Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरापमा रविलाई आईजीपी कुँवरले दिएको अग्रीम ‘क्लिन चिट’

धरापमा रविलाई आईजीपी कुँवरले दिएको अग्रीम ‘क्लिन चिट’


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेलाई सहकारी ठगीको विषयमा अग्रीम ‘क्लिन चिट’ दिने नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरको प्रयास धरापमा परेको छ ।

संसद्ले जेठ १५ गते सहकारी ठगीका विषयमा सांसद सूर्य थापाको संयोजकत्वमा सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेपछि आईजीपी कुँवरको अग्रीम क्लिन चिट धरापमा परेको हो ।

संसदीय छानबिन विशेष समितिमा सरिता भुषाल, ईश्वरी न्यौपाने, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल र धु्रवबहादुर प्रधान छन् । विशेष समितिले तीन महिनाभित्र प्रतिवेदन दिने भनिएको छ । जीबी राई, रवि लामिछाने समूहले दुई अर्ब रुपैयाँभन्दा बढी विभिन्न सहकारीको रकम अपचलन गरेको आशंका गरिएको छ ।

जीबी राई तत्कालीन गोर्खा विकास बैंकका अध्यक्ष डीबी बम्जनका नातेदार हुन् र बम्जनको ब्रिटिस लाहुरेहरूको भावनासँग जोडेर आफन्तको नाममा गोरखा विकास बैंक र १९ वटा सहकारी खोलेका थिए । जीबी राई, रवि लामिछानेको समूहले अहिलेसम्म सातवटा सहकारीबाट रकम अपचलन गरेको आरोप लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत रहेका लामिछानेले सत्ता समीकरण बदलिएपछि मरिहत्ते गरेर गृह मन्त्रालय लिएपछि गृह प्रशासनको दुरुपयोग गरेर उनले विगतका आफ्ना सबै गलत क्रियाकलाप राफसाफ गर्न खोजेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विशेष संसदीय छानबिन समिति गठनको माग गर्दैै आएको थियो र सत्ता गठबन्धनले त्यसलाई अस्वीकार गर्दै आएको थियो । कांग्रेसले लामो समयदेखि उक्त माग पूरा नभएसम्म संसद् चल्न नदिने घोषणा गर्दै संसद् अवरुद्ध पार्दै आएको थियो ।

मंगलबार संसद्मा बजेट भाषण हुनुअघि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहमति भएर संसदीय विशेष समिति गठन भएसँगै गृहमन्त्री लामिछानेले आफूलाई सबै कुकृत्यबाट उन्मुक्ति दिलाउन गरेको जोडबल असफल भएर छानबिनको दायरामा तानिएको हो ।

प्रतिपक्षी कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न समेत नदिएर बहिस्कार गरिरहेको बेला कांग्रेसकै सांसद रामहरि खतिवडा सभापति रहेको राज्य व्यवस्था समतिले गृहमन्त्री लामिछाने, आईजीपी बसन्त कुँवरलगायतलाई समितिमा बोलाएर गत चैत १४ गते छलफल गरेको थियो । कांग्रेसवृत्तभित्रै खतिवडाको उक्त कदम आलोचना भएको थियो र उनको गृहमन्त्री लामिछानेसँग अस्वाभाविक लसपस रहेको आरोप लागेको थियो ।

आईजीपी कुँवरले उक्त छलफलमा गृहमन्त्री लामिछानेलाई पूरै काँध हालेर बोक्ने प्रयास गरेका थिए र सहकारी ठगीमा रवि लामिछानेको कुनै संलग्नता नदेखिएको बताएका थिए । सहकारी ठगीको प्रसङ्ग उतिबेला मात्र होइन अहिले पनि छानबिनको दायरामा छ र लामिछानेका क्रियाकलाप शंकाको घेरामा छन् ।

तर, आईजीपी कुँवरले छानबिन नहुँदै रवि लामिछानेलाई क्लिन चिट दिएका थिए । उनलाई आफू आईजीपी भएको थाहा नभएको होइन, उनले जानीजानी रविमाथिको छानबिनलाई प्रभाव पार्न त्यसो भनेका थिए । उनी सिंगो प्रहरी संगठनको सर्वोच्च व्यक्ति हुन् । उनले सर्वजनिकरूपमा दिएका अभिव्यक्ति सिंगो प्रहरी संगठनका लागि मार्गनिर्देशन हुन्छ ।

उनले बोलेको कुरा प्रहरी अनुसन्धानका लागि ‘गाइडलाइन बन्छन् । उनको कतै विरोधी प्रहरीले पनि उनले बोलेको भन्दा उल्टो प्रतिवेदन बनाउने आँट गर्दैन, भला प्रतिवेदन बनाउन ढिलासुस्ती गर्न सक्दछ ।

आईजीपी कुंवरले आफ्नो दुनो सोझ्याउन गृहमन्त्री लामिछानेप्रति चाकरी भाव देखाउन व्यावसायिक मर्यादाविपरीत सञ्चारगृहमा बर्दीधारी प्रहरी प्रवेश गराएको तथ्य कसैबाट छिपेको छैन ।

