Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन आग्रह

भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा बुधबारदेखि सुरु भएको छैटौं लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको बताए ।

‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ’, उनले भने । विमानस्थल सञ्चालनसँगै गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकको आर्कषण केन्द्र बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरूको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ ।’ यस्तै उनले सार्वजनिक निजी साझेदारीमार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा पनि जोड दिए । भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरू रहेको उनको भनाइ छ । यद्यपि, भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवम् घरेलु उत्पादनहरूको प्रवद्र्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

मुलुककै सबैभन्दा धेरै राजस्व संकलन गर्ने भन्सार नाकामध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्ने बताए । रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव निकै फलदायी भएकोे अध्यक्ष मल्लको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया