Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव


काठमाडौं, जेठ २२
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लकडाउन खुकुलो पार्न सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ । लकडाउन लम्बिँदै जाँदा सामाजिक जीवनमा झन् समस्या भएको कारण यसको मोडालिटी परिवर्तन गर्न विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले क्वारेन्टाइनको अवस्थामा सुधार गर्न र परीक्षणलाई तीव्र पार्न प्रधानमन्त्रीलाई भनेका थिए ।

उक्त छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं डा. समीरमणि दीक्षित, अरुणा उप्रेती, स्वर्णिम वाग्ले, महेश मास्केलगायत विज्ञहरु सहभागी थिए । प्रधानमन्त्री ओलीले २५ जना विज्ञसँग गरेको छलफल करिब ४ घण्टा चलेको थियो । सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना संक्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनमा उपचार र सचेतनाका लागि अपनाउनुपर्ने थप रणनीतिका विषयमा पनि विज्ञले सुझाव दिएको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x