Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न माग

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न माग


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिन सरकारसँग माग गरेका छन् । राजधानीमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने हिसाबले नीति लिनुपर्ने बताए ।

आगामी १० वर्षलाई ऊर्जा दशक र ऊर्जा संकटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘सरकारले दश वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरेर जाने लक्ष्य लिएको छ । १३ हजार पाँच सय मेगावाट देशभित्रै खपत गर्ने र १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहनेछ । यसमा गम्भीर भएर वातावरण सिर्जना गर्न सबै लाग्नुपर्नेछ’, उनले भने ।

यसैगरी उनले अब बैंक वित्तीय संस्थाले कम्तीमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बजेटमार्फत हुनुपर्ने बताए । त्यसैगरी उनले भन्सारमा विनाकारण सामानहरू रोकिने अवस्था देखिएको भन्दै नीतिबाटै यस विषयबारे सोच्न आवश्यक रहेको उल्लेख गरे । यस्तै, उनले पीपीए खोल्न, वन र जग्गाको समस्या समाधान गर्न, ट्रान्समिसन लाइन बनाउन र विद्युत्को व्यापार निजी क्षेत्रलाई खुला गर्न, बिजुली खपत बढाउने पूर्वाधार विकासमा बजेट बढाउन माग गरेका छन् ।

लगानी बढाउन नीतिगत स्थिरता आवश्यक
सोही छलफलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले लगानी बढाउन नीतिगत स्थिरता आवश्यक रहेको बताए । राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रूपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको उनको भनाइ थियो । पछिल्लो समय अटोमोबाइल्स उद्योग ८० प्रतिशत खस्किसकेको उनको भनाइ थियो ।

श्रेष्ठले पछिल्लो समय विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहेको र नेपालमै उत्पादित विद्युत्को उपयोगबाट यसको सञ्चालन गर्न सकिने भएकाले दीर्घकालीन नीति लिन सरकारको ध्यानाकर्षण गराए । ‘गत वर्षको १८ प्रतिशतको राजस्व हाल नौ दशमलव पाँच प्रतिशतमा खस्किएको छ । गत वर्ष अटोमोबाइल्सको गिरावट ५९ प्रतिशत रहेको छ । यसको उपयोग बढाउन वातावरण सिर्जना गर्नुपर्छ’, उनले भने । यस्तै, उनले कर प्रणाली उपभोक्तामैत्री बनाउनुपर्ने धारणा राखे । यसैगरी उनले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालीन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x