Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा पनि ९५ करोडको वैदेशिक लगानी भित्रियो

लकडाउनमा पनि ९५ करोडको वैदेशिक लगानी भित्रियो


प्रवीण राउत
काठमाडौं, असार ३
लकडाउनको अवधिमा मुलुकको उद्योग क्षेत्रमा ९५ करोड २० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आएको छ । कोभिड १९ को परिस्थितिमा समेत भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँचवटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी रकम उद्योग विभागबाट स्वीकृत गरिएको विभागले जनाएको छ । पाँच मुलुकका लगानीकर्ताहरुले १२ वटामध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा ८ वटा उद्योग स्थापना गर्न ७५ करोड २० लाख प्रतिबद्धता जनाएका छन् । त्यसपछि क्रमशः पर्यटन उद्योगमा ३ वटा उद्योग स्थापना गर्न १५ करोड र सूचना प्रविधिमा एउटा उद्योग स्थापना गर्ने पाँच करोड लगानी प्रतिबद्धता जनाएका छन् । ती मुलुकका लगानीकर्ताहरुले उद्योग स्थापनाका लागि काठमाडौं, भक्तपुर, ललितपुर र सुनसरी छनौट गरेका छन् ।

विभागका अनुसार उद्योग स्थापनासँगै पाँच सय तीन जनाले रोजगारी पाउनेछन् । विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले यस्तो असामान्य परिस्थितिमा एफडीआई आउनु खुसीको कुरा भएको बताए । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी आउन नसके पनि लगानी आउनु राम्रो भएको उनको भनाइ छ । उनले भने, ‘हालको लगानी स्वीकृत भएको भने विदेशी प्रत्यक्ष रुपमा नआई विदेशी लगानीकर्ताका नेपालस्थित प्रतिनिधिहरुले गराएका हुन् । कार्यालय पनि सञ्चालनमा रहेको थियो । सोही कारण लगानी स्वीकृत गराउन कुनै समस्या भएन ।’

अहिले पनि लगानी स्वीकृतका लागि तीन÷चारवटा निवदेन परेको बताउँदै उनले भने, ‘नेपाली प्रतिनिधिहरु लगानी स्वीकृत गराउने आउने क्रमले निरन्तरता पाएको छ ।’
महानिर्देशक सिटौलाले पाँच मुलुकमध्ये सबैभन्दा बढी लगानी स्वीकृत गर्नेमा चीनका लगानीकर्ता रहेको बताए । चीनका लगानीकर्ताले सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रमा गरी आठवटा उद्योग स्थापना गर्न ७५ करोड २० लाख लगानी स्वीकत गरेका छन् । जसमध्ये उनीहरुले सेवा क्षेत्रमा पाँचवटा उद्योग स्थापनाका लागि ६० करोड २० लाख, पर्यटन क्षेत्रमा दुईवटा उद्योग स्थापनाको लागि १० करोड र सूचना प्रविधि क्षेत्रमा एउटा उद्योग स्थापना गर्न पाँच करोड लगानी स्वीकृत गराएका छन् । यस्तै उद्योग स्थापनासँगै तीन सय ८६ जनालाई रोजगारी दिने बताइएको छ ।

त्यसैगरी भारतीय र मलेसियाका लगानीकर्ताले क्रमशः सेवा र पर्यटन क्षेत्रमा एउटा उद्योग स्थापना गर्न पाँच/पाँच करोड लगानी स्वीकृत गराएका छन् । उनीहरुले उद्योग स्थापनासँगै क्रमशः ३९/१८ जनालाई रोजगारी दिने बताएका छन् । सिंगापुरका र नेदरल्याण्डका लगानीकर्ताले सेवा क्षेत्रमा एउटा उद्योग स्थापना गर्ने भन्दै क्रमशः पाँच/पाँच करोड लगानी स्वीकृत गराएका छन् । उनीहरुले उद्योग स्थापनासँगै क्रमशः २५/३५ जनालाई रोजगारी दिने बताएका छन् ।

विदेशी मात्र नभएर सो समयमा स्वदेशी लगानीकर्ताहरुले समेत उद्योग स्थापना गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् । सोही समयमा स्वदेशी र विदेशी लगानीकर्ताहरुले १६ वटा उद्योग स्थापना गर्ने भन्दै १३ अर्ब ९८ करोड ५३ लाख लगानी स्वीकृत गराएका छन् । उनीहरुले सबैभन्दा बढी लगानी तीनवटा ऊर्जामूलक उद्योग स्थापना गर्ने भन्दै ११ अर्ब २४ करोड लगानी स्वीकृत गराएका छन् । त्यसैगरी सातवटा उत्पादनमूलक उद्योगको लागि एक अर्ब ५४ करोड ९३ लाख, सेवा र पर्यटनमूलक उद्योग क्रमशः तीन/तीनवटाका लागि क्रमशः ८९ करोड ६० लाख र ३० करोड लगानी स्वीकृत गरिएको छ । उद्योग स्थापनासँगै १६ वटा उद्योगमार्फत नौ सय ८१ जनालाई रोजगारी दिने भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x