पानी परेपछि राहत कुर्दै गरेका भूकम्पपीडितलाई थपियो चिन्ता
जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । राससका अनुसार भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज(शनिबार) बिहान पर्न थालेको पानीले थप जोखिम थपेको छ ।
भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए । बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखापरेको बताए । उनले भने, ‘गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन ।’
बारेकोट चिसो ठाउँ हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए । उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ । नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नं.१ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं.८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् । नलगाड वडा नं.८ बारेकोट गाउँपालिकाको वडा नं.८ सँग जोडिएको पालिका हो भने वडा नं.९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो ।
नलगाड वडा नं.८ पालिकामा सबैभन्दा धेरै जनसङ्ख्या भएको क्षेत्र हो । त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताए । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ । भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् ।
आज बिहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन् । भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ । कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताए ।
सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्ने कसैले पनि राहत पाएका छैनन् । राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले गुनासो गरे । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएको दाबी
- नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच भेटघाट
- उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
- त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया