भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र
ढोरपाटन । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् ।
पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् । विशेषगरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन् । बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ–गुल्मी शान्तिपुर सडक र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको हरिचौर, मल्म–पाण्डपखानी रमुवा, रणसिंह, भिमगिठे हुँदै प्युठान जोड्ने सडकको काम ठप्प भएका हुन् । सडक निर्माण ठप्प हुँदा स्थानीयवासीलाई सास्तीसँगै समयमै काम नहुँदा बनेका संरचना जीर्ण बन्ने थप लागत बढ्ने जोखिम बनेको छ ।
बजेट अभावमा दुई ठूला आयोजनासहित बागलुङ र पर्वत जोड्ने जैमिनीघाट मोटरेबल पुल, बडिगाड मोटरेबल पुलमा, बोङ्गादोभान पुललगायतका दर्जन बढी आयोजना अलपत्र पर्ने अवस्थामा पुगेका हुन् । बजेट अभावमा खास गरी बहुवर्षे आयोजनाका कामले गति लिन सकेको छैन । दुईवटा निर्वाचन क्षेत्रअन्तर्गतका सडकमा निर्माण कम्पनीले धमाधम काम गरेका थिए । गत आर्थिक वर्ष काम गरेको करोडौँ रकम पाउन नसकेपछि कामदार र मेसिन फिर्तासमेत लगेका छन् । समयमै भुक्तानी नहुँदा आफूहरूले ठूलो नोक्सान व्यहोर्दै आएको निर्माण कम्पनी बताउँछन् ।
निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ–गुल्मी शान्तिपुर सडकको जिम्मा पाएको निर्माण कम्पनी कर्ण विल्डर्सले जिल्लामै सबैभन्दा छिटो काम गरेर आयोजना समयमै सक्ने अवस्थामा पुगेको थियो । तर अहिले काम रोकिएपछि निर्माणाधीन सडकको अवस्था निकै जोखिमयुक्त बनेको छ । तीस महिनाको समय पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ ।
भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको छ । कर्ण विल्डर्सका प्रमुख नवीन गुरुङले गत वर्ष काम गरेको दुई करोड ५० लाख रुपैयाँ अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोड रुपैयाँको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म नौ करोड ५० लाख रुपैयाँभन्दा बढीको काम गरेको उनले बताए ।
‘लामो समय भुक्तानी पाउन सकिएन, भुक्तानी नपाएपछि काम गर्न सक्ने अवस्था आएन, त्यसले गर्दा अहिले काम रोकिएको छ, कामदार र मेसिन पनि अन्तै पठायौँ, म्याद सकिनुभन्दा अगाडि नै काम सक्ने उद्देश्य थियो । काम रफ्तारमा भएको थियो तर भुक्तानी आएन’, गुरुङले भने, ‘अहिले व्यवहार मिलाउन साह्रै गाह्रो भएको छ, यस मितिमा भुक्तानी हुन्छ भन्दाबित्तिकै मैले तत्काल कामदार र मेसिन लगाएर काम थालिहाल्थे, तर भुक्तानी कहिले हुन्छ भन्ने थाहा छैन, समयमै काम नगर्दा हाम्रो पनि लागत बढ्ने, बनाएका ‘बेस’ बिग्रिने हुँदापछि थप समस्या हुन्छ ।’
सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले समयमै भुक्तानी दिन नसक्दा बागलुङमा साना ठूला गरी एकदर्जन बढी आयोजनाको काम रोकिएको बताए । यस वर्ष पनि धेरै कम बजेट आउँदा काम गर्न समस्या हुने उनको भनाइ छ । अघिल्लो वर्ष काम गरेका विभिन्न निर्माण कम्पनीलाई सात करोड ४२ लाख रुपैयाँ बढी रुकम भुक्तानी गर्न बाँकी रहेको अधिकारीले बताए । भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम गर्न लगाउन पनि गाह्रो भएको उनी बताउँछन् । उनी भन्छन्, ‘यस कार्यालयबाट सञ्चालन भएका धेरै आयोजना भुक्तानी नपाउँदा रोकिने अवस्थामा पुगेका छन्, अघिल्लो आर्थिक वर्षकै ठूलो रकम उहाँहरूलाई भुक्तानी गर्न बाँकी छ, यस वर्ष पनि निकै न्यून बजेट आएको छ, निर्माण कम्पनीलाई काम लगाउनै गाह्रो भएको छ, तीनवटा ठूलो आयोजनाको अघिल्लो वर्षकै करोडौँ रकम हामीले भुक्तानी गर्नुपर्ने छ ।’
स्थानीय नेत्रबहादुर केसीले निर्माण कम्पनीले काम नगर्दा स्तरोन्नति गर्नका लागि तयार भएका सडक बिग्रिएर अप्ठ्यारो बनेको बताए । ठेकेदार कम्पनीले पैसा नपाएको भन्दै काम छोडेर गएपछि निर्माण सकिन लागेका आयोजना फेरि पुरानै अवस्थामा पुग्ने स्थिति आएको उनको भनाइ छ । नाली निर्माण, चौडा गर्नेदेखि अन्य संरचना तयार गरेकोमा लामो समयदेखि काम नहुँदा ती सबै भत्किएर काम नलाग्ने भएको बताए । दैनिक दर्जनौँ यातायातका साधन गुड्ने सडकमा गाल्डाखुल्डी र साँघुरो हुँदा आफूहरूले सास्ती भोग्नुपरेको गुनासो गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया