Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजंगी अड्डामा अभूतपूर्व सन्नाटा !

जंगी अड्डामा अभूतपूर्व सन्नाटा !


काठमाडौं । नेपाली सेनाको प्रधान कार्यालय (जंगी अड्डा)मा यसअघि नदेखिएको अभूतपूर्व सन्नाटा छाएको छ । जब कि यो समय अवकाश ग्रहण गर्नलागेका सेनापतिले भावी सेनापतिलाई जंगी अड्डाभित्र क्रमशः नेतृत्व हस्तान्तरणको अभ्यास गर्दै जार्नुपर्ने समय हो ।

सेनापति प्रभुराम शर्माले अवकाश लिने समय नजिकिँदै गएको भए पनि आउने नयाँ सेनापतिको बारेमा जंगी अड्डामा सुरु हुनुपर्ने चहलपहल सुरु हुन सकेको छैन । त्यो चहलपहल नहुनुका अनेक कारण होलान् तर एउटा प्रमुख कारणचाहिँ पात्रको विवाद निरुपण नहुनु पनि हो ।

सेनाका भावी सेनापति तीनतारे जर्नेल अशोकराज सिग्देल हुन् । उनीपछि अर्का जर्नेल निर्मल थापा तीनतारे भएका छन् । जंगी अड्डाले सिफारिस गरेको जर्नेल नै सेनापति हुने परम्परा छ र त्योबाहेक अर्को जर्नेल सेनापति हुने कल्पना पनि गर्न सकिँदैन ।

अहिलेको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले जंगी अड्डाको सिफारिसबाहिरको सेनापतिको अर्को प्रयास पक्कै गर्ने छैनन् । किनकि उनले यसअघि कटुवालकाण्ड भोगिसकेका छन् । त्यो गल्ती दोहो¥याउने पक्षमा उनी देखिँदैनन् । तर, उनको आँखैअगाडि पूर्वउपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको आडमा कांग्रेसको पार्टी सभापति हत्याउने योजना बनाएर भावी सेनापति सिग्देलका विषयमा उठेको जन्ममिति विवाद निरूपण नगरीकन सैनिक नेतृत्वप्रति अतिभक्ति देखाएर खुसी पार्ने हेतु चाकरी गर्दा स्थिति सन्नाटामा परिणत भएको हो ।

रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा देखिएका भिन्न–भिन्न जन्ममितिसम्बन्धी विवाद निरूपण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा नै रक्षा मन्त्रालयलाई निर्देशन दिएका थियो । त्यही निर्देशनलाई टेकेर छानबिन गरेर सिग्देललाई क्लीनचिट दिएर बढुवाको फाइल अघि बढाइदिएको भए अहिले यस्तो अनिश्चयको सन्नाटा देख्नुपर्ने थिएन । सिग्देल स्वयम्लाई नेपाली नागरिकताको बारेमा गहिरो ज्ञान नभएको पनि हुनसक्छ र त्यही क्रममा विभिन्न ठाउँमा भिन्न–भिन्न जन्ममिति अन्जानमा लेखिएका पनि हुनसक्छ । जे भए पनि छानबिन नै नगरी अघि बढाउनुभन्दा छानबिन गरेर सफाइ दिएर अघि बढाइदिएको भए यो अवस्था आउने थिएन । तर, रक्षामन्त्री खड्का आफ्ना स्वकीय सचिव शोभाकर रेग्मीको चक्रव्यूहमा फसिसकेका थिए । उनी रक्षा मन्त्रालयका उपसचिव हुन् ।

खड्का यसअघि मन्त्री हुँदा पनि उनी नै पिए बस्ने गरेका थिए । खड्काको महत्वाकांक्षा र कमजोरीसँग सुपरिचित रेग्मी भावी सेनापति सिग्देलका नातासम्बन्धी पनि हुन् र उनले सिग्देलको भलाइको नाममा वर्मेली समुदायलाई दुरुपयोग गरेको आरोप पनि लागेका छ । हुन त उनलाई नक्कली भुटानी शरणार्थी काण्डमा पनि आरोपित गर्ने प्रयास नभएको होइन, उनी प्रमाण छाडेर काम गर्ने कर्मचारी नभएकाले कसैले पनि उनलाई हल्लाउन सकेका छैनन् ।

