Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पतालको भवन तोकिएको अवधिमा निर्माण हुन सकेन

महाकाली अस्पतालको भवन तोकिएको अवधिमा निर्माण हुन सकेन


धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ १२
महाकाली अस्पतालको आइसोलेशन भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले म्यादभित्र भवन निर्माण गर्न सकेको छैन । कोरोना भाइरसका बिरामीको उपचारका लागि भन्दै सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महाकाली अस्पतालमा ५० शैयाको आइसोलेशन भवन निर्माण गर्न दिपिन विल्डर्स प्रालिलाई ठेक्का दिएको थियो । गत वैशाख ७ गतेदेखि सुरु गरिएको काम ७ जेठसम्म भवन निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, सम्झौताको म्याद सकिए पनि भवन निर्माणको काम ५० प्रतिशत पनि सम्पन्न भएको छैन ।

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालमा एक करोड लागतमा ५० शैयाको आइसोलेशन भवन निर्माण गर्न बजेट दिएको थियो । गत ७ वैशाखमा महाकाली अस्पताल र निर्माण कम्पनीबीच कुल ९२ लाख, ४३ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुरूप निर्माण कम्पनीले ८ वैशाखदेखि नै निर्माणको काम सुरु गरे पनि ८ जेठसम्म पूरा गर्न नसकेपछि कम्पनी र अस्पतालबीच विवाद देखिएको छ । यसअघि आइसोलेशन भवन निर्माणमा गुणस्तहीन द्वयम इँटा प्रयोग गरिएको भन्दै अस्पतालले भवन निर्माणमा अवरोध गरेको थियो । भवनकै मूल जगमा अब्बल इँटा प्रयोग हुनुपर्नेमा द्वयम इँटा प्रयोग गरिएको भन्दै अस्पताल प्रशासन र व्यवस्थापन समितिले यस्तै इँटा प्रयोग गर्ने भए काम बन्द गर्न कम्पनीसँग भनेका थिए ।

निर्माण कम्पनीले भवन निर्माणको अधुरो काम सम्पन्न गर्नका लागि २० दिनको लागि म्याद थपिदिन निवेदन दिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सम्झौता भएको दोस्रो दिनदेखि नै निर्माण कम्पनीले द्वयम इँटा प्रयोग गरेर निर्माणमा ढिलासुस्ती गरेको बताए । ‘निर्माण कम्पनीले बाँकी काम गर्नका लागि २० दिनको म्याद थप माग गरेको छ,’ अध्यक्ष जोशीले भने, ‘हामीले यस बारेमा गहन छलफल गरेर समाजिक मन्त्रालयको प्राविधिक टोलीलाई पत्राचार गरेको छौँ ।’ म्याद थप्ने वा नथप्ने, हर्जना काट्ने विषयमा छलफल भइरहेको उनले बताए । दिपिन विल्डर्स प्रालिका सञ्चालक दिपिन कार्कीले लकडाउनको कारण निर्माण सामग्री आपूर्तिका समस्या भएकाले केही काम मात्रै बाँकी रहेको बताए । काम गर्दागर्दै सामान आपूर्ति नहुँदा ढिलाइ भएको भन्दै उनले आफू निर्माणको काममा रातदिन लागि परेको बताए । रातिको समयमा इँटा ल्याउदा केही द्वयम आएकाले उक्त इँटा प्रयोग नगरेर अलगै राखिएको उनले बताए । म्यादभित्र काम नगरिए दैनिक पाँच प्रतिशत हर्जना काटिनेछ ।

कैलालीको सेती अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमासँगै निर्माण भएका आइसोलेशन भवन कैलालीमा निर्माण भइसके पनि कञ्चनपुरमा निर्माण नहुँदा निर्माण कम्पनी र अस्पतालको स्थानीयले आलोचना गरिरहेका छन् । अस्पतालको भेन्टिलेटर खरिदमा आपूर्तिकर्ता आरजी कम्पनीले बदमासी गरेर पुराना र खियिएका समान दिएपछिको प्रकरण सेलाउन नपाउँदै आइसोलेशन भवनमा द्वयम इँटा प्रयोगदेखि समयमा निर्माण नभएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय एव सरोकारवालाले कोरोना जस्तो महामारीबाट बाँच्नका लागि आइसोलेशन भवन निर्माणमा भएको ठेक्का शत प्रतिशतमा सदर भए पनि निर्माणमा द्वयम इँटा प्रयोग गर्नु र ढिलासुस्ती हुन निन्दनीय भएको टिप्पणी गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x