बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
काठमाडौं । पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो ।
भूकम्प मापन केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिएको राससले जनाएको छ । नेपालमा २०३७ मा ललितपुरको फूलचोकी डाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ । २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरिएका थिए ।
२०७२ सालपछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरेको छ ।
हाल नेपालको झापा, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन् । गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रले मात्र भूकम्प मापन गर्दै आएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने बताए । ‘भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ’, उनले भने ।
नेपाल हिमालय हिमशृङ्लामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरको भूकम्पका बारेमा जानकारी दिने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएको दाबी
- नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच भेटघाट
- उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
- त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया