Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगत ६ महिनामा ट्राफिक कारवाहीबाट साढे ७९ करोडबढी राजश्व संकलन

गत ६ महिनामा ट्राफिक कारवाहीबाट साढे ७९ करोडबढी राजश्व संकलन


काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रूपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारवाही गरी उक्त राजश्व संकलन गरिएको हो ।

उक्त राजश्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार नौ सय ४३, मधेश प्रदेशबाट १० करोड पाँच लाख ५८ हजार नौ सय एक, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रूपैयाँ संकलन भएको हो ।

यसैगरी, ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय, बस/मिनिबसबाट नौ करोड २० लाख पाँच सय, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार आठ सय छ, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार पाँच सय ४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय रूपैयाँ राजश्व संकलन भएको हो । राजश्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत उक्त रकम राजश्व संकलन गरिएको हो ।

सो अवधिमा कारवाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर एक लाख ७० हजार आठ सय ४२ वटा, बस/मिनिबस एक लाख नौ हजार तीन ७७ वटा, कार/जिप/भ्यान दुई लाख ६१ हजार छ सय ३६ वटा, ट्याक्टर ४१ हजार छ सय ४१ वटा, मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार चार सय ६१ वटा रहेका छन् । कारवाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको तथ्याङ्कले देखाउँछ ।

प्रचलित कानून तथा संगठनिक नीति अनुरूप प्रहरीले सरोकारवाला निकाय सँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान संचालन गर्दै आइरहेको छ । साथै, दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालकहरू फेला पर्ने गरेका छन् । सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही तथा जरिवानाबाट राजश्व संकलन हुने गर्छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “प्रहरीले जरिवाना मात्र गर्दैन । सकभर कारवाही नहोस् भन्ने चाहन्छ । यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं । सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ ।”

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूर अनुसार पाँच सय रूपैयाँदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था रहेको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “कानून कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौं । सडक सुरक्षालाई प्राथमिकतामा राखेका छौं । प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौं । नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलिलगायतका कार्यहरूबाट समेत राजश्व संकलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया