सहुलियतपूर्ण कर्जामा गम्भीर त्रुटि
हचुवाको भरमा कर्जा प्रवाह, ब्याज अनुदानको खर्च खुल्ने विवरण नै छैन
काठमाडौं । बैंक तथा वित्तीय संस्थारुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जामा महालेखापरीक्षकको कार्यालयले गम्भीर त्रुटि देखाएको छ । महालेखाको ६१औँ वार्षिक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको लागि आवश्यक पर्ने विवरण नै नलिई हचुवाको भरमा कर्जा प्रवाह गरेको देखिएको छ ।
सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धमा महालेखाले ६१औँ वार्षिक प्रतिवेदनमा नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरणअनुसार वाणिज्य बैंकहरूले २०७८/०७९ सम्म दुई खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराई पाँच प्रतिशतसम्मका दरले ब्याज अनुदानबापत १६ अर्ब ९६ करोड ५० लाख भुक्तानी र यस वर्षसम्म २२ अर्ब ३९ करोड रुपैयाँ सञ्चित ब्याज अनुदान प्रदान गरेको उल्लेख गरेको छ । सहुलियतपूर्ण कर्जाको बक्यौता रकम २०८० असार मसान्तमा एक खर्ब ९८ अर्ब २७ करोड रुपैयाँ पुगेको देखिन्छ । बैंकहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण तयार गरेका छैनन् ।
महालेखाले भाका नाघेको कर्जा तथा ब्याज अनुदानमा पनि कैफियत देखाएको छ । कर्जा लगानी तथा असुली कार्यविधि, २०७७ को बुँदा नं. १७ (२) मा संस्थामार्फत लगानी भएको रकम तोकिएको तालिकाअनुसार नबुझाउने तथा रकम दुरुपयोग गर्ने कर्जाग्राहीलाई सहकारी ऐन, २०७४ एवं बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कारबाही गरी कर्जा असुलउपर गर्ने व्यवस्था छ । तर युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमअन्तर्गत २०८० आसार मसान्तसम्म लगानी भएको रकममध्ये चार सय ४४ सहकारी संस्थाको नाममा भाखा नाघेको साँवा, ब्याज एवं हर्जाना समेत ७१ करोड ७८ लाख ९१ हजार असुल भएको छैन । प्रचलित कानुनको कार्यान्वयन गरी भाखा नाघेको कर्जा असुल गर्नेतर्फ तदारुकता गरिनुपर्ने महालेखाले उल्लेख गरेको छ ।
महालेखाका अनुसार ब्याज अनुदान निर्देशिका, २०७४ बमोजिम ऋण लिएका ऋणीमध्ये असुली तालिकाअनुसार समयमै साँवाब्याज बुझाउनेलाई ब्याज अनुदान दिन सकिने व्यवस्था छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयमा स्वरोजगार संख्या ७२ हजार सात सय २० रहेकोमा कोषले स्थापनाकालदेखि हालसम्म ब्याज अनुदानको लागि २१ करोड नौ लाख १६ हजार बजेट प्राप्त भएकोमा १५ हजार ८६ स्वरोजगार ऋणीलाई १५ करोड ७९ लाख ९० हजार अर्थात् ७४ दशमलव ९१ प्रतिशत रकम वितरण गरेको छ । तर, अधिकांश ऋणीले नियमितरूपमा किस्ता नबुझाएकोले ब्याज अनुदान प्राप्त गर्नेको संख्या कम रहेको महालेखाको भनाइ छ ।
विदेशी मुद्रा सञ्चिति २०७९ असाढमा १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । चालू खाता २०८० असारमा ७२ अर्ब १६ करोड ऋणात्मक रहेको छ । त्यसैगरी शोधनान्तर स्थिति २०७९÷०८० मा दुई खर्ब ९० अर्ब ५२ करोड बचतमा छ । व्यापार सन्तुलन, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिलाई सुधार गरी अर्थतन्त्रलाई दिगो र प्रभावकारी बनाउन उपयुक्त रणनीति अवलम्बन गर्नुपर्नेमा पनि महालेखाले जोड दिएको छ ।
स्ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ)मा पनि महालेखाले कैफियत देखाएको छ । महालेखाका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २०७८ कात्तिक २९ गते जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २०७६/०७७ मा ८३ पटकमा एक खर्ब तीन अर्ब, २०७७/०७८ मा एक सय ६७ पटकमा तीन खर्ब ६१ अर्ब र २०७८/०७९ मा चार हजार नौ सय आठ पटकमा ९१ खर्ब ७० अर्ब र २०७९/०८० जेठ मसान्तसम्म एक हजार छ सय ५७ पटकमा २७ खर्ब २७ अर्ब एसएलएफ सुविधा प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थाले तरलता व्यवस्थापनसम्बन्धी केन्द्रीय बैंकको निर्देशन पालना गर्ने क्रममा तरलता अभाव भएमा उक्त सुविधा प्रदान गर्नुपर्नेमा सोको यकिन नै नगरी एसएलएफ सुविधा प्रदान गरिएको समेत महालेखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया