सहकारीपीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सहकारीपीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज(सोमबार) आयोजित छलफलमा प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका लागि ठोस कदम चाल्ने गरी उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘सहकारीको समस्या छिटो समाधान नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएका छन् । उनीहरू घर न घाटका भएका छन् । उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस् ।’
त्यस अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैङ्कले गर्ने गरी निर्णय गरेर जानुपर्ने धारणा राखेका थिए । बैठकमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्ने गरी नियमन प्रबन्ध गर्न र निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यावहारिक रूप दिन आवश्यक रहेको बताए । त्यसअघि प्रधानमन्त्री प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्ने गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरेका थिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नका लागि प्रधानमन्त्रीले आजको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । उनले बजेटको मन्त्रालयगत सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरुरी भएको बताउँदै सिलिङ तोक्ने प्रक्रियाबारे नै छुट्टै छलफल आवश्यक भएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘बजेटको सिलिङ तोक्दा अनुमान र हचुवाका भरमा नतोकौं, मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरौँ, उनीहरूको कुरा पनि सुनौँ । यो लोकतान्त्रिक प्रक्रिया पनि हो । कुन स्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे पनि प्रस्ट खाका चाहिन्छ । त्यसका लागि पनि आवश्यक तयारी गर्नुस् ।’ राससले जनाएनुसार प्रधानमन्त्रीले अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पुराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा खास कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई निर्देशन दिए ।
त्यस्तै, अर्थमन्त्री डा.महतले नीति तथा कार्यक्रम र बजेटमा नयाँपन ल्याउने प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको बताउँदै प्रधानमन्त्रीको निर्देशन र सरकारको निर्णयबमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढाउने बताए । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत गर्ने गरी राष्ट्रिय योजना आयोगले नीति तथा कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको बताए ।
मुख्यसचिव डा.अर्यालले प्रस्तावित कार्यतालिका वैज्ञानिक रहेको बताउँदै सोहीअनुरूप कानुनी प्रबन्ध र व्यावहारिक गृहकार्य आवश्यक रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालले प्रस्तावित कार्ययोजना कार्यान्वयनका निम्ति प्रचलित कानुनहरूमा संशोधन आवश्यक भएको बताए ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया