Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप पीसीआर मेसिन खरिद गर्दै सरकार

थप पीसीआर मेसिन खरिद गर्दै सरकार


काठमाडौं, जेठ २७
कोरोना परीक्षणलाई बढाउन सरकारले थप पीसीआर मेसिन खरिद गर्ने भएको छ । मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङ्ख्यामा आउने सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालको भनाइ छ । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । सरकारले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गर्नका लागि मेसिन खरिद गर्न लागेको हो । संघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया सुरु गरिएको बताएका हुन् ।

यस्तै, सरकारले सोमबारसम्म जम्मा दुई लाख ५७ हजार ९ सय ६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पीसीआर र आरडीटी विधिबाट गरिएको कुल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर विधिबाट कुल एक लाख ९ सय ७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडीटीबाट एक लाख ५६ हजार ९ सय ९१ व्यक्तिको परीक्षण गरिएको छ । परीक्षणबाट नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ७ सय ६२ जना पुगेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५ सय ६ र महिला २ सय ५६ रहेका छन् ।

सोमबार थप तीन सय १४ जना कोभिड–१९ संक्रमित फेला परेका छन् । तीमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । सङ्क्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सोमबार एकको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औं दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी सोमबार डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४ सय ८८ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, सरकारले प्रयोगशालाको दायरा बढाउन गजेन्द्रनारायण प्रादेशिक अस्पताल राजविराजमा प्रयोगशालाको स्थापना भएको छ । अब सोही अस्पतालबाट पीसीआर परीक्षण हुनेछ । यससँगै देशभरमा प्रयोगशालाको सङ्ख्या २१ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेसनमा कुल तीन हजार २ सय ६० व्यक्ति उपचाररत रहेका छन् ।
यस्तै, चितवन जिल्लामा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले सोमबार प्रेस वक्तव्य जारी गर्दै ३ सय १० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना रहेका छन् ।

त्यसैगरी नवलपुरका पाँच जना र धादिङका एक जनामा पनि कोरोना पुष्टि भएको हो । माडी र भरतपुर महानगरपालिकामा भेटिएका सङ्क्रमितहरु भारतबाट आएका नेपाली छन् । अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x