पोर्चुगलसँग पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा जोड दिनेछु: शनिल नेपाल
काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूतमा मनोनयन गरिएका शनिल नेपालको नाम संसदीय सुनवाइ समितिबाट अनुमोदन भएको छ । आज(शुक्रबार)भएको संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापनापश्चात त्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम् प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवद्र्धनमा पनि योगदान पुग्ने धारणा राखे ।
सरकारको पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण रहेको औंल्याउँदै उनले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको संख्या बढीरहेकाले उनीहरुको हकहितको संरक्षण गर्न तथा उनीहरुलाई आवश्यक कन्सुलरलगायतका सेवा सहज रुपमा प्रदान गर्न सकिने बताए । पोर्चुगलको आधिकारिक तथ्यांक अनुसार त्यहाँ झन्डै २५ हजार नेपालीहरुको बसोबास रहेको बताइए पनि वास्तविक संख्या ७० हजारभन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।
दूतावास स्थापनाले त्यहाँ रहेका नेपालीहरुका लागि सहज हुने बताउँदै उनले भने, ‘पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली राजदूतावास पेरिसमा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको राहदानी तथा कन्सुलर सेवाका लागि व्यावहारिक कठिनाइ अब अन्त्य हुनेछ ।’
त्यस्तै, उनले पोर्चुगल यूरोपियन यूनियनको एउटा महत्वपूर्ण सदस्य राष्ट्र भएको र आउँदो सन् २०२६ मा दुबै देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा हुने स्मरण गरे ।
उनले इजरायल नेपालीहरुका लागि कृषि प्रविधि सिक्न असुरक्षित देखिएकाले पोर्चुगल एउटा सुरक्षित गन्तव्य हुन सक्ने बताए । उनले भारतको गोवामा हरेक वर्ष हजारौं पोर्चुगिज नागरिकहरुले भ्रमण गर्ने गरेको बताउँदै उनीहरुलाई त्यहाँ बाट नेपाल ल्याउन नेपाल पर्यटन बोर्डसँग समन्वय गरी ‘समुद्रदेखि सगरमाथा सम्म’ भन्ने कार्यक्रम संचालन गर्न आफूले पहल गर्ने पनि बताए ।
सांसदहरुका प्रश्नको जवाफ दिंदै शनिल नेपालले नेपालबाट उत्पादित वस्तुहरु पोर्चुगल तथा युरोपेली बजारमा बिक्री वितरण गर्न पहल गर्ने, फुटबल खेलको विकासमा पोर्चुगलको सहयोग जुटाउन तथा जलश्रोत, कृषि, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने आफ्नो कार्ययोजना पढेर सुनाएका थिए । बैठकको सभापतित्व सांसद पशुपति शमशेर जबरा तथा ज्ञानेन्द्र बहादुर कार्कीले गरेका थिए ।
यसअघि संसदीय सुनुवाइ समितिसमक्ष परराष्ट्र मन्त्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताए । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या बढिरहेकोले दूतावास आवश्यक रहेको बताए ।
समितिले पोर्चुगलमा राजदूतावास खोल्नुको औचित्य प्रष्ट पार्न मन्त्री साउदलाई समितिमा बोलाएको थियो । मन्त्री साउदको भनाइपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली रहेकोले दूतावास खोल्नु उचित भए पनि सरकारले आर्थिक व्ययभार धान्न सक्छ कि सक्दैन भन्दै प्रश्न गरे । उनले बजेट वक्तव्यमा अर्थमन्त्रीले बजेट छैन भनेर आवश्यक पर्ने सरकारी निकायलाई पैसा नदिएको भन्दै पोर्चुगलमा दूतावास व्यवस्थापनमा समस्या त पर्दैन भन्दै जिज्ञासा राखेका थिए ।
त्यस्तै, सांसद रमेशजंग रायमाझीले पोर्चुगलमा राजदूतावास खोल्दा कति आर्थिक व्ययभार पर्छ भन्दै प्रश्न गरे । उनले हालै कोप २८ सम्मेलनमा भाग लिन दुबई जाँदा नेपाली राजदूतले राम्रो गाडी चढ्ने अवस्था समेत नदेखेकोले दूतावास खोलेपछि व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
सरकारले पोर्चुगलमा पहिलोपटक दूतावास खोलेर राजदूत पठाउन लागेको हो । पोर्चुगलस्थित नेपाली संस्थाहरुले संगठित अन्तरराष्ट्रिय गिरोहले नेपालीहरुसँग ठूलो पैसा लिएर युरोपेली संघमा नरहेका टर्की लगायतका मुलुक हुँदै पोर्चुगल पठाउने गरेको बताउंदै मानव तस्करी तोक्न सरकारले कडा कदम चाल्नुपर्ने माग गर्दै आएका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया