Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदी बजार सामान्यीकरण गर्न महासंघको आग्रह

सुनचाँदी बजार सामान्यीकरण गर्न महासंघको आग्रह


काठमाडौं, असार १
नेपाल सुनचाँदी व्यवसायी महासंघले पर्याप्त सुरक्षा सतर्कता अपनाउँदै सुनचाँदी बजारलाई सामान्यीकरण गर्र्न सम्बद्ध व्यवसायीहरुलाई आग्रह गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रभावबाट सुनचाँदी व्यवसायमा उत्पन्न भएको बिशेष परिस्थितिको सामना गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुनचाँदीको बजारलाई सामान्यीकरण गर्र्न व्यवसायी, आम उपभोक्ताहरुलाई आग्रह गरेको हो । साथै महासंघले नेपाल सरकारबाट आवश्यक साथ र सहयोगका लागि पनि विशेष अनुरोध गरेको छ । महासंघका प्रवक्ता मनोज कुमार शाहद्वारा जारी विज्ञप्तिमा कोरोना महामारीको प्रकोपवाट जोगिएर सुजवुझका साथ व्यवसायलाई सामान्यिकरणतर्फ लैजान आग्रह गरिएको हो । ‘विश्वव्यापी कोरोना महामारीको कारण हाम्रो देशमा पनि जारीरहेको लकडाउनले गर्दा बन्द भएका सेवा, उद्योग, पसलहरू क्रमशः खुल्ने क्रममा छन् ।

कोरोना भाइरसको कारण बिरामी भएकासम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौं र यस महामारीका कारण देश भित्र र देशबाहिर मृत्युवरण गरेका सम्पूर्ण नेपालीप्रति समबेदना प्रकट गर्न चाहन्छौं’, प्रवक्ता शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा महासंघले विपत्तिको यस घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल सरकार प्रधानमन्त्री राहत कोषलाई १५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको उल्लेख छ । १ करोड ८ लाख रुपैयाँको यस महासंघ मातहतका ६५ वटा जिल्ला÷नगर संघलाई परिचालित गरि ती जिल्ला/नगर संघ मार्फत विभिन्न राहत वितरण कार्य भई सकेको र यो देशका जिम्मेवार एवं व्यवसायीहरूको साझा संगठनको रूपमा यस महासंघले बिगतमा महाभूकम्प २०७२ मा पनि २५ लाख रुपैयाँ सहयोग गरेको स्मरण गर्दै आफ्नो ठाउँबाट कल्याणकारी सामाजिक कार्यहरूमा निरन्तर लागी पर्ने समेत महासंघले प्रतिबद्धता व्यक्त गरेको छ ।

महासंघका अनुसार कोरोना भाइरस महामारीको कारण सुनचाँदी व्यवसाय पनि आक्रान्त भएको छ । लगभग ६० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको आवश्यकता रहेको महासंघले जनाएको छ । गत वर्षदेखि नै सुनको भाउको उच्च वृद्धिको कारण उत्पन्न मन्दीले सुनचाँदी व्यवसाय थिलोथिलो भएको अवस्थामा झन अहिले करिब ३ महिनादेखिको लकडाउनले थप संकटग्रस्त भएको महासंघको भनाई छ । व्यवसायीहरुलाई घर बहाल तिर्न, कर्मचारीहरूको तलब, बैंक किस्ता र ब्याज बुझाउन ठूलो कठिनाइ उत्पन्न भएको महासंघले जनाएको छ । कोरोनाकै कारण केही दिन यता सुनको मूल्य प्रति तोला ९० हजार नजिक रही हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजस्व (भन्सार) अभिवृद्धिले सुनको मूल्यलाई थप महँगो बनाएको हो ।

यस्तो परिस्थितिमा लकडाउनको कारण खर्च अभाव झेलिरहेका सर्वसाधारणको घुइँचो फिर्ता बिक्रीको लागि एकैचोटी आएमा बजारले थेग्न नसक्ने भन्दै महासंघले व्यवसायीले आवश्यक नगदको बन्दोबस्त गर्न, आम उपभोक्तालाई केही समय धैर्य धारण गर्न र सरकारले नीतिगत निर्णय गरी सक्दो सहजीकरण गर्नु अति आवश्यक रहेको बताएको छ । एकातिर स्वास्थ चुनौती, अर्कोतिर बढ्दो मूल्य र मास्क लगाएका व्यक्तिसँग कारोबार गर्दा हुनसक्ने थप सुरक्षा चुनौतीको कारण सरकारबाट चुस्तदुरुस्त सुरक्षा प्रत्याभूतिको पनि उत्तिकै जरुरी रहेको महासंघको भनाई छ ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x