Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिम सम्पन्न भएको छ । भक्तपुर बोडेमा आयोजित तालिम तीन दिने तालिम सम्पन्न भएको हो ।

परियोजनाबाट अनुदान प्राप्त गरेका अगुवा कृषक, व्यवसायी र उद्यमीहरुको सहभागिता रहेको सो तालिममा झापा, मोरङ्ग, धनुषा, नुवाकोट, चितवन, गोरखा, कपिलवस्तु, प्यूठान, लमजुङ्ग, स्याङ्गजा, दाङ्ग, बाँके, सुर्खेत, रुपन्देही र नवलपरासी पूर्वका गरि २७ जिल्लाहरुबाट सहभागिता थियो ।

तालिमको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले तालिमबाट क्षमता अभिवृद्धिमा सहयोग पुगेको बताएका छन् । उनले तालिमको प्रथम दिनमा सहभागिता हुँदाको भन्दा अन्तिम दिनमा प्रशिक्षार्थीहरुको मुहार हसिलो देखिएको भन्दै यसबाट तालिम उद्देश्य अनुसार सफल भएको महशुस केन्द्रले गरेको बताएका हुन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भावी कार्यक्रममा पनि कृषि उद्यम केन्द्रसँग समन्वय र सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि अधिकृत आशा शर्माले तालिम प्रभावकारी र परिणाममुखी रहेको र कृषि उद्यम केन्द्रको राम्रो व्यवस्थापनका साथै सम्बन्धित विषय विज्ञहरुलाई आमन्त्रण गरि सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा केन्द्र सफल भएको बताइन् । उनले यसका लागि परियोजनाको तर्फबाट कृषि उद्यम केन्द्रलाई धन्यवाद दिँदै आगामी दिनमा केन्द्रसँग सहकार्य गर्न आफूले सम्बन्धित निकायमा पहल गर्ने बताएकी छिन् ।

कृषि उद्यम केन्द्रका बोर्ड सदस्य सुनिता न्हेमाफुकीले सिकेको ज्ञान सिपलाई व्यवहारमा उतार्नु पर्ने र कृषकहरुको हकहितको सवालमा आफू निरन्तर रुपमा सरोकारवालाहरुको पक्षमा वहस पैरवी गर्दै सचेतना बढाउने कार्यमा लागेको जानकारी गराउँदे कृषि उद्यम केन्द्र उपयुक्त मन्च रहेकोले केन्द्रसँग जोडिन सहभागिहरुलाई आह्वान गरेकी छिन् ।

सहभागीको तर्फबाट बोल्दै तिर्थ राज घिमिरेले तालिम सोचेको भन्दा बढी ज्ञानमुलक तथा प्रभावकारी रहेको बताउँदै विभिन्न विज्ञहरुको अनुभव ज्ञान सिप बारे तालिममा अनुभव आदान प्रदान हुँदा क्षमता अभिवृद्धि हुनका साथै व्यवसाय सहज रुपमा सञ्चालन गर्न आत्मविश्वास जागेको बताएका छन् । उनले तालिमको अवसर जुटाई दिने परियोजना र केन्द्रलाई धन्यवाद दिएका छन् ।

अर्का सहभागी मन्जु देबी मुखियाले तालिमबाट आफूले धेरै सिक्ने अवसर पाउनुको साथै महिलाको सशक्तिकरणका साथै महिलाहरुलाई अगाडि बढ्न हौसला नदिने समाजमा यस प्रकारको तालिमबाट आत्मविश्वास बढेको बताइन् । उनले विगत १० वर्षदेखि ससुराबाले गर्दै आएको माछा पालन व्यवसायलाई आफूले निरन्तरता दिइरहेको जानकारी गराउँदै अझै आधुनिक तरिकाले व्यवसायलाई अगाडि बढाउन सहज होस् भन्ने हेतुले कान्छी छोरीलाई स्तानक तह कृषि विषय पढाउन भर्ना गरेको पनि बताइन् ।

‘तालिममा आउनु भन्दा अगाडि मेरो मनमा नकारात्मक कुरा खेल्नका साथै तालिममा कस्तो व्यवहार हुन्छ होला भन्ने थियो, तर यहाँ आएपछि एकै परिवार जस्तै राम्रो वातावरणमा तालिम लिन पाउँदा आत्मविश्वास बढेको छ’ उनले भनिन्, ‘नेपालमा माछाको व्यवसायीक रुपमा माछापालन गर्न तालिमबाट अझै उर्जा प्राप्त भएको छ ।’

सहभागीहरुलाई फिल्ड अवलोकन भ्रमण र उद्यमीसँग अन्तरक्रियात्मक छलफलको लागि चांगुनारायणको चम्पक पाउ उद्योगका महिला उद्यमी देवकी श्रेष्ठसँग अनुभव आदान प्रदान गर्ने कार्यक्रम राखिएको थियो । सो अवसरमा महिला उद्यमी श्रेष्ठले आफुले हजारौ हन्डर ठक्कर खादै व्यापारमा घाटा भएता पनि व्यवसायबाट पलायन नभई निरन्तर संघर्ष गरेको सुनाइन् । उनले व्यवसायमा कहिलेकहीँ घाटा भएता पनि हरेस् नखाई निरन्तर रुपमा लाग्न सकेकै कारण सफल व्यवसायी बन्न सकिने बताइन् ।

व्यवसाय गर्नेले एकचित भई अगाडि बढ्न सकेको खण्डमा सफल भइने रहेछ भन्ने पाठ आफुले सिकेको बताउँदै श्रेष्ठले व्यवसाय गर्ने कार्य कठिन नै हुने भएकाले यसमा धैर्यता, इमान्दारीता, सहनशिलताका साथै परिश्रम आवश्यक पर्ने बताइन् ।

सहभागीहरुले व्यवस्थापन, नीति नियम, सरकारको सहयोग, कच्चा पदार्थ, बजार, मेशिन उपकरण आदिको बारेमा श्रेष्ठलाई प्रश्न गरेका थियो । सो अवसरमा श्रेष्ठले आधुनिक भवन, मेशिन उपकरण, दक्ष कामदारबाट उद्योग चलाउँदै आएको भन्दै विभिन्न संघ संस्थाहरुमा आवद्धता जनाउँदै आफु जस्तै अन्य महिलाहरुलाई उत्प्रेरणा जगाउने कार्यमा क्रियासिल रहेको बताएकी थिईन् ।

झापादेखि कञ्चनपुरका २७ जिल्लाबाट आएका कृषि उद्यमीहरुले कृषि क्षेत्रको विकास, नीति नियम संशोधन, मल, वीउ विजन, माटो परिक्षण, बढ्दो आयात, घट्दो निर्यात, युवा पलायन आदिको समस्या समाधानको लागि परियोजना मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हस्तान्तरणको लागि सुझाव पत्र तयार गरि परियोजनाका बरिष्ठ कृषि अधिकृत आशा शर्मालाई हस्तान्तरण गरिएको थियो ।

कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत र परियोजनाका बरिष्ठ कृषि अधिकृत आशा शर्माले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको सो कार्यक्रमको सञ्चालन कृषि उद्यम केन्द्रका बरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया