Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारके नेपालमा रहेका विदेशी कामदार फर्किए ?

के नेपालमा रहेका विदेशी कामदार फर्किए ?


प्रवीण राउत
काठमाडौं, असार २
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फर्काइरहेको अवस्थामा नेपालमा रहेका विदेशी कामदारबारे भने सरकारलाई नै केही थाहा नभएको पाइएको छ । नेपाल सरकारले जस्तै नेपालमा रहेका विदेशी कामदारहरुलाई ती मुलुकले फिर्ता गरे/नगरेको विषयमा सरकार अज्ञात रहेको पाइएको हो । नेपालमा काम गर्नका लागि नजिकका मुलुक चीन र भारतसहित विकसित मुलुक युरोप, अमेरिका, स्पेन, हंगेरीदेखि लिएर अविकसित मुलुक केन्या तथा एसियाली मुलुक थाइल्यान्ड अफगानिस्तानलगायत ४४ मुलुकका विदेशी नागरिकहरुले श्रम स्वीकृति लिँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी अध्यागमन विभागले पछिल्लो २२ महिनामा चार हजार ७० जना विदेशी नागरिकलाई कामदार भिसा दिएको बताएको छ भने उनीहरु कोभिड १९ का कारण फर्के/नफर्केको विषयमा भने पर्याप्त जानकारी नभएको जनाएको छ । विभागका प्रवक्ता रामचन्द्र तिवारीले विदेशी नागरिक फर्किए पनि तीमध्ये कति कामदार फर्किए भन्ने विषयमा अहिले केही बताउन नसक्ने बताए । कोभिड १९ का कारण पर्यटक लगायतका विदेशी नागरिक आफनो मुलुक फर्किएको भए पनि त्यसमा कामदार थिए/थिएनन् भन्ने विषयमा विभागले केही बताउन सकेन ।

श्रम मन्त्रालयले विदेशी कामदारलाई श्रम इजाजत दिने कार्यक्षेत्र आफ्नो भएको बताउँदै कामदार आफ्नो मुलुक फर्के/नफर्केको विषय भने गृह मन्त्रालयको सरोकार रहेको जनाएको छ । श्रम तथा सुरक्षाजन्य विभागका महानिर्देशक सनत केसीले सो क्षेत्राधिकार आफ्नो नभएको बताए । ‘विदेशी कामदार कति समय बसे भन्ने विषयको क्षेत्राधिकार अध्यागमनको हो’, उनले भने, ‘हामीसँग श्रम स्वीकृति माग गर्ने हुन्, मापदण्ड पुगेको खण्डमा हामीले श्रम स्वीकृति दिन्छौँ । श्रम स्वीकृति दिँदैमा पूरा अवधि कामदार बस्छ भन्ने निश्चित हुँदैन अर्थात् कामदारहरु बस्न पनि सक्छन् । अवधिभन्दा अगावै पनि जान सक्छन् । त्यसैले गर्दा कामदार कुन समयमा आए÷कहिले आए भन्ने विषयबारे हामी अज्ञात हुन्छौँ ।’

विभागका अनुसार करिब छ÷सात हजार विदेशी कामदार नेपालमा हुनसक्ने अनुमान गरेको छ । नयाँ श्रम स्वीकृति लिने तथा श्रम इजाजत नवीकरण गरी नेपालमा बस्ने विदेशी कामदारको संख्या उल्लेखनीय रहेको बताउँदै पछिल्लो समय सो संख्यामा कामदार मुलुकमा हुनसक्ने जनाएको छ ।

विभागका प्रवक्ता मणिनाथ गोपले आव २०७५/०७६ मा एक हजार नौ सय ८१ आव २०७४/०७५ मा दुई हजार पाँच सय ७०, आव ०७३/०७४ मा एक हजार नौ सय ७२ जना विदेशी कामदारले श्रम स्वीकृति लिएको बताए । जसमध्ये आव २०७५/०७६ एक हजार एक सय १९ जनाले नयाँ श्रम स्वीकृति तथा आठ सय ६२ जनाले श्रम इजाजत नवीकरण, आव २०७४/०७५ मा एक हजार छ सय आठ जनाले नयाँ श्रम इजाजत तथा नौ सय ६२ जनाले श्रम इजाजत नवीकरण र आव ०७३/०७४ मा एक हजार तीन सय २४ जनाले नयाँ श्रम इजाजत तथा छ सय ४८ जनाले श्रम इजाजत नवीकरण गरेका थिए ।

एक पटक श्रम स्वीकृति लिएपछि समयावधि थप गर्दै सात वर्षसम्म बस्ने पाउने व्यवस्था छ । पहिलोपटक श्रम स्वीकृति लिएको एक वर्षसम्म काम गर्न पाउँछन् भने त्यसपछि समयावधि थप गर्दै पाँच वर्ष र अझै थप समय बस्नुपरे सम्बन्धित मन्त्रालयबाट स्वीकृति लिएर थप दुई वर्ष बस्न पाउने प्रवक्ता गोपले बताए । उनले भने, ‘यसरी विदेशी कामदारले एक पटक नेपाल प्रवेश गरेपछि निरन्तर श्रम नवीकरण गरी सात वर्षसम्म नेपाल बस्न पाउनेछन् ।’

विदेशी कामदारको हकमा श्रम मन्त्रालयले श्रम स्वीकृति प्रदान गरेपछि गृह मन्त्रालयबाट कार्य सहमति प्राप्त हुन आवश्यक हुन्छ  । श्रम स्वीकृति र कार्य सहमतिसँगै अध्यागमन कामदार प्रवेशाज्ञा प्रदान गर्ने गर्छ । विशेषगरी उत्पादनमूलक, सेवामूलक र निर्माण क्षेत्रमा काम गर्नका लागि विदेशी नागरिकहरु नेपालमा आउने गरेका छन् भने उनीहरुलाई सम्बन्धित संस्थाले काम गर्नका लागि ल्याउने गरेको पाइन्छ ।

हाल गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कामदारले नियमित काम गरिरहेको बताइएको छ । विमानस्थलका आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विमानस्थल निर्माणमा करिब ३० जना चिनियाँ कामदार कार्यरत रहेको बताए । यसरी नेपालको विभिन्न आयोजनमा विदेशी कामदारहरु प्रत्यक्ष जोडिएको पाइन्छ । यसैबीच कोभिड १९ का बीच पनि विदेशी कामदारहरुले नेपालका विभिन्न आयोजनामा काम गरिरहेका छन् भने श्रम स्वीकृति समेत माग गरिरहेका श्रम विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x