Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफ्लोर मिल सञ्चालकको कार्टेलिङले मैदा र चोकरको मूल्यवृद्धि

फ्लोर मिल सञ्चालकको कार्टेलिङले मैदा र चोकरको मूल्यवृद्धि


विराटनगर । सुुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित फ्लोर मिल सञ्चालकको कार्टेलिङले मैदा, पिठो र चोकरको मूल्यमा वृद्धि भएको छ ।

गत वर्ष भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भन्दै यहाँका खाद्य उद्योगहरूले उत्पादनमा कार्टेलिङ गरेको घटना सेलाउन नपाउँदै अहिले फेरि भारतमा गहुुँको मूल्यवृद्धि भएको भन्दै कार्टेलिङ सुुरु गरेका छन् । कोरिडोरमा फ्लोर मिल सञ्चालन गर्दै आएका उद्योगीहरूले किलोको ४४ रुपैयाँमा खरिद गरेको गहुँलाई ४९ रुपैयाँ पुगेको बहाना बनाएर गहुुँ, पिठो र चोकरको मूल्य बढाउन कार्टेलिङ सुुरु गरेका हुन् । फ्लोर मिलका सञ्चालकहरू भने भारतबाट आउने गहुँको टुङ्गो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढाउन आफूहरू बाध्य भएको बताउँछन् । तर बिष्कुुट तथा चाउचाउ उत्पादन गर्दै आएका करिडोरका उद्योगीहरू भने यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् । यो सबै फ्लोर मिल सञ्चालन गर्दै आएका केही सीमित उद्योगीहरूले कार्टेलिङ गरी मूल्यवृद्धि गर्ने बहाना मात्र बनाएको उनीहरूको आरोप छ ।

फ्लोर मिल सञ्चालकहरू भने भारत सरकारले नेपालमा ३ लाख मेट्रिक टन गहुँ निकासी गर्ने कोटा स्वीकृत गरे पनि अहिलेसम्म एक लाख टन मात्र पठाएको बताउँछन् । अहिले भारतमै गहुँको माग धेरै भएकाले नेपालमा गहुँको अभाव भएको उनीहरूको दाबी छ । एक फ्लोर मिल सञ्चालकका अनुसार नेपाललाई कोटा दिँदा भारतमा गहुँको मूल्य प्रतिकिलो भारू २३ रहेकोमा अहिले भारू २८ पुगेको छ । फेरि अहिले नेपालकै गहुँको मूल्य वृद्धिले आँटा, मैदा, सुजी र चोकरको भाउ बढ्ने निश्चित भएको उनको भनाइ छ । भारतबाट आयात हुन बाँकी कोटाको गहुँको पनि भाउ बढिसकेकाले गहुँजन्य उत्पादनको मूल्य अझै माथि जाने ती फ्लोर मिल सञ्चालकको दाबी छ । अब फ्लोर मिल सञ्चालकले गहुँको मूल्य किलोमा पाँच रुपैयाँ बढेमा मैदा, आँटा, सुजी र चोकर किलोको १० रुपैयाँ बढाउने बताएका छन् ।

फलोर मिल सञ्चालकहरूले कार्टेलिङ गरी मैदाको मूल्यवृद्धि गर्दा त्यसले गहुँबाट बन्ने सबै उत्पादनको मूल्य १५ देखि २५ प्रतिशतसम्म वृद्धि हुुने बताइएको छ । यदि सरकारले फ्लोर मिल सञ्चालकको कार्टेलिङ समयमा नै ध्वस्त नबनाएमा चरमरूपमा महँगी वृद्धि हुने चाउचाउ, पाउरोटी तथा बिस्कुट उद्योगीहरूको भनाइ छ । तर फ्लोर मिलका सञ्चालकहरूको कार्टेलिङमा सरकार समेत नतमस्तक बनेको उनीहरूको आरोप छ । एकातिर बजारमा देखिएको आर्थिक मन्दीका कारण पलायन हुुन लागेको व्यापार व्यवसायलाई चलायमान बनाउन समेत असक्षम भएको सरकारले अब गहुुँको मूल्य वृद्धि भएको भन्दै मैदा र पिठोमा भएको मूल्यवृद्धि नियन्त्रण नगरे भयावह अवस्था आउने जानकारहरू बताउन थालेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page17

तपाईको प्रतिक्रिया