Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रद्वारा अल्पकालीन अवधिको पारस्परिक ऋण बढ्यो

बैंकिङ क्षेत्रद्वारा अल्पकालीन अवधिको पारस्परिक ऋण बढ्यो


सुरेश राउत
काठमाडौँ, जेठ २६
बैंकिङ क्षेत्रमा अल्पकालीन अवधिको लागि ऋण सापटी आवश्यक परेमा कुुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरुले अर्को कुुनै बैंक तथा फाइनान्स कम्पनीहरुबाट छोटो अवधिको लागि ऋण लिनसक्ने प्रावधान छ । अल्पकालीन अवधिको लागि लिइने यस्तो ऋणमा कर्जाको व्याज निकै नै कम रहेको हुन्छ । बैंकिङ क्षेत्रमा यसरी लिइने ऋण अर्थात् पारस्परिक ऋण नै अन्तर बैंक कारोबार हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा अन्तर बैंक कारोबार रकम निकै बढेको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक र २२ वटा फाइनान्सले कम्पनीले झण्डै १४ खर्ब रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र १२ खर्ब ६२ अर्ब २७ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो नौ महिनामा एक खर्ब १६ अर्ब ५३ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुले मात्र ११ खर्ब ५० अर्ब ८० करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । उक्त अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले छुट्टै एक खर्ब ५९ अर्ब ८२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । चालू आवको आर्थिक वर्षको नौ महिनासम्ममा राष्ट्र बैंकले रिपोमार्फत एक खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब छ करोड रुपैयाँ समेत गरी कुल एक खर्ब ८६ अर्ब ८३ करोड रुपैयाँबराबरको तरलता प्रदान गरेको छ । यस अवधिमा पटक–पटक गरी ५८ अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो प्रशोचन निक्षेप बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत २८ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी चालू आवको नौ महिनासम्ममा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब ६७ करोड खुद खरिद गरी तीन खर्ब पाँच अर्ब ८६ करोड खुद तरलता प्रवाह गरेकोे छ । त्यसैगरी, समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब छ करोड बिक्री गरी तीन खर्ब ५० अर्ब नौ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोही आधारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चालू आवको पछिल्लो नौ महिनामा चार दशमलव ४४ प्रतिशत रहेकोमा २०७६ चैतमा दुुई दशमलव १३ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको पाँच दशमलव २८ प्रतिशतको तुलनामा २०७६ चैतमा दुई दशमलव १३ प्रतिशत रहेको छ ।

यस अवधिमा अन्य वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको पाँच दशमलव छ प्रतिशतको तुलनामा २०७६ चैतमा तीन दशमलव ५२ प्रतिशत कायम भएको छ । सोही आधारमा चालू आवको फागुुन मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ७७ प्रतिशत रहेका कारण कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर पाँच दशमलव तीन प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७५ फागुनमा यस्तो अन्तर पाँच दशमलव ७१ प्रतिशत रहेको थियो ।

आगामी मौद्रिक नीतिको राय पठाउन आग्रह : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि जारी हुुने मौद्रिक नीतिको लागि राय/सुझाव पठाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरु बैंकको अनुसन्धान विभागमा पठाउन राष्ट्र बैंकले आग्रह गरेको हो ।

यसअघि राष्ट्र बैंकले प्रत्येक वर्ष बजेट घोषणा भएको पहिलो हप्तामा मौद्रिक नीति सार्वजनिक गर्ने गरेको थियो । तर सरकारले बजेट घोषणाको कार्यतालिका परिवर्तन गरी प्रत्येक वर्ष जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारेर बजेट घोषणा गर्ने गरे पनि राष्ट्र बैंकले प्रत्येक वर्ष असार मसान्ततिर मौद्रिक नीति सार्वजनिक गर्ने आएको छ । सरकारले आर्थिक वर्षको बजेटमार्फत लिएको आर्थिक नीति तथा कार्यक्रमलाई मौद्रिक नीतिमा रुपान्तरण गर्ने मौद्रिक नीतिको रहने गरेको छ । यस वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीका कारण सिंगो अर्थतन्त्र कमजोर भएको अवस्था आउन लागेको मौद्रिक नीतिले मुलुकको सिंगो अर्थतन्त्रलाई माथि उठाउनुपर्ने अपेक्षा यतिखेर गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x