अख्तियारको पत्रपछि क्लीनचिट दिएर बढुवाको फाइल अघि बढाउनुपर्नेमा मातहतको कर्मचारीबाट टिप्पणी उठ्न ढिला भएपछि उनले माथिबाटै टिप्पणी उठाएर हतारमा लटरपटर गर्दा समस्या झन् गहिरिँदै गएको हो । रक्षामन्त्री खड्का उनको कुरा काट्न नसक्ने भइसकेका थिए, त्यही प्रस्ताव बोकेर क्याविनेटमा लागे, प्रधानमन्त्री प्रचण्ड पनि खड्काको प्रस्ताव रोक्नसक्ने हैसियतमा थिएनन् । अहिले त्यो प्रस्ताव ठीक थिएन भने पनि उतिबेला उनले नतमस्तक भएर स्वीकारेकै छन्, भला उनको भित्री चाहना नेपाल प्रहरीमा जस्तै अलि तल्लो वरियतामा झार्न पाए आफ्नाले मौका पाउने र स्वाभाविकरूपमा सेना कब्जा गर्न सकिने मनसाय नभएको होइन तर कटुवाल काण्डको पुनरावृत्ति हुने डरले उनी त्यतिबेला मात्र होइत अहिले पनि भयभीत छन् । त्यो अवस्थामा मंसिर २६ गते बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नरोकेर त्यसका सभापति रामहरि खतिवडाले एउटा निर्देशन दिएको भए सरकारले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुपर्ने अहिलेको सन्नाटामय अवस्था देख्नुपर्ने थिएन ।

सबैतिरका साझा हर्ताकर्ता बनेका पीए रेग्मीले सफाइभन्दा व्यवस्थापनामा सुझाव सुझाउँदा अहिले जंगी अड्डामा आइसक्नुपर्ने नयाँ उत्साह नैराश्यतामा बदलिन पुगेको छ । अहिले सबैको होस खुलेजस्तो भएको छ । बालकोट र बालुवाटार रनभुल्लमा परेको छ । प्रचण्डले भेट्ने प्रस्ताव पनि अस्वीकार गरेपछि रन्थनिएका खड्का कांग्रेसभित्र हराउन थालेका छन् । वैशाख ९ गते गृह मन्त्रालयमा परेको उजुरी र सन्दीप ओलीले गत चैत २३ गते दर्ता गराएको उजुरी गृहमन्त्री रबी लामिछानेले जतनसँग पालेर राखेका छन् र त्यसलाई राज्य व्यवस्था समितिले जस्तै सदुपयोग गर्ने मौका कुरेर बसेका छन् ।

नेपाली सेना नेपालको मेरुदण्ड हो । सेनाको शान त्यसको नेतृत्व अर्थात् सेनापति हो । कमान्डरको सधै उच्च मनोबल रहनुपर्छ अनि मात्र सेना सक्षम हुन्छ । तर, अहिलेको सत्ता गठबन्धनले नियुक्त नहुँदै सेनातिको मनोबल गिराउने दुष्प्रयास गरेको छ र त्यसमा विभिन्न पात्रहरू परिचालित भएका छन् । नवनागरिकलाई नेपाल प्रहरीको नेतृत्वमा पुर्याउँदा नेपालको हितप्रतिकूल काम भयो कि भएन ? अहिले प्रहरीप्रतिको भरोसा र जनविश्वास हेरे पुग्छ । प्रहरीमै भएको जस्तो अवस्था सेनामा आयो भने यो देशको अस्तित्व नरहने कुरामा कसैको दुईमत नहोला । तर, मुखमा रामराम बगलीमा छुरा किन ?

सेनापति शर्माले अगामी भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउनेछन् र त्योभन्दा एक महिनाअघि अर्थात् साउन २४ गतेदेखि बिदामा बस्नुपर्छ । साउन २४ गतेदेखि निमित्त पाउने रथी नै भदौ २४ देखि सेनापति हुनेछन् । त्योभन्दा अगाडि अवकाश लिनलागेका सेनापतिले भावी सेनापतिलाई सैनिक मुख्यालय र मुख्य–मुख्य ठाउँमा परिचय गराउँदै स्वाभाविकरूपमा नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने थियो । तर, अहिले त्यहाँ त्यस्तो हुन सकेको छैन । सबै क्षेत्रका जिम्मेवार व्यक्तिहरू मुखामुख गरेर दिन गुजारिरहेका छन् । कसैको मुखमा चमक देखिँदैन । सबैको मुहार चम्किँदै जानुपर्ने बेला मलिन हुँदै जानुको कारण कतै नेपाली सेनामा विदेशी दाउपेच घुसेको हो कि भन्ने प्रश्न खडा भएको छ । जंगी अड्डामा अहिले छाएको सन्नाटा आँधी तुफान आउनुअघिको सन्नाटा नबनोस् भन्नबाहेक कलमबाजको के सामर्थ्य रहन्छ र ?


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x