Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछाया सेन्टरबारे संयुक्त राष्ट्र संघको चासो

छाया सेन्टरबारे संयुक्त राष्ट्र संघको चासो


काठमाडौँ । काठमाडौंको ठमेलमा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यावसायिक छाया सेन्टर निर्माण गरिएको विषयमा संयुक्त राष्ट्र संघले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्र संघीय विज्ञहरूले विज्ञप्ति जारी गरेर छाया सेन्टरबारे चिन्ता व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ‘काठमाडौंको पर्यटकीय नगरी ठमेलमा छाया सेन्टर निर्माण गर्दा ऐतिहासिक कमलपोखरी ध्वस्त हुनुका साथै आदिवासी नेवार समुदायको दैनिक रीतिरिवाज र सांस्कृतिक प्रचलनमा बाधा पुगेको छ ।’ कमलपोखरी मासेर मनोरञ्जन कम्प्लेक्स निर्माण गरिएको विषयमा विरोध गर्ने मानवअधिकारवादीहरूविरुद्ध चलिरहेका प्रतिशोधको खबरप्रति संघका विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन् । यस्तो कार्य निन्दनीय र अस्वीकार भएको विज्ञप्तिमा उल्लेख छ ।

छाया सेन्टरमा करिब एक सयवटा पसल सञ्चालनमा छन् । एउटा सिनेमा हल र केही रेस्टुराँ पनि सञ्चालनमा छन् । थप एक सयवटा पसल सञ्चालनमा ल्याउन तयारी भइरहेको छ ।

आदिवासी जनजाति मानवअधिकार रक्षक भागवत् नरसिंह प्रधानले करिब ४५० ईस्वीदेखि ७५० सम्म लिच्छवी राज्यमा रहेको कमलपोखरीको पुनर्स्थापना अभियानको नेतृत्व गर्दै आएका छन् । सोही कारण प्रधानलाई छाया सेन्टरमा कार्यरत ट्रेड युनियनका नेताहरूले धम्की दिने काम भइरहेको छ । उनीमाथि सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर समेत भएको छ ।

राष्ट्र संघका विज्ञहरूले छाया सेन्टर भत्काउने र पोखरी र वरपरको जग्गा पुनर्स्थापनाको वकालत गर्ने भगत नरसिंह प्रधानजस्ता मानवअधिकार रक्षक, कार्यकर्ता र स्थानीयवासीमा असुरक्षाको बढ्दो अनुभूति देखेर स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । यसमा अमेरिकामा रहेको कम्पनी मेरियट इन्टरनेसनलको संलग्नताले थप चिन्ता बढाएको पनि विज्ञहरूले बताएका छन् । छाया सेन्टरमा मेरियट इन्टरनेसनलले जग्गाको विवादका बाबजुद पाँचतारे अलफ्ट होटल सञ्चालन गरिरहेको छ ।

विज्ञहरूले मेरियट इन्टरनेसनललाई छाया सेन्टरमा आफ्नो संलग्नता नराख्न पनि आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले अन्तिम निर्णय नगर्दासम्म छाया सेन्टरमा आफ्नो संलग्नता तुरुन्तै निलम्बन गर्न मेरियट इन्टरनेसनललाई आग्रह गर्दछौँ ।’ उनीहरूले मेरियट इन्टरनेसनललाई व्यवसाय र मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय मार्गदर्शक सिद्धान्तहरू पालना गर्न पनि आग्रह गरेको छ ।

मालपोत र नापीले सर्वोच्चलाई बुझाउन सकेनन् विवरण
सर्वोच्च अदालतले ठमेलस्थित कमलपोखरी के–कसरी व्यक्तिको नाममा दर्ता भयो भनेर २०८० चैत २० गते मालपोत र नापी कार्यालयलाई कागजात पेस गर्न आदेश जारी गरेको थियो । तर, मालपोत र नापी कार्यालयले डेढ महिना बितिसक्दा पनि कागजपत्र अदालत पठाउन सकेका छैनन् ।

छाया सेन्टर बैंकर पृथ्वीबहादुर पाण्डेले बनाएका हुन् । पाण्डेले ठमेल भगवान्बहालअघि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स ठड्याएका हुन् । सोही कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले २०७१ सालमा १५ थान मुद्दा सर्वोच्चमा दायर गरेका थिए ।

अदालतमा परेको उजुरीमा थहवीविक्रम शील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोक समेत २६ रोपनी आठ आना क्षेत्रफलका नाइके हिरण्यस्वरमान प्रधान समेतले २०३३ साल २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिको नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल उक्त गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधान समेतले सार्वजनिक पोखरी र पोखरीको डिल समेतलाई व्यक्तिको नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीको नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिइएको हुँदा थुनामा राखी कारबाही गरी कि.नं साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २००१९, १०४० समेतको कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचनाहरू भत्काउनुपर्ने माग गरिएको छ ।

सर्वोच्चले साबिक पोता १८३ नं. श्री सिंहसार्थ वाहु गरुण भगवान्को नाममा दर्ता भएको २६ रोपनी आठ आनाको जग्गा १८३ नं. पोता भिडाई जग्गा दर्ता भएको छ÷छैन सोको तथ्यगत व्यहोरासहित सो पोता भिडाई कुनै जग्गा दर्ता भएको भए के कुन कित्ता दर्ता÷हाल साबिक भई कसको नाममा कायम रहेको छ ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय वा मालपोत विभागबाट, पुष्पमान प्रधान र प्रतिवादी केयुर शमसेरसमेत भई चलेको खिचोला मेटाई पाऊँ भन्ने मुद्दामा चार किल्लाभित्रको २६ रोपनी आठ आना जग्गा हाल के–कति कसको नाममा दर्ता स्रेस्ता कायम रहेको छ ? र सो जग्गा दर्ता भएको भए जग्गाको साबिक स्रोत एवं स्रेस्ता विवरण गुठी संस्थान केन्द्रीय कार्यालय मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश गरेको थियो ।

यस्तै २०३३ सालमा भएको नापीपश्चात् देखिनआएको काठमाडौं जिल्ला काठमाडौं नगरपञ्चायत वडा नं. २९ कित्ता नं. १६७, कित्ता नं. १०४०, कित्ता नं. १८७, कित्ता नं. २२२४, कित्ता नं. २२२० र कित्ता नं. २४१३ का जग्गाहरू के कुन स्रोतबाट कसको नाममा दर्ता कायम भई हाल कसको नाममा कायम भएको छ ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत काकर्याालय काठमाडौं र नापी कार्यालय काठमाडौंबाट झिकाउन आदेश गरेको थियो । साबिक कित्ता नं. १६७ र १०४० का जग्गाहरू २०४४ मंसिर २३ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकोमा सोही जग्गाबाट कित्ताबाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकोले के–कसरी व्यक्तिका नामबाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकोले के–कसरी व्यक्तिका नाममा कित्ताकाट हुनगएको हो ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालयबाट झिकाउन आदेश गरेको थियो ।

सर्वोच्च अदालतको यही आदेशबमोजिको कागजात विवरणहरू मालपोत र नापीले एक महिना भइसक्दा पनि बुझाउन नसकेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
श्रीमिला सुवाल
श्रीमिला सुवाल
6 months ago

पुरानो साबिक बमोजिमनै हुनु पर्छ

1
0
Would love your thoughts, please comment.x
()
x