला सही काम भए/नभएका विवरणहरु आउँदै पनि जालान् जस्तो इटालीमा आफ्नै कमजोरी देखियो, युरोप र अमेरिका सुरुमा वास्तै नगर्नेमा परे । कामना गरौँ, नेपाल यी सबैमा नपरोस् ।

देशलाई विश्वकै महामारीबाट जोगाउन भन्दै त्यसमध्येको एउटा मानिने काम राष्ट्रिय तालाबन्दी गरेको दोस्रो दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेकुमा अहिलेसम्म कोरोनाभाइरसको सात सयवटा नमूना परीक्षण गरेको विवरण सुनाए । कोरोना भाइरसको संक्रमणको शंका लागेकाहरुको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने क्रम बढिरहेकोे पनि उनको भनाइ थियो ।

पछिल्ला दिनमा दैनिक ५ देखि १५ जनासम्मको परीक्षण हुने गरेको र कहिलेकाहीँ भने यो सख्या ५०–६० पनि पुग्ने गरेको प्रयोगशालाको जानकारी दिइयो त्यसबेला । त्यो बेलोसम्म यही झण्डै सात सय जनाको नमूना परीक्षण भएकोमा पछिल्लो दुई समेत गर्दा तीन जनामा संक्रमण पुष्टि भयो । यो हिसाबले सात सयमा तीन जना भेटिएको बुझाउँछ । तर यति लामो समयमा सात सयको यस्तो परीक्षण आफैँमा कस्तो हो भन्ने त त्यस बेला नै प्रश्न उठेको थियो । त्यसबेला जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाइ (देशसञ्चार अनलाइन) यस्तो थियो –

कोरोना भाइरसको संक्रमण देखिएको कसरी थाहा हुन्छ ? यसमा हामीले जिन हेर्छौँ । जिनमा प्रोटिन हुन्छ । त्यही प्रोटिन खोज्ने हो । कोरोना भाइरसका लागि भनेर प्रोटिन बनेको हुन्छ । त्यही प्रोटिन जिनसँग मिल्ने गरी रियजेन्ट बनेको हुन्छ । केही गरी कोरोना भाइरस छ भने त्यो रियजेन्ट जिनको ठाउँमा बस्छ । धेरै पटक मेसिनले त्यसलाई मल्टिप्लाइ गर्छ । र मल्टिप्लाइ गरेपछि मेसिनले त्यसलाई ग्राफमा देखाउँछ । ग्राफ आयो भने कोरोना भाइरस पोजेटिभ र ग्राफ आएन भने कोरोना भाइरस नेगटिभ हुन्छ । परीक्षणका लागि खर्च कति लाग्छ ? प्रयोगशालाको हकमा खर्च ‘भेरियबल’ छ । एकै पटकमा धेरै गर्दा अलि कम खर्च लाग्छ । धेरैको गर्दा तीन/चार हजार रुपैयाँमा पनि हुन सक्छ । थोरै गर्दा अलि बढी खर्च लाग्छ । तर अस्पताल भर्ना भएका शंकास्पद व्यक्तिले भने नमूना परीक्षणका लागि पैसा तिर्नुपर्दैन ।

परीक्षण कति पटक गर्नुपर्छ ? ठ्याक्कै यति भनेर त अहिलेसम्म भनिएको छैन । शंकास्पद व्यक्तिको हामीले अहिलेसम्म एकपटक मात्रै परीक्षण गर्ने गरिरहेका छौँ । त्यस्तै शंकास्पद भयो भनेचाहिँ धेरै पटक पनि परीक्षण गराउन सकिन्छ । कस्ता व्यक्तिको नमूना परीक्षण भइरहेको छ ? लक्षण देखिएका अस्पताल पुग्ने सबै जनाको परीक्षण गर्दैनौँ । जो व्यक्ति विदेशबाट नेपाल आएका छन् र उनीहरु कुनै लक्षण देखापरेको छ वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ भने मात्र कोरोनाको परीक्षण गर्ने गरेका छौँ । तर अहिले भने परीक्षणको दायरा बढाएर अलि धेरैलाई परीक्षण गर्न सुरु गरेका छौँ ।

दैनिक कति नमूना परीक्षण भइरहेका छन् ? फरक–फरक छ । एक दिनमा ५–६ वटादेखि १५ वटासम्म नमूना परीक्षण भइरहेका छन् । आजसम्ममा हामीले ५ सय ७२ वटा नमूना परीक्षण गरिसकेका छौँ । जसमध्ये एक जनामा पोजेटिभ देखिएको छ ।’ (क्रमशः)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x