हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार रुपैयाँ लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।
हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान गरिएको हो । जनस्तरमा जागरण जुटाएर आठ सयदेखि पाँच लाख ४० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि व्यक्तिगत रुपमा २८ लाख ६४ हजार नौ सय ९३ र विभिन्न सङ्घ संस्थाबाट ३३ लाख ११ हजार छ सय रुपैयाँ लगानी भएको बताइएको छ ।
सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ । सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको उनको भनाइ छ ।
उनले भने, ‘विशेष दिन पारेर दातालाई सम्मानसँगै सडक स्मारकमा घोडाको प्रतिमा अनावरण गरेका छौं। यसले यहाँको ऐतिहासिकतालाई झल्काउने छ भने यहाँको पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने हामीले अपेक्षा लिएका छौँ । सडक विस्तारमा सहयोग गर्ने दाताको योगदानको पनि कदर हुनेछ ।’ कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालीन समितिलाई प्रशंसापत्रसमेत हस्तान्तरण गरिएको अध्यक्ष राईको भनाइ छ ।
सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालीन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट डोजर तारिएको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । ‘विकासका निमित्त जनस्तरबाट गरिएको यो साहसिक काम हो । त्यो समयबाट हाम्रो क्षेत्रमा सडक विस्तारको थालनी भएको हो । सुरुको चरणमा नागरिकस्तरबाट खेलिएको भूमिकाको कदर गर्नको लागि उहाँहरुलाई सम्मान गरेका हौँ ।’
गाउँपालिकाले सम्मानपत्रसँगै यो काममा योगदान पुर्याउने दाताको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उनको भनाइ छ । उनले भने, ‘स्थानीय नागरिकले आफ्नो ठाउँको विकासमा आफैँले पनि भूमिका खेल्न आवश्यक छ । तत्कालीन समयमा स्थानीयले जनस्तरबाट खेलेको भूमिका प्रशंसायोग्य छ । नागरिकले खेलेको भूमिकाको सम्मानस्वरुप उहाँहरुलाई सम्मान गरेका हौँ ।’
ग्रामीण सडक विस्तारसम्म नभएको अवस्थामा यहाँ सडक विस्तारको लागि अरुण नदीबाट पहिलोपटक ‘स्काभेटर’ तारिएको थियो । त्यो समयमा जनस्तरबाट गरिएको कामले भौगोलिकरुपमा निकै विकट मानिने दक्षिणी क्षेत्रमा सडक खनिएको थियो ।
स्थानीयले करिब ६१ लाख ७६ हजार रुपैयाँ जम्मा गरेर २०६० सालमा धनकुटा मुगा–सुन बालुवा–होम्ताङ–घोडेटार सडक विस्तार गरेका थिए । राससले जनाएनुसार जनस्तरबाट सङ्कलन भएको रकमबाट भोजपुर क्षेत्रमा १९ किलोमिटर सडक खनिएको हो । स्थानीयबाट आफ्नो क्षमताअनुसारको सङ्कलन गरेर सडक निर्माण गरिएको तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यानबहादुर राउतले बताए ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया