Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरी महानिरीक्षकबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्घाटन

प्रहरी महानिरीक्षकबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्घाटन


काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोल महासचिवालयद्वारा संचालित इन्टरपोल प्रोजेक्ट सोटेरिया परियोजना अन्तर्गतका दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्घाटन गरेका छन् । दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुनसक्ने यौनजन्य दुव्र्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गतको सोटेरिया अप्रेश्नल ट्रेनिङ फर बोर्डर म्यानेजमेन्ट अफिसियलस् विषयक र इन्टरपोल पुलिसिङ्ग क्यापबिलिटीज् प्रोग्राम विषयक प्रशिक्षण कार्यक्रमको प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज(मंगलबार) आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा महानिरीक्षक कुँवरले प्रशिक्षणले इन्टरपोल उपकरण र प्रणालीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सहभागीहरूलाई सीप, ज्ञान प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय प्रहरी सहयोग र विभिन्न अपराध परिदृश्यहरूमा इन्टरपोल उपकरणहरूको जागरूकता बढाउने बिषयलाई सम्बोधन गर्ने उल्लेख गरे । सीमा व्यवस्थापन अधिकारीहरूको लागि संचालित प्रशिक्षणले आपराधिक गतिविधिहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सीमा व्यवस्थापन क्षमतालाई बलियो बनाएर अन्तर्राष्ट्रिय अपराधहरूविरुद्ध लड्ने प्रतिबद्धतालाई अझ जोड दिने उनले उल्लेख गरे ।

उनले विश्वले यौन उत्पीडन र दुव्र्यवहारसँग सम्बन्धित कठिनाइहरूको सामना गरिरहेको अवस्थामा विपन्न र कमजोर व्यक्तिहरूको हित, मर्यादा र सम्मानको रक्षा गर्न परियोजनाले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । प्रशिक्षणबाट प्राप्त ज्ञान सिप सहभागीहरुको कार्य क्षेत्रमा लाभदायक हुने र अधिक सुरक्षित विश्वव्यापी समुदाय निर्माण गर्न सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा इन्टरपोल प्रोजेक्ट सोटेरियाका क्रिमिनल इन्टेलिजेन्स अफिसर फ्रेजर वाल्ड्रोनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दुबै प्रशिक्षणहरूका प्रशिक्षकको रुपमा उक्त प्रोजेक्टअन्तर्गतबाट पाँच जना अधिकारीहरुको उपस्थिति थियो ।

उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन हुने सोटेरिया अप्रेश्नल ट्रेनिङ फर बोर्डर म्यानेजमेन्ट अफिसियलस् विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरु र अध्यागमन विभागका सात जना अधिकृतहरु गरी २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन हुने इन्टरपोल पुलिसिङ्ग क्यापबिलिटीज् प्रोग्राम विषयक प्रशिक्षणमा नेपाल प्रहरीका २० जना अधिकृतहरुको सहभागिता रहको छ । प्रशिक्षण माघ २ देखि ५ गतेसम्म संचालन हुने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया