Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यकामा बिहानैदेखि कडा सुरक्षाव्यवस्था, ड्रोनबाट समेत निगरानी

उपत्यकामा बिहानैदेखि कडा सुरक्षाव्यवस्था, ड्रोनबाट समेत निगरानी


काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले आज बिहानैदेखि नाकालगायत स्थानहरुमा कडा सुरक्षाव्यवस्था गरेको छ । ठूलो संख्यामा प्रहरी सडकमा उतारेको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी र ‘ब्याकअप’मा नेपाली सेना तैनाथ छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नाकाहरूमा कुकुरसहित सुरक्षा जाँचमा कडाइ गरेको छ ।

सर्वसाधरणलाई आज ट्राफिक प्रहरीले काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजै(बुधबार) सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको थियो ।

नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको हो । प्रदर्शनमा घुसपैठ र अप्रिय घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार पछिल्ला दुई/तीन दिनयता सवारी साधनमार्फत दैनिक करिब छ सयको हाराहारीमा मानिस उपत्यकामा भित्रिरहेका छन् ।

आज बिहानैदेखि काठमाडौंका चोकचोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ ।

प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट र्याली निकाल्ने जनाएको छ ।

त्यस्तै, युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ । यी जुलुसहरुले रिङगरोड भित्रका विभिन्न रुट प्रयोग गर्ने भएकाले काठमाडौं उपत्यकामा विशेष निगरानी र सतर्कता अपनाइएको छ । जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरेको छ । यसैगरी ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया