Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु


काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सुरु गरेको छ । कम्पनीले चीनको ठूलो साङ्घाई सहरमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । काठमाडौं–साङ्घाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने बताए ।

नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्ने उनको विश्वास थियो । उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरू खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत–जावत गरिरहेको जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई–काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए । साङ्घाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसंख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रूपमा पनि कहलिएको छ । यो चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया