Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको पछिल्लो समयमा इन्टरनेटको माग घट्दो

लकडाउनको पछिल्लो समयमा इन्टरनेटको माग घट्दो


पोसकान्त पोखरेल
बुटवल, जेठ २२
घरको कुनामा बसेर विश्वको गतिविधि नियाल्न सकिने इन्टरनेट सेवा पछिल्लो समयमा दिनप्रतिदिन बढ्दै गएको छ । विभिन्न जानकारीमूलक कुराहरु हासिल गर्न र नयाँ–नयाँ कुराहरु जान्नुको साथै मनोरञ्जनात्मक सामग्रीलगायत धेरै कुराहरुको भण्डारण सहजै खोज्न र हेर्न सकिने हुँदा दिनप्रतिदिन यसको माग बढ्दै गएको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि चैत ११ गतेदेखि सरकारद्वारा गरिएकोे लकडाउनको सुरुवाती चरणमा बढ्दो इन्टरनेटको माग पछिल्लो समयमा घट्दै जान थालेको इन्टरनेट सेवाप्रदायक कम्पनीका अधिकारीहरु बताउँछन् । अधिकारीहरुका अनुसार सुरुमा ह्वात्तै थेग्न पनि हम्मे हुने गरी भएको खपत र माग पछिल्लो समयमा तुलनात्मक रुपमा वृद्धि हुनसकेको छैन । जसको प्रमुख कारण भनेको आर्थिक बचत तथा अभाव पनि हुनसक्छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु भैरहवा शाखाका शाखा प्रबन्धक रवि कार्कीका अनुसार लकडाउनको सुरुको अवस्थाभन्दा तुलनात्मक रुपले खपत र माग दुवै बढ्नसकेको छैन । सामान्य रुपमा घट्दो क्रम छ । त्यसमा आर्थिक सम्बन्धित कुराहरु प्रमुख कारण हुनसक्छन् । प्रबन्धक कार्कीले सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै अनलाइन भुक्तानीको व्यवस्था मिलाएको बताउँदै अनलाइन भुक्तानी गर्न असम्भव सेवाग्राहीलाई न्यूनतम कर्मचारीहरुबाट कार्यालय खोली कार्यालयबाट भुक्तानी बुझ्ने गरेको बताए । उनले कार्यालयमा आउन पनि असम्भव हुने र अनलाइन भुक्तानीमा पनि असम्भव हुने सेवाग्राहीको भुक्तानी घरमै गएर बुझ्ने व्यवस्था मिलाएको बताए ।

त्यस्तै भायनेट कम्युनिकेसन प्रालि बुटवलका शाखा प्रबन्धक सुरेन्द्र जिसीका अनुसार लकडाउन पहिलाको सामान्य अवस्थाको मागको तुलनामा इन्टरनेटको माग बढ्दो अवस्थामा रहे पनि लकडाउनको सुरुको समयभन्दा पछिल्लो समयमा तुलनात्मक रुपले वृद्धि हुनसकेको छैन । जिसीले उद्योग, कलकारखाना, व्यापार, व्यवसाय अधिकांश क्षेत्रहरु बन्द हुँदा कर्मथलो छोडेर जन्मथलो जानेहरुको संख्यात्मक अवस्था विगतभन्दा बढेकोले नवीकरण गर्ने सेवाग्राही सामान्य रुपमा घट्दै गएको बताए । भाइरस संक्रमण नियन्त्रणमा सरकारले तोकेको मापदण्डअनुसार न्यूनतम अत्यावश्यक कर्मचारीहरुबाट सेवा प्रवाह गरेको बताउँदै जिसीले इन्टरनेट सेवामा कुनै समस्या र गुनासो भए सेवाग्राहीलाई संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्पर्क गर्न आग्रह गरे ।

त्यस्तै क्लासिक टेक इन्टरनेट सेवाप्रदायक कम्पनीका क्षेत्रीय प्रमुख सन्दिप पौडेलका अनुसार लकडाउनको पछिल्लो समयमा इन्टरनेटको माग सुरुको अवस्थाभन्दा कम छ । पौडेलले इन्टरनेटको माग लकडाउनको सुरुको अवस्थाभन्दा कम हुनुमा सर्वसाधारणहरुले खर्च कटौती गरी जति सक्दो पैसाको बचत गर्न थालेको बताए । सर्वसाधारणहरुमा सुरुको अवस्थामा लकडाउन थोरै समयसम्म हुने बुझाइ भए पनि लकडाउन लम्बिँदै जाँदा सस्ता–सस्ता प्याकेजहरु खोज्नु र शैक्षिक संस्थाहरुले चलाएका अनलाइन कक्षाहरु प्रभावकारी नहुनु आधारभूत कारणहरु हुनसक्ने पौडेलको बुझाइ छ ।

त्यसैगरी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड बुटवलका शाखा प्रबन्धक दिपेन्द्र कार्कीले सुरुको अवस्थामा जस्तो तुलनात्मक रुपमा चाहना र माग बढ्दो नभए पनि निराशाजनक अवस्था नरहेको बताए । उनले सहरी क्षेत्रहरुबाट धेरै मानिसहरु ग्रामीण क्षेत्रमा गएको र धेरै कार्यालयहरु आंशिक र कम समय चल्दा संस्थागतभन्दा व्यक्तिगत सेवा लिनेहरुको संख्या अत्यधिक भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x