Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिमाथांका नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

किमाथांका नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै


संखुवासभा । चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ । जेठ १२ गतेदेखि किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनः सञ्चालनमा आएका थिए । कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथांकासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

नाका पुनः सञ्चालनमा ल्याई सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा एक करोड रुपैयाँबराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट एक करोड रुपैयाँ कारोबार गरेका अध्यक्ष भोटेले बताए । ‘भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथांका नाकापारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ । उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ’, अध्यक्ष भोटेले भने ।

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भू–भाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । आलु र कोदो मात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्र्याएर जीविका चलाउँदै आएका थिए । बन्द नाका खुलेपछि त्यो अवसरबाट वञ्चित भएका स्थानीयले अब चिनियाँ भू–भागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ ।

किमाथांकामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।

नाका खुलेपछि भोटखोलाका किमाथांका, च्याम्ताङ, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो । किमाथांका नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथांका सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथांकाको दूरी एक सय ६२ किमि छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x