त्यस्तो व्यक्ति आईजीपी कुँवरले गृहमन्त्री लामिछानेप्रति अतिभक्ति देखाएर अनुसन्धानकै दायरामा रहेको रवि लामिछानेका ठगीलाई किन अग्रीम क्लिन चिट दिए भनेर अनुमान गर्न कुनै कठिनाइ पर्दैन । उनको निकट पूर्वलाई नियाल्ने हो भने आईजीपी कुँवर यहाँ अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिएजस्तो भएको छ ।

गतवर्ष असार दोस्रो साता तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी कुँवरलाई सल्लाहकारका रूपमा मन्त्रालय तानेर एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने तयारी गरेका थिए र असार ९ गते शनिबार तत्कालीन गृहमन्त्री श्रेष्ठको ठाडो निर्देशन भन्दै समानान्तर आईजीपीको अभ्यास गरिरहेका भ्याली एआईजी श्यामलाल ज्ञवालीले मातहतको प्रहरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी सांसद डा. आरजू राणा र पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए ।

नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न रहेको आरोप लगाउँदै पछि प्रमाण जुटाउँदै जाने गरी उनीहरूलाई पक्राउ गर्न निर्देशन दिएको कुरा अहिले पनि र उतिबेला आईजीपी रहेका बसन्त कुँवरलाई औपचारिक जानाकारी समेत दिइएको थिएन । उक्त घटना आर्थिक दैनिकले गत असार ११ गतेको अंकमा सार्वजनिक गरेपछि सर्वत्र चासो र चर्चा भएको थियो ।

उक्त समाचार सार्वजनिक भएपछि आईजीपी कुँवरको पद जोगिएको थियो, अन्यथा उनी अहिले भूतपूर्व बनिसकेका हुनेथिए । अहिले पनि त्यति बेलाका प्रधानमन्त्री प्रचण्ड नै सत्तासमीकरणको काँध फेरेर प्रधानमन्त्री छन् र उनले गृहमन्त्री फेरेर सत्ता सम्हालिरहेका छन् ।

कांग्रेसको सिफारिसमा आईजीपी बने पनि अहिले कांग्रेस सत्ताबाहिर रहेकाले कांग्रेस कम्युनिस्ट दुवैका विरोधी भनिएका विवादस्पद गृहमन्त्री लामिछानेलाई राम्ररी रिझाएर पद सुरक्षित राख्नुपर्ने र तहगत अनुभव प्राप्त नगरी डीआईजीबाट सोझै आईजीपी बनेका कुँवरलाई प्रहरीको यथेष्ट अनुभव नहुनु र परिपक्कता नहुनु पनि हो तर योसँगै छोटो समयमा आफ्नो र परिवार एवं नातागोताको व्यवस्थापन गर्न परेकाले छोटो अवधिमा सबै व्यवस्थापन मिलाउनुपर्ने बाध्यता पनि रहेकाले जताततै गाँसिने र जताततै टिप्नुपर्ने बाध्या पनि रहेको हुन सक्दछ ।

तर, योसँगै भुँइको टिप्न खोज्दा पोल्टा पोखिन पुगेको यथार्थ पनि नकार्न सकिँदैन । उनका अहिले गुन र सहयोगको सम्मानभन्दा पनि आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने भएकाले हतारमा गर्ने र फुर्सदमा पछुताउने रोग सल्कने डर बढ्दै गएको छ ।

त्यही कारण आफूलाई आईजीपी बनाउने र खड्को टार्नेलाई पनि कुल्चिएर लामिछानेलाई अग्रीम क्लिन चिट दिएर टाँस्सिनुपर्ने बाध्यता आइपरेको हो । आईजीपी कुँवरले अग्रीम क्लिन चिट दिएका रवि लामिछाने सहकारी ठगी काण्डमा मात्र जोडिएका पात्र होइनन् उनी दोहोरो बसोबास, दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, बहुविवाहजस्ता काण्डमा जोडिएका छन् । यसको अलावा उनी २०७६ साल साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका आरोपी पनि हुन् ।

उनी २०८० साल वैशाख ४ गते ड्राइभर दीलबहादुर थापाको राति पौने ४ बजे चितवनमा होटलको छतबाट खसेर भएको मृत्युमा समेत शंकास्पदरूपमा हेरिएका छन् ।

उक्त घटनामा सँगै सुतेका रास्वपाका महासचिव मुकुल ढकालका ड्राइभर कालुराम राजवंशी प्रहरी कारबाहीमा तानिएका थिए भने पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनमा उनकी धर्मपत्नी सम्झना पुडासैनीले किटानी जाहेरी दिएपछि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की छानबिनमा तानिएका पात्र हुन् ।

यस्ता विवादित पात्रलाई अनुसन्धान नहुँदै वा हुँदै गर्दा मातहतको प्रहरी प्रशासनलाई प्रभाव पार्नेगरी आईजीपी कुँवरले अग्रीम क्लिन चिट दिएर सार्वजनिक अभिव्यक्ति दिनुले उनको विचलन त त्यतिबेलै प्रस्ट भएको थियो । गठन भएपछि उनी पनि स्वतः छानबिनको दायराभित्र तानिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x