Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्री नेम्वाङ्ग द्वारा होल्डिङ्ग सेन्टर निरीक्षण

मन्त्री नेम्वाङ्ग द्वारा होल्डिङ्ग सेन्टर निरीक्षण


काठमाडौं, जेठ २१
भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले होल्डिङ्ग सेन्टरको निरीक्षण गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सँग समन्वय गर्ने समेत जिम्मेवारीमा रहेका नेम्वाङ्गले मंगलबार प्रदेश नं. १ र प्रदेश नं. २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ्ग सेन्टर निरीक्षण गरेका हुन् ।
होल्डिङ्ग सेन्टर निरीक्षणपछि डीसीसीएमसी भक्तपुरले आयोजना गरेको होल्डिङ्ग सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङ्गले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनीकरण गर्न सकिने बताए । उनले भने, ‘हामीले गरेका तयारीहरु ठीक छन् यसलाई सही ढंगले कार्यान्वयन गरियो भने कोरोना संक्रमण न्यूनीकरण गर्न सकिन्छ ।’

मन्त्री नेम्वाङ्गले होल्डिङ्ग सेन्टरमा आवश्यक प्रक्रियाहरु पूरा गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा नागरिकहरुलाई सहजता साथ सम्बन्धित क्वारेन्टाइनसम्म पु-याइने बताए । उनले महामारीविरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्बन्धित कर्मचारी र स्वयंसेवकहरुलाई उच्च मनोबलसाथ काम गर्न आग्रह गरे । जिल्ला सीसीएमसी भक्तपुर र नेपाली सेनाले प्रदेश नं. १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश नं. २ का लागि मध्यपुर ठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ्ग सेन्टरको रुपमा व्यवस्थापन गरेका छन् ।

दुवै होल्डिङ्ग सेन्टर एक÷एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । कार्यक्रममा प्रमुख सेनानी शिवप्रसाद पौडेलले होल्डिङ्ग सेन्टरको सञ्चालन, व्यवस्थापन तयारीका योजनाहरु बिफ्रिङ गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखेर आवश्यक प्रक्रिया पु-याई क्वारेन्टाइन पठाउने सरकारको तयारी छ ।

विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ्ग सेन्टरमा लगिनेछ । त्यहाँ उनीहरुको पालिकागत विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ । ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ ।होल्डिङ्ग सेन्टरबाट होटल क्वारेन्टिनमा बस्न चाहनेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नेलाई सम्बन्धित जिल्ला सदरमुकामसम्म पु-याइनेछ । यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टाइनमा राख्नुपर्नेछ । स्थानीयतहको क्वारेन्टाइनमा बस्नेलाई खानालगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x