Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं । काठमाडौंलगायत छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं, पर्सा, बारा, उदयपुर, कास्की, अछामलगायत ठाउँमा आगलागीबाट धनमाल नष्ट भएको हो ।

काठमाडौं महानगरपालिका–२८ बागबजारस्थित पाल्पा रैनादेवी गाउँपालिका–४ छहरा घर भएका ३७ वर्षीय देवी प्रसाद पोखरेलको फेमश लुम्बिनी तन्दुरी भोजनालयमा इलेक्ट्रिक जगमा पानी तताउने क्रममा सोमबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, दराजलगायत अन्य सामानहरु जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका–६ प्रसौनी टोल बस्ने शिव बालक राउत कुर्मीको गाई गोठमा लक्ष्मी पूजा गरी बालेको बत्तीबाट आगो सल्कीएर गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठमा रहेका सामानहरू जलेर करिब एक लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी सोही गाउँपालिका–१ बस्ने पारस राउत गद्दीको खेतमा थुप्रो पारी राखेको धानसहितको परालमा सोमबार दिउँसो आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका–१६ गणेशटोलस्थित सोही महानगरपालिका–११ रानीघाट बस्ने बारा पचरौता नगरपालिका–१ घर भएका सोनु साहको कवाडी गोदाममा सोमबार राति आगलागी हुँदा कवाडीहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागीबाट गोदाम नजिकै रहेको सोही ठाउँ बस्ने अब्दुल अजिम अन्सारीको घरको झ्याल र पर्खालको प्लाष्टर जलेर करिब एक लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, सुवर्ण गाउँपालिका–७ सनफुलुवा बस्ने पुनदेव प्रसाद यादवको गहुँ राखेको भकारीमा सोमबार साँझ आगलागी हुँदा करिब ६० मन गहुँ जलेर एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी बारा, कोल्हबी नगरपालिका–११ बेलवा गाउँ बस्ने धर्मेन्द्र अधिकारीको घरमा दियोबाट आगो सल्कीएर सोमबार साँझ आगलागी हुँदा विभिन्न सामान र नगद १५ हजार रूपैयाँ जलेर करिब तीन लाख १७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका–२ चकमके बस्ने बम बहादुर कट्वालको घर छेउमा राखेको परालको टालमा सोमबार दिउँसो आगलागी भई परालको टालसँगै रहेको ग्वाली घर समेतमा आगलागी हुँदा परालको टाल दुई वटा, करिब चार सय केजी मैख, करिब एक सय केजी धान जलेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिरहा, लहान नगरपालिका–७ राम मन्दिर अगाडि सोही नगरपालिका–१९ कट्हा बस्ने सोनेलाल महतोले सञ्चालन गरेको राजेश रेडिमेट कपडा पसलमा बिद्युतको तार सट भई सोमबार राति आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको कपडाहरू जलेर नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपालिका–७ जनप्रिय क्याम्पस नजिक सोही महानगरपालिका–२० भलाम बस्ने फणिन्द्र भण्डारीको फोटो अर्पण स्टेशनरीमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा स्टेशनरी सामाग्रीहरु, कम्प्युटर, क्यामेरालगायत अन्य फर्निचरका सामग्रीहरु जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अछाम, चौरपाटी गाउँपालिका–१ गुईलाणी बस्ने सुरेन्द्र साउदको घरको पूजाकोठामा बालेको मैनबत्तीबाट आगो सल्किएर कोठामा सोमबार राति आगलागी हुँदा नगद चार लाख रुपैयाँ, मोबाइल, विभिन्न कपडालगायतका सामानहरू जलेर करिब पाँच लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा, दमकल र अन्य सुरक्षा निकायको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया