कोरोनाविरुद्ध अपनाइएको ‘मोडेल’ नै गलत भयो कि ?
काठमाडौं,जेठ २३
कोरोना भाइरसविरुद्ध नेपालले अपनाएको रोकथामको मोडेल गलत भयो कि भन्ने यतिखेर जताततै प्रश्न उठिरहेको छ । यसका केही संकेतहरु प्रकट भइरहेका छन् । लकडाउनका दिनसँगै कोरोना महाप्रकोपको विस्तार त्योभन्दा तीव्र हुँदै गएको छ ।
कोरोनाबाट मृत्यु हुनेभन्दा क्वारेन्टाइनमा बसेका तर परीक्षण हुन नपाएकाहरुको मृत्यु बढिरहेको छ । विज्ञहरुका अनुसार क्वारेन्टाइनको बास सरकारी रेखदेखको स्थान हो । यो विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत बनाउन पाइँदैन ।
त्यो मापदण्डमा उपचारको व्यवस्था गरिएको छ । तर नेपालका क्वारेन्टाइनमा जेठ २२ सम्ममा १० जनाको मृत्यु उपचारविनै भइसकेको छ । कोरोनाबाट जोगाउन खोज्दा कोरोनाले मृत्यु हुने संख्या कोरोना लागेरभन्दा बढी भइसकेको छ । कोरोनाले मारिएका भनिएकामा पनि दुई तिहाइको संख्या मृत्युपछि कोरोना पुष्टि भएका हुन् । यसको अर्थ मृतकहरुमा कोरोनाको भाइरसले प्रवेश गरेको त हो तर त्यसको उपचार नभएको भन्ने नै हो ।
उपचार भएकामा पनि भाइरसअनुसारको नभएको अहिलेको स्थिति र तथ्यांकले देखाउँछ । कोरोनाले मृत्यु भएका भनिएका पहिला दुई जनाको मृत्युलाई नै उदाहरण मान्ने हो भने तिनको जीवनरक्षाका लागि राज्य कहाँनेर उपस्थित भयो भन्ने प्रश्न खडा हुन्छ । त्यसको तीन हप्ताको समय अन्तरमा क्वारेन्टाइनमा बसेको बेला एक महिलाको मृत्यु भयो । पहिला दुई जना, नेपालगञ्ज र सिन्धुपाल्चोकमा भएको मृत्यु अनुसन्धान हुनुपर्ने थिए तर भएनन् । रिपोर्टमा आएअनुसार ती दुई जनाको मुत्युको कारण कोरोना संक्रमण होइन । संक्रमण हुनेबित्तिकै कोही मरिहाल्दैन । उनीहरूलाई अस्पताल पु¥याइएन । त्यसपछि क्वारेन्टाइनमा मृत्यु भएकाहरु सबैको अवस्था उस्तै हो । आरोपजस्तो लाग्छ भने अध्ययन होस् ।
ती घटनामा सार्वजनिक भएका विवरणले पनि यही कुरा बताउँछन् । धेरैतिरबाट धेरैले प्रश्न गरेका छन्– नेपालगञ्जका २६ वर्षीय युवालाई झाडावान्ता चलेको थियो । उनलाई अस्पताल पु¥याएर सलाइन पानी मात्र चढाउन सकेको भए उनी बाँच्थे कि ? सिन्धुपाल्चोककी सुत्केरी युवतीलाई श्वास फेर्न गाह्रो भएको थियो । अस्पताल पु¥याएर सामान्य रूपमा अक्सिजन दिनसकेको भए पनि उनी बाँच्थिन् कि ? वा, धुलिखेल अस्पताल पु¥याएर भेन्टिलेटरमा राख्न सकेको भए बाँच्थिन् कि ? क्वारेन्टिनमा बसेका युवा ज्वरो, झाडावान्ताले थलिन्छन्, मरेँ–मरेँ, पानी–पानी भन्दै छट्पटिन्छन् ।
उनलाई पानी दिने, सलाइन चढाउने वा अस्पताल लैजाने व्यवस्था हुँदैन । केही मिनेटमा अस्पताल पु¥याउन सकिने ठाउँ छ तर अस्पताल लैजाने व्यवस्था गरिएन । उनीहरु छट्पटिएरै मर्छन् । करिब करिब सबैको मृत्यु यसरी नै भएको छ । क्वारेन्टाइनमा बसेका तर कोरोना नदेखिएका र देखिएका गरी २० जनाको मृत्यु करिब करिब यस्तै प्रकारका छन् ।
कोरोना लागेर भन्दा कोरोना नलागेर क्वारेन्टाइन सेन्टरमा मरेकाहरु झनै गम्भीर हो । क्वारेन्टाइन सेन्टरमा चौबीसै घण्टा एम्बुलेन्स रहने कार्यविधिमा व्यवस्था छ । त्यसको उल्लंघन भयो । नेपालगञ्जमा ती युवा मृत्युको मुखमा चार÷पाँच घण्टा छट्पटिँदा एम्बुलेन्स आएन । यसको अर्को दुःखद पक्ष राज्यले यसको खोजीनीति पनि गरेन । त्यसकारण प्रश्न उठेको हो नेपालले अपनाएको मोडेल नै ठीक भएन कि भन्ने कुरा । आफ्ना नागरिकको यस्तो एक प्रकारले अकालझैँ देखिनेखालको मृत्युकबारे राज्यले त्यसपछि अहिलेसम्म कतै छानबिन गरेको छैन ।
कोरोना महामारीका सन्दर्भमा नेपालले यतिबेला अपनाएको यो मोडल के अनुकरणीय छ ? उत्तर हुन्छ छैन । तर कतिपय देशका मोडल भने संसारभरकै लागि अनुकरणीय छन् । नेपालमा पनि त्यही मोडेल लागू भए हुने थियो कि भन्नेहरु छन् । नेपालमा कोरोना भाइरस आफैं उडेर आइपुगेको होइन, यो सत्यलाई सबैले सधैँ मान्नुपर्छ । पहिले हवाइमार्गबाट आउने यात्रु यसका वाहक थिए । हवाइ सेवा बन्द भएको साढे दुई महिना भयो । त्यसकारण त्यो बाटोबाट कोरोना आएको होइन भन्ने विश्वास गर्नुपर्छ । अर्को भारतसँगको सीमाबाट स्थलमार्ग हुँदै आएका यात्रुभित्र छिरेर भाइरस नेपाल आएको भन्नेमा शंका छैन । त्यसकारण त्यसको नियन्त्रणको उपाय पनि त्यहीअनुसार हुनुपर्छ । तर त्यस्तो भएको छ त ? प्रधानमन्त्रीकै भनाइमा भारतसँगको लामो सिमानाले यो सम्भव भएन । यो स्वाभाविक होला तर सही तरिकाले अभ्यास गरियो भने त्यस्तो सीमाले कुनै असर पार्दैन भन्ने उदाहरण छन् ।
तर विडम्बना हामीले त्यो मोडेल नै अवलम्बन गरेका छैनौँ । खासगरी नेपालमा कोरोनाविरुद्धको अभियानका लकडाउन गरेयताका दिनमा प्रधानमन्त्रीको पटक–पटक एउटै भनाइ छ– ठूला देशले त केही गर्न सकेनन्, हामीले के गर्नसक्छौं ? प्रधानमनत्रीको यो भनाइ अमेरिका, बेलायततर्फ इंगित छ । तर सत्य के हो भने नेपालभन्दा साना देशले छिटो र प्रभावकारी रुपमा कोरोना रोक्न सफल भएका छन् । त्यसकारण तिनले अवलम्बन गरको मोडेल हेर्न र आवश्यक परे अवलम्बन पनि गर्न सकिन्छ । तर नेपालको नेतृत्वले अन्यत्र के गरेर यो महामारीलाई रोकियो भन्ने हेर्न र्नै चाहेन ।
नेपालमा यो नफैलिउन्जेल आफूले रोकेको भन्ने र फैलिन थालेपछि अरुलाई दोष दिने काम भयो । यही जेठ २ मा सरकारले नीति र कार्यक्रममा कोरोनाबाट सबैको जीवन जोगाउन सफल भयौं भनेको थियो । त्यसको तीन दिनमा तीन जनाको ज्यान गएपछि प्रधानमन्त्रीले नै भने– नेपालमा अन्यत्रको भन्दा कडा खालको भारतीय कोरोना प्रवेश गरेर अप्ठ्यारो परेको छ । तर अवस्थाचाहिँ भारतको कोरोनाभन्दा नेपालको व्यवस्थापन चुकेको यो स्थितिबाट आएको हो ।
नेपालभन्दा साना मुलुकले कसरी यसको व्यवस्थापन गरेका छन् भन्ने विभिन्न माध्यमहरुमा निरन्तर रिपोर्ट भइरहेका छन् । त्यसबाट सरकारले सिक्नुपर्ने हो । न्युजिल्याण्ड संसारमै धेरै ठूलो देश होइन । महिला नेतृत्व रहेको यो देश कोरोना रोकथामका लागि संसारै नमूना मानिएको छ । न्युजिल्याण्डमा गएको २८ फेबु्रअरीमा पहिलो संक्रमित भेटिएका थिए । यो नेपालभन्दा पछिको कुरा हो । तयारी कस्तो भने यसको २५ दिनअघि अर्थात्, ३ फेब्रुअरीदेखि नै सरकारले चीनबाट आउने यात्रीलाई रोक लगाएको थियो । यस्तोमा न्युजिल्याण्डका नागरिकलाई मात्र छुट दिइएको थियो । जब संक्रमितको संख्या १ सय नाघ्यो, तब २१ मार्चमा सरकारले सावधानी अपनाउन भन्दै लेभल–२ (सावधानी अपनाउन अवलम्बन गरिने पहिलोचरण) राखियो । २३ मार्चमा लेभल–३ लगाइयो र जब संक्रमित २ सयभन्दा बढी भए तब २५ मार्चमा लेभल–४ अर्थात् लकडाउन गरियो ।
न्युजिल्याण्डमा कुनै व्यक्तिमा कोरोना पुष्टि भएको ४८ घण्टाभित्रै उसको कन्ट्याक्ट ट्रेसिङ गरिन्थ्यो । अर्थात्, कुनै व्यक्तिमा कोरोना पुष्टि हुनासाथ अघिल्ला दिनमा भेटेका सबै मानिसलाई सावधान रहन भनिन्थ्यो र परीक्षण नहुँदासम्म ‘होम क्वारेन्टाइन’मा रहने सल्लाह दिइन्थ्यो । यहाँ ५ हप्तापछि अर्थात् २८ अप्रिलदेखि लकडाउनलाई लेभल–३ मा झारियो । त्यसपछि सबै पसल र व्यवसाय खुलाइयो ।
अर्को, गणतन्त्र आइसल्याण्ड उत्तर युरोपमा अवस्थित सानो टापु हो । यहाँको जनसंख्या ६ लाख ६४ हजार छ । ५ मेसम्म आइसल्याण्डको सरकारले कुल जनसंख्याको १३.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गरेको थियो । आइसल्याण्डमा कोरोनाको पहिलो संक्रमित २८ फेब्रअरीमा भेटिएका थिए । तर, जनवरीको अन्तिम साताबाटै आइसल्याण्डमा बाहिरबाट आउनेहरूलाई हस्पिटल लगेर परीक्षण गर्न थालिएको थियो जुन बेला विश्वका धेरैजसो देशले एयरपोर्टमा मात्र स्क्रिनिङ गरी यात्रुलाई छाडिरहेका थिए । फेब्रुअरीको सुरुवातदेखि नै यहाँ सामाजिक दूरी र हात धुनेजस्तो सावधानी अपनाउन मिडिया क्याम्पेन सुरू गरिएको थियो । ५ मेसम्म आइसल्याण्डले आफ्ना १३ प्रतिशतभन्दा बढी मानिसको कोरोना परीक्षण गरिसकेको थियो ।
लक्षण नभएका मानिसमा यस्तो परीक्षण गरिएको थियो । तर, अरु देशबाट स्वदेश फर्किरहेकाहरूबाट कोरोना भित्रिइरहेको थियो । यीमध्ये ०.६ प्रतिशत यस्तो केस थियो, जसमा कोरोनाको कुनै लक्षण नै थिएन । त्यसैले भाइरसको ‘हट स्पट’ मानिएका देशबाट आएका मानिसलाई आइसोलेसनमा राखिएको थियो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि आइसल्याण्डले लकडाउनको सहारा लिएन । यद्यपि, हाइस्कुल, हेयर सैलुन र अत्यावश्यकबाहेकका व्यावसायिक क्षेत्रलाई १५ मार्चदेखि बन्द गरियो । यी क्षेत्र ६ हप्तासम्म बन्द गरिए पनि ४ मेदेखि खुलाइयो ।
नोवल कोरोना भाइरसको महामारी रोकथामका लागि अपनाइएका मोडेलमा दक्षिण कोरिया, ताइवान, हङकङ र भियतनाम पर्छन् । भियतनाम चीनसँग लामो सीमा जोडिएको र चीनबाट हरेक वर्ष दशौं लाख पर्यटकको आगमन हुने देशमा पर्छ । ९ करोड ७० लाख जनसंख्या भएको यस मुलुकमा कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनुपरेको छैन । रिपोर्टमा आएअनुसार गएको हप्तासम्म केवल ३ सय २८ जनामा कोरोना संक्रमण फेला परेको छ ।
नेपालले भारतसँगको लामो सीमा झेलेजस्तै भियतनाम पनि समान अवस्थामा छ । तर महामारीचाहिँ नियन्त्रणमा नै रह्यो, यो कसरी सम्भव भयो भन्ने हेरे हुन्छ । तीन सातासम्मको राष्ट्रव्यापी लकडाउनपछि भियतनामले सामाजिक दूरीको नियम अप्रिलको अन्त्यमा खुकुलो ग¥यो । यहाँ पछिल्लो ४० भन्दा धेरै दिनदेखि स्थानीयस्तरमा संक्रमण भेटिएको छैन । उद्योग र विद्यालयहरु फेरि खुलिसकेका छन् र विस्तारै जनजीवन सामान्य हुँदै छ ।
माध्यमहरुमा आएका रिपोर्टअनुसार देशमा पहिलो संक्रमितको पहिचान हुनुभन्दा केही साताअघि नै भियतनामले कोरोना भाइरस महामारीविरुद्ध तयारी थालिसकेको थियो । फेब्रुअरी १ मा देशमा कोरोनाका केवल ६ संक्रमित भेटिएका बेला भियतनामले राष्ट्रिय महामारी घोषणा ग¥यो, भियतनाम र चीनबीचका सबै उडान रद्द गरियो, अर्को दिन चिनियाँ नागरिकको भिसा स्थगित गरियो । चीनबाट दक्षिण कोरिया, इरान र इटलीमा कोरोना भाइरस फैलिएसँगै एक महिनाको अवधिमा भ्रमण कडाइ, बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने र भिसा स्थगित गर्ने काम फराकिलो ढंगले गरियो ।
सुरुवातमै चालिएको निर्णायक कदमले सामुदायमा संक्रमणलाई प्रभावकारी रुपमा रोक्यो र फेब्रुअरी १३ सम्म संक्रमित संख्या केवल १६ मा राख्न भियतनाम सफल भयो । मार्चमा विदेशबाट घर फर्किएकाहरुले ल्याएको दोस्रो लहरले हान्नुअघि तीन सातासम्म यहाँ नयाँ संक्रमण थिएन । भियतनामको कन्ट्याक ट्रेसिङ विधि धेरै प्रभावकारी रह्यो, संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा आएका मात्रै होइन, अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई पनि यसले पहिचान ग¥यो ।
यो ठाउँमा नेपालले आफूलाई हेर्न जरुरी छ । संक्रमित पहिचान भएको साढे चार महिना र लकडाउन गरिएको साढे दुई महिनामा पनि शंका लागेर अस्पतालमा उपचार गरिरहेका बिरामीको परीक्षण हुन १०–१२ दिन लाग्छ र ऊ मरिसकेपछि मात्र रिपोर्ट आउँछ भने उल्लिखित देशका नमूनामा नेपाल कहाँ छ ?
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया