Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनले उद्योग सञ्चालन क्षमतामा क्रमशः ह्रास

लकडाउनले उद्योग सञ्चालन क्षमतामा क्रमशः ह्रास


प्रवीण राउत
काठमाडौं, जेठ २७
लकडाउनका कारण प्रभावित बनेको औद्योगिक क्षेत्रले निरन्तरता पाए पनि सञ्चालन क्षमता घट्दै गएको छ । विभिन्न स्थानमा रहेका १० वटा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरु आंशिक क्षमतामा सञ्चालन भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो । जेठको तेस्रो सातासम्ममा औद्योगिक क्षेत्रभित्र रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु ४६ प्रतिशत क्षमतामा सञ्चालन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । सामान्य अवस्थामा उक्त औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योगहरु आफ्नो पूर्ण क्षमताको औसत ७५–८० प्रतिशत क्षमतामा चल्ने गरेकोमा लकडाउनका कारण हाल उद्योगहरुको क्षमता घटेर ४६ प्रतिशतमा सञ्चालन भइरहेको छ ।

मन्त्रालयका अधिकारीका अनुसार लकडाउन केही खुकुलो पार्ने तथा उद्योगहरु सञ्चालन गर्ने मनस्थितिमा सरकार पुुगेकोले अब विस्तारै उद्योग सञ्चालनको क्षमता अभिवृद्धि गर्दै लैजाने विषयमा तीव्र छलफल भएको छ । ‘मन्त्रालय मात्र नभएर प्रधानमन्त्री स्वयंले समेत विज्ञ, निजी क्षेत्र र सरोकारावालाहरुसँग उद्योग सञ्चालन गर्दै जाने विषयमा छलफल तीव्र भए पनि कुनै निर्णय भने भएको छैन’, अधिकारीले भने, ‘स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्न खोजिएको हो, अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विषयमा निर्णय गर्ने सम्भावना छ ।’

अर्थतन्त्रमा असर पर्नसक्ने भन्दै सरकार मात्र नभएर निजी क्षेत्र, विज्ञ तथा सरोकारावालाहरुले विस्तारै सम्पूर्ण उद्योगहरु सञ्चालनमा ल्याइनुपर्ने बताउँदै आएका छन् । मन्त्रालयका अनुसार धरान औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु ५८ प्रतिशत, गजेन्द्रनारायण सिंहमा रहेका उद्योग ७५ प्रतिशत, हेटौंडामा रहेका उद्योग ४२ प्रतिशत, बुटवलमा रहेका उद्योग ३३ प्रतिशत, नेपालगञ्जमा रहेका उद्योग ४४ प्रतिशत, वीरेन्द्रनगरमा रहेका उद्योग ६२ प्रतिशत, पोखरामा रहेका उद्योग २३ प्रतिशत, पाटनमा रहेका उद्योग ३५ प्रतिशत, बालाजुमा रहेका उद्योग ४५ प्रतिशत र भक्तपुरमा रहेका उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।

यस्तै बालाजुमा ७५, हेटौंडा ७४, पाटनमा २३, पोखरामा ५५, बुटवलमा ३४, नेपालगञ्जमा २२, धरानमा २३, भक्तपुरमा २३, गजेन्द्रनारयण सिंहमा दुई र वीरेन्द्रनगरमा ७ वटा गरी कुल ३ सय ३८ वटा उद्योग सञ्चालनमा रहेका छन् । ती औद्योगिक क्षेत्रमा कुल पाँच सय ९७ वटा उद्योगहरु रहेका छन् । यता औद्योगिक क्षेत्रभित्र रहेका अत्यावश्यक उद्योगहरुमध्ये अक्सिजन प्लान्ट र एलपीजी ग्यास रिफिलिङ उद्योग शतप्रतिशत क्षमतामा सञ्चालन भएका छन् भने खाद्य उद्योग (बिस्कुट, चाउचाउ, स्न्याक्स आदि) ५० देखि ६० प्रतिशत, खाद्य उद्योग (चामल, चिउरा, दाल, पिठो, तेल आदि) ५५ प्रतिशत, डेरी उद्योग ६० प्रतिशत (पास्चराइजेसन)सहितका ठूला उद्योगहरु सञ्चालनमा नरहेको, दाना ४० प्रतिशत, औषधि उद्योग ६० प्रतिशत, खानेपानी उद्योग ६० प्रतिशत र चिया उद्योग ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।

यस्तै चिनी उद्योगमा ४० हजार मेट्रिक टन स्टक रहेको तथा इँट्टा उद्योग अर्को सिजनको लागि तयारी गरिएको तथा ह्याचरी र पोल्ट्री उद्योग बन्द हुँदै गएको अवस्था छ ।मन्त्रालयका अनुसार सबै उद्योग सञ्चालनमा नआएसँगै कामदारको संख्यामा समेत कमी भएको जनाएको छ । सामान्य अवस्थामा ११ हजार सात सय ६३ जना कामदारले काम गर्ने सो क्षेत्रमा हाल भने चार हजार नौ सय जना कामदारले मात्र काम गरिरहेका छन् । यस्तै मन्त्रालयमा सचिवस्तर छलफलमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शतप्रतिशत क्षमतामा उद्योग सञ्चालन गर्नुपर्ने विषयमा लबिङ भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x