Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआजदेखि लकडाउन खुकुलो सबै मालपोत कार्यालय खुल्ने

आजदेखि लकडाउन खुकुलो सबै मालपोत कार्यालय खुल्ने


काठमाडौं, जेठ २५
तीन जना कोरोना संक्रमित देखिएपछि गत चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेपछि आज जेठ २५ गते आइतबारदेखि केही खुकुलो हुने भएको छ । अन्य देशमा भने संक्रमितको संख्या घट्न थालेपछि लकडाउन खुकुलो पार्ने गरिएकामा नेपालमा भने त्यसको ठीक विपरीत संक्रमितको संख्या बढेर नयाँ नयाँ रेकर्ड कायम गर्दैगर्दा खुकुलो पार्न लागिएको हो ।

कोरोना संक्रमित र कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या बढे पनि केही दिन अगाडिदेखि काठमाडौंलगायत देशका विभिन्न सहरमा व्यापारीहरुले लकडाउनको अवज्ञा सुरु गरेका छन् भने लकडाउनको कारण देशमा भोकमरी नै लाग्ने र कर्मचारीलाई तलब खुवाउने पैसाको समेत अभाव हुने भन्दै जनस्तरबाट पनि लकडाउन खुकुलो पार्न निरन्तर आवाज भने उठेको छ । शनिबारसम्म कोरोनाको कारण १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

कोरोना नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिको आन्तरिक शक्तिले मात्र हुने देखिएपछि आमनागरिकले लकडाउन खुकुलो पार्न दबाब दिएका हुन् । सरकारले लकडाउन गरे पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेका अधिकांश कदमहरु प्रभावकारी नभएपछि आमनागरिकले लकडाउनलाई जनता थुन्ने कार्यक्रमका रुपमा बुझेका हुन् ।

कोरोनाबाट संक्रमित हुनेको संख्या बढे पनि आम जनताको मागबमोजिम कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले आर्थिक क्रियाकलापलाई अझै खुकुलो पार्ने निर्णय गरेको कारण लकडाउन खुकुलो हुने भएको हो । यसअघि विकास निर्माणका काम सहज रुपमा अगाडि बढ्न दिने निर्णय गरेको समितिको शनिबारको बैठकले अब थप आर्थिक क्रियाकलाप खुकुलो पार्ने निर्णय गरेसँगै विभिन्न व्यवसाय खुल्ने भएका हुन् । आर्थिक वर्ष अन्तिम हुनलागेको कारण सरकारले कर संकलनकै लागि पनि जोखिम मोलेरै आर्थिक क्रियाकलाप सहज बनाउन थालेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले सञ्चारकर्मीहरुलाई दिएको जानकारीअनुसार औद्योगिक तथा निर्माणजन्य कलकारखाना तथा व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न दिन लागिएको हो । व्यसायहरु सञ्चालन गर्दा कोरोना संक्रमितको संख्या कुन क्षेत्रमा बढ्छ भन्ने हेरेर मात्र थप निर्णय लिने तयारी समितिको छ । अहिलेसम्म विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा मात्र बढी कोरोना देखिएको छ ।

सरकारले आइतबारदेखि बैंक, कृषिजन्य, अत्यावश्यक सेवा, अस्पताललगायतका सेवालाई सहज रुपमा सञ्चालन गर्न दिने भएको छ । ती क्षेत्रमा आउने व्यक्तिले स्वास्थ्यसम्बन्धी मापदण्ड भने पालना गर्नैपर्नेछ । यस्तै, सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने निर्णय पनि गरेको छ । लकडाउन सुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनः सञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । लकडाउनका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध
भएको थियो ।

पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो । सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।

लकडाउनको बेला सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्न दिने भने पनि उत्पादन क्षमतामा कमी आउन थालेको देखिएपछि थप व्यवसाय खुला गर्ने निर्णयमा सरकार पुगेृको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको सुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आउन थालेको छ । बन्दाबन्दीको सुरुवाती चरणमा ४९ देखि ५१ प्रतिशतसम्म सञ्चालनमा आएको उद्योग जेठ २० गतेसम्म ४६ प्रतिशतमा झरेको देखिएको राससले जनाएको छ ।

मुख्य पाँच औद्योगिक करिडोर अत्तरिया–धनगढी, नेपालगञ्ज–कोहलपुर, बुटवल–बेलहिया, पथलैया–वीरगञ्ज र इटहरी–विराटनगरमा सुरुको एक महिना (वैशाख १३ गतेसम्म) ४९ प्रतिशत उद्योग सञ्चालन भएका थिए । एक महिनाका अवधिमा १० औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५९७ उद्योगमध्ये १५० उद्योग मात्र सञ्चालनमा रहेका थिए । पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उक्त उद्योगमा बन्दाबन्दी अगाडि पाँच हजार १९० मजदुर रहेकामा एक महिनामा एक हजार ६०२ जना मात्र कार्यरत रहेका थिए । यसैगरी गत वैशाख १३ सम्म ४९ प्रतिशतमा सञ्चालनमा आएका उद्योग वैशाख मसान्तसम्म ५१ प्रतिशतमा सञ्चालनमा आएका थिए ।

वैशाख मसान्तसम्म ३४९ उद्योग सञ्चालनमा रहेकामा जेठ २० सम्ममा अत्यावश्यक वस्तुको उत्पादन गर्ने ३३८ उद्योग सञ्चालनमा छन् । चैतमा पूर्ण क्षमतामा सञ्चालनमा रहेका अक्सिजन र एलपी ग्यास उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा छन् भने अन्य उद्योगको सञ्चालन क्षमतामा कमी आएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार चैतमा ८० प्रतिशतसम्म सञ्चालनमा रहेको खाद्य उद्योग (बिस्कुट, चाउचाउ) हाल ५० देखि ६० प्रतिशत, ७५ प्रतिशत क्षमतामा सञ्चालन रहेको खाद्य उद्योग (चामल, चिउरा, दाल, पीठो, तेल आदि) हाल ५५ प्रतिशत तथा ८० प्रतिशत सञ्चालनमा रहेको दुग्ध उद्योग हाल ६० प्रतिशतमा सञ्चालन भएका छन् ।

यसैबीच ५० हजार मेट्रिक टन मौज्दात रहने चिनी उद्योगमा हाल ४० हजार मेट्रिक टन चिनी मौज्दात छ । चैतमा ८० प्रतिशत सञ्चालनमा रहेको दाना, ह्याचरी र कुखुरापालन उद्योग हाल ४० प्रतिशत, ७० प्रतिशत सञ्चालनमा रहेको औषधि उद्योग हाल ६० प्रतिशत, पूर्ण क्षमतामा सञ्चालनमा रहेको खानेपानी उद्योग ६० र ७० प्रतिशत सञ्चालनमा रहेको चिया उद्योग हाल ३० देखि ४० प्रतिशतसम्म सञ्चालनमा छन् । बन्दाबन्दीपूर्व ११ हजार ७३६ मजदुर कार्यरत रहेकामा हाल चार हजार ९ सय मात्र कार्यरत तथा छ हजार ८३६ मजदुर अनुपस्थित छन् । सञ्चालनमा रहेका सबै उद्योग बन्दाबन्दीको पूर्णपालना गरेर सञ्चालन गरिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x