Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोरखामा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

गोरखामा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण


गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको हो ।

लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको उनले बताए । उनले भने, ‘गाउँपालिकामा वडा नम्बर ७ लापुबाट अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न थालिएको छ । पालिकाभित्रका सबै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्रमश: निस्सा वितरण गर्दै जानेछौँ ।’

अध्यक्ष गुरुङले प्रारम्भिक चरणमा लापुमा रहेका १२ घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिएको बताए । उनले भने, ‘प्रक्रिया पुगेकालाई निस्सा वितरण गरिएको छ । अब जग्गा नापजाँच लगायतका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ ।’ राससले जनाएनुसार निवेदन परेकामध्येबाट वास्तविक अव्यवस्थित बसोबासीको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाई छ ।

लालपुर्जा पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा पाएसँगै अब छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने जनाउँदै खुसी भएका छन् । आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायतका बिभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै, भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया