Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि, पर्यटन र ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई राष्ट्रपतिको आग्रह

कृषि, पर्यटन र ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई राष्ट्रपतिको आग्रह


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा भएको ३७औँ क्यासी सम्मेलनको उद्घाटन गर्दै उनले लगानी गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालमा लगानीका क्षेत्रहरू पनि बढ्दै गएको र लगानी सहजताको लागि कानुन समेत निर्माण भइरहेको उल्लेख गरे । आर्थिक विकासको तीव्र चाहना बोकेको नेपालमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको उनको भनाइ थियो । यस्तै, सम्मेलनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजको बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नका लागि साना र मझौला उद्यमीले आफ्नो ब्राण्ड बढाउन र पुँजीमा पहुँच बढाउन आवश्यक रहेको बताए । यस्तै, व्यावसायिक जोखिम व्यवस्थापन गर्नका लागि सक्षम हुन दिगोपना महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मेलन दिगोपन, उद्यमशीलता र व्यापारमा केन्द्रित रहेको बताए । ‘हाम्रो मुलुकको आर्थिक विकासका प्रमुख स्तम्भ यिनै हुन् । हामी एसिया–प्रशान्त क्षेत्रका लागि अझ समृद्ध भविष्य सिर्जना गर्ने आकांक्षा राख्छौँ’, उनले भने, ‘दुई आर्थिक शक्तिराष्ट्रहरू भारत र चीनको बीचमा अवस्थित नेपालले एसिया प्रशान्त क्षेत्रमा रणनीतिक स्थान ओगटेको छ । यो सम्मेलनले व्यापार सञ्जाल, लगानीका अवसरको खोजी र बहुमूल्य विचार आदानप्रदानका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्नेछ ।’ अध्यक्ष ढकालले नेपालबाट आयातीत जलविद्युत्लाई आफ्नो नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयले भारतको बजारलाई थप वृद्धि गर्ने अपेक्षा गरेको बताए ।

नेपालमा जलविद्युत् प्रचुर मात्रामा रहेकाले यहाँको दिगो आर्थिक विकासका लागि स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्न सक्ने स्थितिमा रहेको उनको भनाइ थियो । नेपालको ऊर्जा क्षेत्रमा लगानी र सहकार्यको सम्भावना खोजी गर्न एसिया प्यासिफिकको निजी क्षेत्रलाई अध्यक्ष ढकालले आग्रह पनि गरे । यस्तै, उनले सगरमाथालगायत विश्वका अग्ला हिमालको भूमि भएकाले नेपालमा एसिया–प्रशान्त क्षेत्रबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिने समेत बताए । विश्वसँग राम्रो ‘कनेक्टिभिटी’ स्थापना गर्न विश्वस्तरीय होटल र विमानस्थललगायत महत्वपूर्ण चार वटा पर्यटन पूर्वाधारमा लगानी भइसकेको र केबलकार, लक्जरी होटल तथा रिसोर्ट, थिम पार्क, हिलस्टेसनलगायत अन्य धेरै क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

एसिया प्यासिफिक उद्योग वाणिज्य महासंघका अध्यक्ष पिटर म्याकमुलिन एएमले उद्यमशीलता र विशेष गरी समावेशी उद्यमशीलताले हाम्रा केही अत्यावश्यक चुनौती समाधान गर्न नयाँ विचार भएका मानिसलाई समर्थन गर्ने बताए । उद्यमीहरूलाई समर्थन गरेर नयाँ प्रविधिहरू समावेश गरी तिनका विविध समूहलाई समर्थनका साथै नवप्रवर्तनलाई फस्टाउनका लागि अनुमति दिन सकिने उनको भनाइ थियो । सम्मेलनमा अस्ट्रेलिया, हङकङ, पाकिस्तान, इरान, साउथ कोरिया, टर्की, सिङ्गापुर, ताइवान, रसिया, फिलिपिन्स, भारतलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया