Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटप्रति सत्तापक्ष नै असन्तुष्ट

बजेटप्रति सत्तापक्ष नै असन्तुष्ट


काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमानमाथि आफ्नो धारणा राख्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

‘अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर, सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन उहाँले भ्याउनुभएन’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो । सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो ।’

आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ । ‘उच्चस्तरीय अर्थतन्त्र सुधार सुझाव कार्यदल बनाउने विषय बजेटमा उल्लेख छ । यसलाई थप स्पष्ट पारिनुपर्छ । कार्यदलमार्फत सुझाव लिनेभन्दा पनि नीतिको स्रोत भनेको राजनीतिक नेतृत्व हो । यसमा राजनीतिक दलबाटै सुझाव आउनुपर्छ’, उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालू आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताए । कृषिमा लगानी दशकजस्तै सूचना प्रविधि क्षेत्रमा पनि लगानी दशक घोषणा भएकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको हो भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ । गाँजा खेतीलाई वैधानिकता दिनेबारे विस्तृतमा अध्ययन गरिनुपर्ने र यसका सकारात्मक तथा नकारात्मक पक्षको विश्लेषण गरिनुपर्ने पूर्वअर्थमन्त्री पौडेलले बताए ।

‘सरकारले आगामी आर्थिक वर्षका लागि तुलनात्मकरूपमा सङ्क्षिप्त र सन्तुलित बजेट ल्याएको छ । स्रोतको प्रबन्ध गर्नु सहज थिएन’, उनले भने, ‘यो महात्वाकाङ्क्षी होइन, उच्च आकाङ्क्षी बजेट हो । राजस्व सङ्कलन, ऋण तथा अनुदान परिचालनका लागि उच्च आकाङ्क्षा राखिएको छ ।’

अर्थमन्त्री पुनले उच्च आकाङ्क्षी बजेट ल्याएर चुनौती सामना गर्ने अठोट गरेको पूर्वअर्थमन्त्री पौडेलको धारणा छ । ‘सहज यात्रा जो–कसैले पनि गर्न सक्दछन् । तर, अर्थमन्त्रीले आफँै चुनौती सिर्जना गरेर आफैँ अवसर खोज्ने र सामना गर्दै जाने अठोट गर्नुभएको छ’, उनले भने, ‘६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । यी समस्या र प्रतिकूलता हेर्दा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु सहज छैन । तर, असम्भव पनि छैन । यसका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइनुपर्छ ।’

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताए ।

‘ऋण लिएर उत्पादनशील खर्च गर्न नसक्दा उत्पादन तथा रोजगारी बढ्दैन र राजस्व पनि बढ्दैन’, उनले भने, ‘जसले गर्दा राज्यलाई ऋणको भार बढ्दै जाने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था आउने छ ।’ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कनिका छरेजसरी विनियोजन भएको भन्दै महतले आपत्ति जनाए । बजेट पार्टीमुखीभन्दा जनतामुखी हुनुपर्ने र विनियोजित बजेट प्राथमिकीकरणको आधारमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।

महतका अनुसार बजेटको आकार बढे पनि व्यवस्थित रूपमा खर्च गर्न नसके मुलुकको आर्थिक विकास हुन सक्दैन । ‘वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा खर्च गर्न नसक्दा प्रतिफल आउन सकिरहेको छैन र यसले रोजगारी सिर्जना भएको छैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट प्राथमिकीकरण गरिएको छैन । आवश्यकताको आधारमा विनियोजन भएन ।’

उद्योग वाणिज्य मन्त्रालयको बजेट कम भएको भन्दै लगानीलाई उत्पादनमुखी बनाउनुका सट्टा अनुउत्पादनशील क्षेत्रमा खर्च हुनेगरी विनियोजन भएको उनको टिप्पणी छ । महतले वित्तीय स्रोत जुटाउने र खर्च गर्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए । ‘आगामी आर्थिक वर्षको बजेटले कंक्रिट दिशा पत्ता लगाउन सकेको छैन’, उनले भने, ‘हामीले राजस्व राम्रो उठाएका छौँ । तर प्रतिफल आएको छैन । लगानी भएको छ, कर उठाएका छौँ तर उत्पादन बढेको छैन । यी समस्याको समाधान खोज्न जरुरी छ ।’

उनले राज्यको वैदेशिक ऋण बढिरहेको र निजी क्षेत्रले लिने ऋणको भार थपिए पनि प्रतिफल आउन नसक्दा अर्थतन्त्रमा ह्रास आएको टिप्पणी गरे । पछिल्लो समय सहकारी ठगीका कारण बचतकर्ता समस्यामा परिरहेको भन्दै उनले सरकारीको नियम कानुनभन्दा बाहिर गएर खर्च गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरेका छन् ।

‘बजेट बनाउँदै गर्दा स्रोतको संकुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ । बजेटमा निकै धेरै अपेक्षा थिए । युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो’, अर्थमन्त्री पुनले भने, ‘स्रोतको संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन् ।’

आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ । विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x