Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक व्यापारमा नौ खर्ब ४३ अर्बको खाडल

वैदेशिक व्यापारमा नौ खर्ब ४३ अर्बको खाडल


सुरेश राउत
काठमाडौं, असार ३
नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी १० प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९)को प्रभाव मुलुुकको समग्र आयात, निर्यात एवं व्यापारघाटामा परेको देखिएको छ । सोहीअनुरुप मुुलुकले चालू आवको पछिल्लो १० महिनामा ८२ अर्ब छ करोड रुपैयाँबराबरको सामान निर्यात गर्दा १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तुु तथा सेवा आयात गरेको छ । सोही आधारमा मुुलुकको यस अवधिमा नौ खर्ब ४३ अर्ब सात करोड रुपैयाँबराबरको व्यापारघाटा व्यहोरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु निर्यात चार दशमलव पाँच प्रतिशतले बढेको छ भने कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ । सोही आधारमा कुल वस्तु व्यापारघाटा १४ दशमलव दुई प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने कुल निर्यात १८ दशमलव नौ प्रतिशतले बढेको थियो भने आयात १९ दशमलव छ प्रतिशतले बढेको थियो । सोही आधारमा उक्त अवधिमा कुुल वैदेशिक व्यापारघाटा १९ दशमलव सात प्रतिशतले वृद्धि भएको थियो । चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा गन्तव्यका आधारमा भारततर्फ १६ दशमलव एक प्रतिशतले निर्यात बढ्दा चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८ दशमलव छ प्रतिशत र १४ दशमलव छ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एम.एस. पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी वस्तु आयात गरिने मुलुकका आधारमा चालू आवको १० महिनामा भने भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७ दशमलव पाँच प्रतिशत, सात दशमलव छ प्रतिशत, र दुुई दशमलव नौ प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको भए पनि पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ वीरगञ्ज, विराटनगर र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

खुुद सेवा आय तीन अर्ब १३ करोड रुपैयाँले घाटामा : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको १० महिनामा खुद सेवा आय तीन अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय आठ अर्ब १७ करोडले घाटामा रहेको थियो ।

चालू आवको १० महिनामा सेवा खाताअन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १२ दशमलव चार प्रतिशतले घटेर ५६ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६४ अर्ब ६१ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ३१ दशमलव तीन प्रतिशतले घटी ५० अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २४ अर्ब ८६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७३ अर्ब ९८ करोड रहेकोमा शिक्षातर्फको व्यय ३७ अर्ब ६७ करोेड रहेको थियो ।

रेमिट्यान्स घट्यो, १० महिनामा भित्रियो छ खर्ब ८० अर्ब : वैदेशिक रोजगारीबाट प्राप्त रकम (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको देशको बर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह छ दशमलव एक प्रतिशतले घटेर छ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव छ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव चार प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह नौ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या दुुई दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६ दशमलव आठ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४ दशमलव छ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या पाँच दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा छ दशमलव पाँच प्रतिशतले कमी आई सात खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९ दशमलव चार प्रतिशतले बढेको थियो ।

चालू खाता एक खर्ब पाँच अर्ब रुपैयाँ घाटामा : चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा चालू खाता घाटा एक खर्ब पाँच अर्ब ७४ करोड रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुुई खर्ब २१ अर्ब ७७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा एक अर्ब ९६ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी नौ अर्ब ४७ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति भने एक खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड दुुई लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा एक अर्ब एक करोडले बचतमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x