Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहस्तकलाका सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित गर्न आग्रह

हस्तकलाका सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित गर्न आग्रह


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली हस्तकलाका सामग्रीको प्रतिलिपि अधिकार समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् । नेपाली हस्तकलाका सामग्री विभिन्न जातजातिको पुख्र्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भए पनि प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

नेपाल हस्तकला महासंघको आयोजनामा सुरु भएको २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति रहेको बताए । नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि सरकारले हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्नेमा समेत उनले जोड दिए । हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो । यस्तै, उनले सरकारका सम्पूर्ण निकायमा स्वदेशमा उत्पादित वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्तै, हस्तकला क्षेत्र अर्थ व्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको उनले बताए । ‘थोरै पुँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पदार्थ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछिको गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो’, उनले भने, ‘सहजै स्थानीय स्रोतको उपयोग गरी गर्न सक्ने व्यवसाय पनि हो ।’ यति महत्वपूर्ण व्यवसाय भएर पनि युवापुस्तामा हस्तकलाको सीप र प्रविधि हस्तान्तरण हुन नसकेको उनको भनाइ छ । परम्परागत सीप र प्रविधि हस्तान्तरण गर्न आवश्यक कार्यक्रम, तालिम सञ्चालका लागि तीनै तहका सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको उनले बताए ।

यस्तै, उनले नेपाली हस्तकलाको समान निर्यात गर्दा उत्पादन, बजारको माग, वस्तुको डिजाइन, गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, प्रचार, प्रवद्र्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पु¥याउन आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको पहिचानसँग जोडिएको हस्तकला क्षेत्रको विकासमा सरकारले ध्यान दिएको भन्दै उत्पादित सामग्रीको निर्यात सहजीकरण गर्न तत्पर रहेको बताए । हस्तकला क्षेत्रले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारी सिर्जनामा पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले हस्तकला क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न सक्नुपर्ने बताए । विदेशमा रहेका युवालाई स्वदेश फर्काउने तथा स्वदेशमा रहेका युवालाई यही उद्यमशील बनाउन सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलालाई समृद्धिको सम्भावना मान्ने अवधारणा अघि सारिएको उल्लेख गर्दै मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न यस क्षेत्रले ठूलो सहयोग गरेको बताए । हस्तकला क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएको उनको भनाइ छ । हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यका महासंघको आयोजनामा बिहीबारदेखि हस्तकला व्यापार मेला तथा प्रतियोगिता सुरु भएको छ । पुस २ गतेसम्म चल्ने मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० स्टल रहेका छन् । उक्त मेला एक लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा नेपाल, पाकिस्तान, बंगलादेशलगायतका हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया