Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंविधान संशोधनमा दलीय सहमति, संशोधन हाल्न ७२ घण्टाको समय

संविधान संशोधनमा दलीय सहमति, संशोधन हाल्न ७२ घण्टाको समय


काठमाडौँ, जेठ २८
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको निशान छाप बनाउने विषयमा संविधान संशोधन गर्न दलीय सहमति जुटेको छ । दलीय सहमति जुटेको कारण प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन ।

बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । सो विधेयकमा विचार गरियोस् भनी मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुसी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताइन् । उनले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गरिन् । ‘हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ’, मन्त्री तुम्बाहाम्फेले भनिन् ।

प्रतिनिधिसभाका सदस्यहरूले नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सा जारी हुनुले छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने बताएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले लामो समयदेखि थाती रहेको सीमा मुद्दालाई किनारा लगाउने क्रममा नयाँ नक्सा जारी गरी संधिवान संशोधन प्रस्ताव ल्याउने आँट गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारको प्रशंसा गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका डा. प्रदीप गिरीले जमीन हाम्रो हो भन्नेमा बहस गर्न पर्दैन तर पर्याप्त गृहकार्य गरेर भूमि फिर्ता ल्याउन आग्रह गरे । उनले महाकाली सन्धिको बेला आफूले र प्रधानमन्त्री केपी ओलीले गल्ति गरेको भन्दै आफूले माफी मागेको र प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका थिए । नेकपाका महेश बस्नेतले नेपालको नयाँ नक्साबारेको संशोधनमा अन्य विषय नजोड्न आग्रह गर्दै मिचिएको भूमि ल्याउन सरकारले पहल गर्नुपर्ने बताए ।

नेकपाका गोकुलप्रसाद बाँस्कोटाले मुलुक अहिले नयाँ इतिहास निर्माण गर्ने क्रममा रहेको बताउँदै नेपाल सुगौली सन्धिले निर्धारण गरेको सीमा कटेर पश्चिम गएको नभई भारत आफैँ सम्झौता नाघेर आएपछि उत्पन्न भएको सीमा विवाद नक्कली विवाद भएको बताए । नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले यो विधेयकमाथिको छलफल प्रारम्भ हुनु राष्ट्रका लागि महत्वपूर्ण पाइला भएको बताए । उनले सन् १८१६ को सुगौली सन्धिअनुसारको नेपालको स्वामित्व ग्रहण गर्ने विषय ऐतिहासिक भएको बताए । सोही पार्टीका भीमसेनदास प्रधानले प्रधानमन्त्री ओलीलाई मिचिएको भूमि फिर्ता ल्याउने अवसर प्राप्त भएको र उनको राष्ट्रवादको पहिचानको परीक्षणका रूपमा आफूले लिएको बताए ।

नेकपाका भूमि त्रिपाठीले कूटनीतिक वार्ताका लागि नक्सा बलियो आधार हुने टिप्पणी गरे । नेकपाका लालबाबु पण्डितले भारत सरकार वार्तामा नआएमा तीन महिनाको चेतावनी दिई अन्तर्राष्ट्रिय मञ्चसहित सुरक्षात्मक स्थितिलाई बलियो भएर प्रस्तुत हुनुपर्ने बताए । नेकपाका विमला विक, विशाल भट्टराई, मनकुमारी जिसी, राजेन्द्र गौतम, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्री, गणेशसिंह ठगुन्ना र झपटबहादुर रावलले पनि समर्थनमा धारणा राखेका थिए ।

यस्तै, राससका अनुसार नेकपाकै मेटमणि चौधरी, जुलीकुमारी महतो, घनश्याम खतिवडा रेखाकुमारी झा, लीलानाथ श्रेष्ठ, मोहन वानिया, शेरबहादुर तामाङ, नरबहादुर धामी, महेश्वरजङ गहतराज, टेकबहादुर बस्नेत, दीपकप्रकाश भट्ट, निरादेवी जैरी, पवित्राकुमारी निरौला, सुजिता शाक्य, नारायणप्रसाद मरासैनी, तीलबहादुर महत लालबहादुर थापा, राधाकुमारी ज्ञवाली, हरिराज अधिकारी, यज्ञराज सुनुवार, नारदमुनि राना, निरुदेवी पाल, कृष्णबहादुर राई, खेमप्रसाद लोहनी, जीवनराम श्रेष्ठ, यज्ञबहादुर बोगटी, शान्तिमाया पाख्रिन, पार्वतीकुमारी विशुन्के र सुरेशचन्द दासले पनि छलफलमा भाग लिएका थिए ।

यस्तै नेपाली काँग्रेसका पार्वता डिसी चौधरी, सञ्जयकुमार गौतम, भरतकुमार शाह, राजेन्द्र केसी, लक्ष्मी परियार, प्रकाश रसाइली, पदमनारायण चौधरी, दिव्यमणि राजभण्डारीले संशोधनका पक्षमा धारणा राखेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x