Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटमा वित्तीय क्षेत्र सुधार कार्यक्रम आउनु महत्वपूर्ण

बजेटमा वित्तीय क्षेत्र सुधार कार्यक्रम आउनु महत्वपूर्ण


काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयमा केन्द्रित रहेर बिहीबार आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले बजेटको उद्देश्यअनुसारको वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको बताए ।

‘बजेट यस्तो नीति आउनु एकदमै स्वागतयोग्य छ’, उनले भने, ‘यसको नेतृत्व लिने राष्ट्र बैंकले नै हो त्यसका लागि हामी तयार नै छौँ ।’ उनले बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलाएको पनि बताए । यसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने बताए । डिजिटल भुक्तानीको प्रवद्र्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमीलगायत विषयलाई बजेटमा समावेश गर्दै वित्तीय क्षेत्र सुधार गर्ने बजेटको घोषणाले राष्ट्र बैंकको कार्यक्रमलाई थप सहयोग पुग्ने अपेक्षा गरेको उनले बताए ।

बजेटमा उल्लेख भएअनुसार कृषिमा आवश्यक पर्ने लगानीलाई केन्द्रीय बैंकले कम हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । घर कर्जाको कारोबार तथा फुकुवा, करसम्बन्धी काम, मालपोतलगायतका बीचमा ‘डिजिटल प्लेटफर्म’ बनाइ बैंकको माध्यमबाट काम गर्ने नीति आउनु पनि राम्रो पक्ष भएको उनको भनाइ थियो । बझाङको साइपालमा बैंक शाखा स्थापना गर्ने नीति ढिलै गरी भए पनि आउनु सकारात्मक भएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए । सात सय ५३ शाखामध्ये साइपाल मात्रै बैंकको शाखा नभएको पालिका हो । त्यस पालिकामा शाखा स्थापना गर्ने जिम्मा एभरेष्ट बैंकले २०७४ मै पाएको थियो । तर, सडक, इन्टरनेटजस्ता पूर्वाधार नहुँदा बैंकले त्यहाँ शाखा स्थापना गर्न सकेको छैन । अब त्यहाँ कुनै पनि हालतमा बैंकको शाखा स्थापना गर्ने नीति आउनु राम्रो पक्ष भएको उनले बताए ।

बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनर्संरचना गरिने डेपुटी गभर्नर मिश्रले जानकारी दिए । ‘छुट्टै कमिटी नै बनाएर काम गर्छौँ, आगामी दिनमा आवश्यक पुनर्संरचना गरी यसलाई थप प्रभावकारी बनाउँछौँ’, उनले भने । यसैगरी उनले छ प्रतिशतको आर्थिक वृद्धि, पाँच दशमलव पाँच प्रतिशतमा मुद्रास्फीति सीमित राख्ने र १२ प्रतिशतको कर्जा वृद्धि गर्ने लक्ष्य पूरा हुने पनि बताए । चालू आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूलाई पुँजी पर्याप्ततामा सहजीकरण गरिसकेको हुँदा यो लक्ष्य प्राप्ति गर्न सहज हुने उनले बताए । समग्रमा यसअघि नै केन्द्रीय बैंक त्यसतर्फ अगाडि बढिसकेको उनले बताए । साथै, आर्थिक गतिविधि चलायमान बनाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने तयारी भइरहेको उनले बताए ।

‘निजी क्षेत्रले लचक मौद्रिक नीति आवश्यक रहेको बताएको छ । मौद्रिक नीति त अहिले पनि लचक नै छ । ब्याजदर पनि धेरै कम भइसकेको छ’, उनले भने, ‘यद्यपि, अर्थतन्त्र चलायमान बनाउन आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट के–कस्तो व्यवस्था गर्न सकिन्छ त्यसमा हामी सकारात्मक छौँ’, डेपुटी गभर्नर मिश्रले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x